जनपक्षीय एजेण्डा माओवादीसँग मात्र– प्रभाकर

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 85 Views   ||

दाङ, कार्तिक ७ । एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा पूर्वशान्तिमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले देश विकास, अग्रगमन र उत्पीडित जनताको हक अधिकार स्थापित गर्ने एजेण्डा एकीकृत माओवादीसँग मात्रै भएको बताउनुभएको छ ।

एकीकृत नेकपा (माओवादी) क्षेत्र नं. ५ ले आज (बिहीबार) पुरन्धाराको हापुरेमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले जनपक्षीय एजेण्डा आफ्नो पार्टीसँग मात्र भएको बताउनुभएको हो ।

आफ्नो पार्टीले उत्पीडित, उपेक्षित जाति, क्षेत्र, भूगोल र समुदायको पहिचान सहितको राज्यको पुनःसंरचना गर्ने नयाँ नेपालको खाका सार्वजनिक गरेको भन्दै उहाँले स्पष्ट जनमत पाएपछि घोषणापत्र लागू गर्ने बताउनुभयो ।

अघिल्लो संविधानसभामा यथास्थिति र परिवर्तन चाहने शक्तिहरुबीच कुरा नमिल्दा संविधान बन्न नसकेको भन्दै उहाँले परिवर्तन चाहने शक्तिलाई दुइ तिहाई मत दिएर विजयी बनाउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

पश्चिम दाङको विकासको मुख्य आधार तुलसीपुर–सुर्खेत सडकखण्ड भएको भन्दै उहाँले उक्त सडकलाई दिपायलसम्म जोडेर मध्यपहाडी लोकमार्ग र पूर्वपश्चिम सडकलाई जोड्न आफ्नो पार्टीले घोषणापत्रमै उल्लेख गरेको बताउनुभयो ।

क्षेत्रीय संयोजक भीमबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा ५ नं. निर्वाचन क्षेत्रका उम्मेदवार धिरज सेर्पालीले केन्द्रीकृत राज्यव्यवस्थाले दुरदराजका क्षेत्रलाई सधैं उपेक्षा गरिरहेको भन्दै पश्चिम दाङ पनि अहिलेसम्म उपेक्षामा परेको बताउनुभयो ।

पश्चिम दाङको समग्र विकास र उपेक्षित, उत्पीडित समुदायको हकअधिकार संविधानमै सुनिश्चित गर्नका लागि आफ्नो उम्मेदवारी भएको भन्दै सेर्पालीले आफ्नो मताधिकार सही ठाउँमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बुद्धिजीवी संगठनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कुलानन्द गिरीले गीत प्रस्तुत गर्नुभएको थियो भने सभा हुनुअघि हापुरे बजारमा ¥याली प्रदर्शन गरिएको थियो । जनसभाको सञ्चालन थारुवान राज्यसमिति सदस्य प्रमोद धितालले गर्नुभएको थियो ।

यसैबीच एमाले, कांग्रेस र स्वतन्त्र गरि १२ जनाले एकीकृत माओवादीमा प्रवेश गरेका छन् । एमालेनिकट शिक्षक संगठनका कार्यकर्ता कुम्भकर्ण केसी ‘किरण’, पुरन्धाराका वीरबहादुर रसाइली, स्वतन्त्रबाट परेगलाल बुढा, सुशीला गाहा, हरिकला खड्का, सुशीला विक, चन्द्रा चलाउनेलगायतले पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई एमाओवादी नेता प्रभाकर र उम्मेदवार धिरज सेर्पालीले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

रिपोटर््स क्लबमा अन्तरक्रिया

यसैबीच एमाओवादी नेता प्रभाकरले संविधानसभा निर्वाचन नेपाली जनताका लागि महत्वपूर्ण अवसर भएको बताउनुभएको छ । रिर्पोट्स क्लब, नेपाल दाङ शाखाले बिहीबार बिहान तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो अवसर पटक–पटक नआउने भन्दै आफ्नो मताधिकार समुचित तरिकाले प्रयोग गर्न आग्रह गर्नुभयो ।

पूर्व शान्तिमन्त्रीसमेत रहनुभएका प्रभाकरले एमाओवादीको एजेण्डाले उत्पीडित वर्ग, लिङ्ग, जाति र समुदायको उत्थान गर्ने भन्दै जनताले एजेण्डा रोज्नुपर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विमल गौतमले गर्नुभएको थियो ।

उम्मेदवारसँग अन्तरक्रिया

सोही अवसरमा एनेकपा (माओवादी) ४ नं. क्षेत्रका उम्मेदवार रामजी चौधरी ‘मिलन’ले उत्पीडित उपेक्षित र पिछडिएका समुदायलाई समेटेर समावेशी र समानुपातिक व्यवस्था ल्याउन सक्ने एमाओवादी मात्र भएको बताउनुभयो ।

उम्मेदवारसँग साक्षात्कार कार्यक्रममा बोल्दै चौधरीले आफू निर्वाचित भएपछि क्षेत्रको मुख्य समस्या रहेको यातायात, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताको विकासमा प्राथमिकता दिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *