देश एमाओवादीको एजेण्डामा– सुदर्शन

  
  प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७०       | 100 Views   ||

दाङ, कार्तिक ८ । एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले देश एमाओवादीकै एजेण्डामा चलिरहेकाले नेतृत्व पनि आफ्नै पार्टीको हुने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार संघ, दाङले शुक्रबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी लगायतका एजेण्डाहरु हामीले ल्याएका हौं, उहाँले भन्नुभयो– त्यसको सही नेतृत्व एमाओवादी नै गर्छ, अबको देशको नेतृत्व पनि हामीले नै गर्छौं ।’

संविधानसभा निर्वाचनमा एमाओवादीको स्पष्ट बहुमत आउने भन्दै उहाँले निर्वाचनमा जित्ने नजित्ने सवाल कस्तो एजेण्डा भन्ने कुराले निर्धारण गर्छ भन्नुभयो ।

संविधानसभा निर्वाचन जनयुद्धको अर्को रुप भएको भन्दै नेता ओलीले दाङलगायत राप्ती सबै क्षेत्रमा एमाओवादीले जित्ने दावी गर्नुभयो । निर्वाचन बहिस्कारमा उत्रिएको वैद्य माओवादीले आफैले उठाएका एजेण्डा मार्न नसक्ने भन्दै उहाँले बहिस्कार गर्छौं भन्नेहरुमा दम नभएको बताउनुभयो ।

कांग्रेस एमालेको अवरोध कारण अघिल्लो संविधानसभाबाट संविधान बनाउन नसकिएको भन्दै उहाँले यसपटकको निर्वाचनबाट एमाओवादीलाई स्पष्ट बहुमत दिएर जनपक्षीय संविधान बनाउने म्याण्डेट दिन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

क्रान्तिकारी पत्रकार संघ, दाङका अध्यक्ष नरेन्द्र केसीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सहसचिव गोविन्द खड्काले गर्नुभएको थियो भने सहभागीहरुलाई उपाध्यक्ष डिल्ली मल्लले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *