एमाओवादीको पक्षमा जनलहर उर्लिंदा सामाजिक सञ्जालमा रुवाबासी

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक २८, २०७०       | 150 Views   ||

govind aacc–[गोविन्द आचार्य]

एकीकृत नेकपा (माओवादी) को पक्षमा देशैभर चुनावी लहर उर्लिन थालेपछि फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालहरुमा विरोधीका रोदन सुरु भएको छ । काठमाडौंलगायत शहरी क्षेत्रमा बसेर विगतदेखि नै एमाओवादी विरुद्ध प्रचारवाजी गरिरहेकाहरुले अहिले फेरि कोठाभित्र बसेर एमाओवादीको आँकलन गरिरहेका छन् ।

सामाजिक सञ्जाल र अन्य ठूला मिडियामार्फत् एमाओवादी विरुद्ध जनमत निर्माणको कोशिष गरिरहेका केही उडन्तेहरुले त एमाओवादीले ५० सिट नकटाउनेसम्मका भविष्यवाणी गर्न भ्याएका छन् ।

एमाओवादीको मुल जनआधार गरिव किसान, मजदुर, सुकुम्बासी, जनजाति, दलित, महिला, मधेशी तथा अल्पसंख्यक र पिछडिएका जनता हुन् भन्ने कुरा थाहा नपाएका वा थाहा पाएर पनि उत्पीडितहरुलाई हेप्ने र शोषण गर्ने बानी परेकाहरुले मात्रै अहिले एमाओवादीले हारेको देख्न सक्छन् । अन्यथा देशभरको चुनावी माहौल एवम् जनताको चाहना बुझ्नेहरुले जताततै एमाओवादीको जित देखिरहेका छन् ।

राजधानी काठमाडौंका केही सुकिलामुकिला एवम् अमेरिकासहितका विभिन्न देशमा बसेर फेसबुक र ट्वीटरमार्फत् एमाओवादी विरुद्ध मिसन गरेर आत्मरती लिइरहेको यही तप्का गत चुनावमा पनि माओवादीले १० सिट ल्याउने आकलन गर्दै बसेको थियो ।

मतदाता सूचीमा नाम अद्याबधिक नगरेका केही उडन्तेहरुले त अहिले पनि एमाओवादीवाट अलग्गिएको एउटा समूहको काल्पनीक शक्तिको हाउगुजी देखाएर एमाओवादीले चुनाव हार्छ भनेर बदख्वाइ गरिरहेका छन, ह्वीस्कीका बोतल फोरिरहेका छन् । बहुसंख्यक मजदुर, किसान र गाउँका जनतालाई मान्छे नै नगन्ने कुलीन सामन्ती वर्गको तप्काले जतिसुकै रोदन गरेपनि चुनाव एमाओवादीको पक्षमा गइसकेको छ ।

नेपालका मेहनत गरेर बाँचेका र देशको मुहार फेर्न चाहेका श्रमजीवी जनता र उसको प्रतिनिधित्व गर्ने एमाओवादी विरुद्ध फेसबुक वा ट्वीटरमा जतिसुकै आसु बगाए पनि जनताको आधारभूत बर्गलाई त्यसले कुनै असर गर्ने छैन । किनभने एमाओवादीको आधार क्षेत्र गाउँका सर्वसाधारणदेखि शहरका बुद्धिजीवी, व्यवसायी, शिक्षक, विद्यार्थी, पेशाकर्मी, व्यापारी, कर्मचारी, सेना, प्रहरीदेखि राष्ट्रिय पुँजीपतिसम्मले यसपटक एमाओवादीलाई रोजिसकेका छन् । अव एमाओवादी विरोधीको फेसबुके रोदन र मिडियावाजीले कुनै असर गर्ने छैन ।

विरोधीले सामाजिक सञ्जालमार्फत् गणतन्त्र स्थापनाका क्रान्ति नायक प्रचण्डप्रति जतिसुकै कटाक्ष गरिरहेपनि एमाओवादीको जनाधार भएको ८५ प्रतिशत ग्रामीण क्षेत्र एवम् शहरका इमान्दार मान्छेहरुका मनमनमा प्रचण्ड छन् । एकीकृत माओवादीले अघि सारेको नारा– ‘जसको नीति उसको नेतृत्व, राष्ट्रका नेता अध्यक्ष प्रचण्ड’ लाई जनताले चुनाव अघि नै अनुमोदन गरिसकेका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको राष्ट्रिय जागरण अभियानका क्रममा ६० भन्दा बढी ठूला जनसभाहरुमा उर्लिएको जनसागर र एमाओवादीको समर्थनले यही कुरा पुष्टि हुन्छ ।

आफ्नो नाम उच्चारण गर्न नसक्ने कथित प्रजातन्त्रवादी दलका अगुवा र ढाबको किल्लो जस्तै कम्युनिष्ट नामधारी भाइ कांग्रेसका अध्यक्ष आफ्नै निर्वाचन क्षेत्रमा कैद हुँदा प्रचण्डले सातादिनमै एक करोड जनतालाई सम्बोधन गरिसकेका छन । फेसबुकमा माओवादी विरुद्ध गोहीका आसु चुहाउनेहरुलाई प्रचण्डले सम्बोधन गरेका सभामा उपस्थित भएका लाखौ जनता आफूजस्तै मतदाता होइनन् भन्ने भ्रमले छोएको छ होला । चप्पल लगाएर प्रचण्डको भाषण सुन्न आएका व्यक्तिको मतको मूल्य बिदेशी डलर खाएर प्रचण्डलाई गाली गरिरहेका सभ्रान्तहरुले बुझ्न सक्ने कुरै भएन ।

इतिहास बदल्ने मोडमा क्रान्तिकारी शक्ति बिरुद्ध आक्षेप लाग्नु कुनै अनौठो कुरो होइन, यही सभ्रान्तको तप्का हो जो हिजो माओवादीले संविधानसभा र गणतन्त्रको कुरा गर्दा ज्ञानेन्द्रको अभिनन्दन कार्यक्रममा फूलमाला लिएर जाने गर्दथ्र्यो । कांग्रेस र एमालेले गाणतन्त्र र संविधानसभा माग्ने १५ हजार माओवादीको हत्या गर्दा त्यसको समर्थन गर्दथ्यो ।

त्यतिमात्रै होइन माओवादीलाई आतंककारी घोषणा गर्दा र प्रचण्ड, बाबुरामसहितका नेताका टाउकोको मूल्य तोक्दा ताली बजाएर स्वागतमा उभिएको थियो । आज यही तप्का एमाओवादी पार्टी र त्यसका उम्मेदवारलाई जसरी पनि हराउनु पर्ने र देशमा पुरानै कुहीगन्धे संसदीय व्यवस्था लागू गर्नुपर्ने मिसनमा लागेको छ । उनीहरु चप्पल लगाउने र निरक्षर वर्गलाई मान्छे नै गन्दैनथे र गन्दैनन् । तर त्यही निरक्षर वर्गले गणतन्त्र ल्याइदियो, काठमाडौंको कुलिन, सामन्त र सभ्रान्त वर्गको केही चलेन । अहिले एमाओवादीको पक्षमा चुनावी लहर आउँदा त्यो कुलिन वर्गको निदहराम हुनुले पनि केही फरक पर्नेवाला छैन ।

पटक पटक र कयौ पटक प्रमाणित भइसकेको छ, नयाँ नेपाल निर्माणको अगुवाइ एकीकृत माओवादीले मात्र गर्न सक्छ । एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्व मात्र होइन, एक्काइशौ शताब्दीको कम्युनिष्ट आन्दोलन र सिंगो देशको नेतृत्व गर्न प्रचण्ड जत्तिको सक्षम र योग्य व्यक्ति अरु कोही छँदै छैन । प्रचण्डको विकल्पको नेतृत्व भोली आन्दोलनले तयार पार्ला तर अहिले हेर्ने हो भने प्रचण्ड यो राष्ट्रका निर्विकल्प नेता हुन् ।

कुनै राजनीतिक विचार वा व्यक्ति विशेषप्रतिको पूर्वाग्रह त्यागेर एमाओवादीलाई एकपटक बहुमतको सरकार सञ्चालन गर्ने अवसर दिनु नै देशको आवश्यकता र अहिलेको समयको माग हो । एमाओवादीले बहुमतको सरकार मात्रै चलाउन पायो भने एक बर्षमै देशले संविधान पाउने छ र सुधारका संकेत देखिने छन् ।
अन्त्यमा यत्ति चाहिँ भनौं, कसैले बाघलाई विरालो जस्तो देख्यो भने या त त्यो बाघसँग तर्सेर अत्तालिएको हुनुपर्छ या अल्पदृष्टि भएको रोगीको व्यक्तिगत समस्या हुनुपर्छ तर बाघ भनेको बाघ नै हो ।

कोही मनोरोगीको इच्छा पूरा गर्न बाघ बिरालो बन्न सक्दैन् । बाघ जस्तो एकीकृत माओवादीलाई विरोधीका स्याल हुईयाले केही फरक पार्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *