संविधान कस्तो बनाउने मतदाताको हातमा छ– पूर्वराज्यमन्त्री शर्मा

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 109 Views   ||

दाङ, कार्तिक ६ । एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री सुश्मा शर्मा घिमिरेले जनताको मतले कस्तो संविधान बन्छ भन्ने छिनोफानो गर्ने बताउनुभएको छ ।

एनेकपा (माओवादी) क्षेत्र नं. ४ को चुनावी अभियान टोलीले आज बुधबार हलवारको वनहरीमा आयोजना गरेको गाविसस्तरीय जनसभालाई सम्बोधन गर्दै पूर्वराज्यमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

जनमत विभाजित हुँदा प्रतिगामी र यथास्थितिवादीहरुलाई फाइदा हुने भन्दै उहाँले जनपक्षीय संविधान बनाउने हो भने एमाओवादीलाई स्पष्ट बहुमत दिनुपर्ने बताउनुभयो ।

देशको विकास र जनताको भाग्य कोर्ने आधार एमाओवादीको एजेण्डामा मात्र भएको भन्दै उहाँले एमाले कांग्रेसका कारण अघिल्लो संविधानसभाले जनपक्षीय संविधान ल्याउन नपाएको बताउनुभयो ।

गाविस अध्यक्ष समीर थापाको अध्यक्षतामा भएको जनसभामा क्षेत्र नं. ४ का उम्मेदवार रामजी चौधरी ‘मिलन’ले पछि पारिएका दलित, महिला, गरिब वर्ग र विभिन्न जाति जनजाति समुदायको हकहित समेमटिएको संविधान एमाओवादीले मात्र बनाउने भन्दै आफ्नो पार्टीलाई जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा राज्यसमिति सदस्य तथा ४ नं. क्षेत्रीय संयोजक नरबहादुर पुन ‘तारा’, राज्यसमिति सदस्य ध्रुव आचार्य, गिरिराज केसी, प्रभात, शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष नारायण भण्डारीलगायतले बोल्नुभएको थियो ।

प्रेमप्रसाद खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन अखिल नेपाल शिक्षक संगठन दाङका कोषाध्यक्ष मोहन थापाले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न झाँकी र नृत्यहरु प्रस्तुत गरिएको थियो ।

यसैबीच हलवार– ७ का राष्ट्रिय जनमोर्चाका सक्रिय कार्यकर्ता शेरबहादुर ओलीले एकीकृत नेकपा (माओवादी)मा प्रवेश गर्नुभएको छ ।

नवप्रवेशी ओलीलाई एमाओवादी केन्द्रीय सदस्य सुश्मा शर्मा घिमिरे र उम्मेदवार रामजी चौधरीले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *