एमाओवादीद्वारा गाउँ–गाउँमा चुनावी सभा

  
  प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७०       | 139 Views   ||

सौडियारको फचकपुरमा जनभेटघाट

दाङ, कार्तिक ८ । चुनावी अभियानका क्रममा एकीकृत नेकपा (माओबादी ) क्षेत्र नं. ३ ले आज शुक्रबार सौडियार–४ फञ्चकपुरमा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

जनभेलालाई सम्बोधन गर्दै क्षेत्र नं. ३ का उम्मेदवार निर्मल आचार्य ‘विमल’ले वर्गीय स्वतन्त्रताको लडाइँ एमाओबादीले लड्दै आएको भन्दै गरिब जनताको अधिकार लेख्नका लागि एमाओवादीलाई पूर्णजनमतको आवश्यकता रहेको बताउनुभयो ।

माओवादीले पहिचान सहितको संघीयतामा कसैसँग सम्झौता नगर्ने भन्दै उहाँले जसरी भए पनि गरिब, उत्पीडित, उपेक्षित वर्ग, जाति, लिङ्ग र समुदायको पक्षमा संविधान लेखेर छाड्ने बताउनुभयो ।

यसैबीच उम्मेदवार आचार्यसहितको चुनावी अभियान टोलीले घोराहीका रतनपुर, तुलसीपुरचोक, न्यूरोडमा घरदैलो अभियान चलाएको छ ।

मानपुरको वनकट्टीमा जनसभा
चुनावी अभियानको दौरानमा एनेकपा (माओवादी) क्षेत्र नं. ४ को अभियान टोलीले आज मानपुर– ७ वनकट्टीमा जनसभा गरेको छ ।

एमाओवादी मानपुर गाउँ पार्टीको आयोजना गरेको जनसभालाई एमाओवादीका केन्द्रीय सदस्य हेमन्तप्रकाश ओली ‘सुर्दशन’ले सम्बोधन गर्नुभएको थियो ।

जनसभालाई सम्बोधन गर्दै ओलीले संविधानसभा निर्वाचन वर्गीय लडाइँकै एक रुप भएकाले जनपक्षीय संविधान निर्माणका लागि एमाओवादीलाई जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाओवादी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुष्मा शर्मा घिमिरे, क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका उम्मेदवार रामजी चौधरी ‘मिलन’, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य नारायण भण्डारी, मानसिङ सुनार, विनय शर्मालगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिवानन्द डाँगीले गर्नुभएको थियो ।

स्यूजाको बोझपोखरामा चुनावी सभा
यसैबीच चुनावी अभियानको क्रममा शुक्रबार एमाओवादी क्षेत्र नं. २ को टोलीले स्यूजाको बोझपोखरामा चुनावी जनसभा सम्पन्न गरेको छ ।

सभालाई एनेकपा (माओवादी) केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज जीवन गौतम, क्षेत्र नं. २ का उम्मेदवार होमबहादुर पुन ‘रोहित’, क्षेत्रीय सहसंयोजक प्रमोद मगर, राज्यसमिति सल्लाहकार फणिन्द्र घिमिरेलगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा राप्रपाका वडा सदस्य सन्तविर विक र एमालेका सक्रिय कार्यकर्ता केशरबहादुर पुनले एमाओवादीमा प्रवेश गर्नुभएको छ । उहाँहरु दुवैलाई केन्द्रीय सदस्य जीवन गौतम र उम्मेदवार होमबहादुर पुनले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

गाविस अध्यक्ष दीपक पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मधु रिजालले गर्नुभएको थियो ।

धनौरीमा जनसभा
यसैबीच क्षेत्र नं. ५ को चुनावी जनसभा आज धनौरी वडा नं. ३ धनौरामा सम्पन्न भएको छ । सभालाई एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, केन्द्रीय सदस्य सुश्मा शर्मा घिमिरे, क्षेत्र नं. ५ का उम्मेदवार धिरज सेर्पाली, समानुपातिक उम्मेदवार निर्मला ओली चौधरी, क्षेत्रीय संयोजक भीमबहादुर ओली, राज्यसमिति सदस्य सुधार भण्डारी, सुशील क्षेत्री, वाइसीएल केन्द्रीय सदस्य डिल्लीराज खड्कालगायतले बोल्नुभएको थियो ।

सो अवसरमा कांग्रेस र एमालेका सक्रिय कार्यकर्ताहरु मोहन भण्डारी, सीता भण्डारी, सुरेन्द्र कामी, तुलसी बस्नेत, कुशल चौधरीलगायत एमाओवादीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई उम्मेदवार धिरज सेर्पालीले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *