पहिचानसहितको संघीयता सबै जातजातिको अधिकार सुनिश्चित गर्ने प्रणाली– सुदर्शन

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७०       | 139 Views   ||

Sudarshan_दाङ, कार्तिक ७ । एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले पहिचानसहितको संघीयता कुनै जातिविशेषलाई राजा बनाउने नभई सबै जातजातिको हकअधिकार सुनिश्चित गर्ने प्रणाली भएको बताउनुभएको छ ।

चुनावी अभियानको क्रममा क्षेत्र नं. ४ ले आज बिहीबार बिजौरी बजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

विरोधीहरुले पहिचानसहितको संघीयता जातीय राज्य हो भनेर भ्रम फैलाएको भन्दै नेता ओलीले पहिचान जाति, क्षेत्र, समुदाय र ऐतिहासिक तथ्यलाई आधार बनाइएकाले कोही पनि नतर्सिन आग्रह गर्नुभयो ।

कांग्रेस एमालेको अवरोध कारण अघिल्लो संविधानसभाबाट संविधान बनाउन नसकिएको भन्दै उहाँले यसपटकको निर्वाचनबाट एमाओवादीलाई स्पष्ट बहुमत दिएर जनपक्षीय संविधान बनाउने म्याण्डेट दिन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

जनसभालाई सम्बोधन गर्दै एमाओवादी केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री सुश्मा शर्मा घिमिरेले देशको आर्थिक समृद्धि र विकासको नेतृत्व एमाओवादी बाहेक अरु कोही पार्टीले गर्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा क्षेत्र नं. ४ का उम्मेदवार रामजी चौधरी ‘मिलन’ले चुनाव कोहीले जित्ने र कोही हार्ने खेलमात्र नभएर गरिब जनताको पक्षमा संविधान लेख्ने कि फेरि पनि पुरानै सामन्ती र ठूलाबडाहरुको संविधान लेख्ने वर्गीय लडाइँ भएको बताउनुभयो ।

एमाओवादी थारुवान राज्यसमिति सदस्य अनन्त डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिजौरी गाविस अध्यक्ष भीम थारुले गर्नुभएको थियो ।

सो अवसरमा बिजौरी– ३ मनिकापुरका कांग्रेस सक्रिय कार्यकर्ता गोबद्र्धन विकले एमाओवादीमा प्रवेश गर्नुभयो । उहाँलाई प्रमुख अतिथि हेमन्तप्रकाश ओली, उम्मेदवार रामजी चौधरीलगायतले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

यसैबीच जनसभालगत्तै क्षेत्र नं. ४ का उम्मेदवारसहितको चुनावी अभियान टोलीले बिजौरी उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग भेटघाट गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

चिराघाटमा जनसभा

यसैबीच क्षेत्र नं. ५ को चुनावी अभियान टोलीले आज शान्तिनगरको चिराघाटमा गाविसस्तरीय जनसभा सम्पन्न गरेको छ । गाउँ पार्टी अध्यक्ष राधिका परियारको अध्यक्षतामा भएको सभालाई एनेकपा (माओवादी) का केन्द्रीय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, केन्द्रीय सदस्य कुबेर ओली, क्षेत्र नं. ५ का उम्मेदवार धिरज सेर्पालीलगायतले सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा कांग्रेसका सक्रिय कार्यकर्ता मानबहादुर परियार, धनबहादुर परियार, राजु परियार, डोटे परियार, पुस्कर परियार, नरेश परियार र अर्का राजु परियार एमाओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि ओली र उम्मेदवार धिरज सेर्पालीले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

खगेन्द्र शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन गाउँ पार्टी सचिव आरपी देवकोटाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *