-[निर्मल आचार्य ‘विमल’]
एकीकृत नेकपा (माओवादी) केन्द्रीय सदस्य एवम् दाङ क्षेत्र नं. ३ का उम्मेदवार
अहिले पनि चुनावको मुखमा आएर गाउँमा २/४ ट्रिप गिट्टी छर्ने, २/४ सय मिटर तार पाइप बाँड्ने, २/४ हजार बाँड्ने काम अलि तीब्रतामै भएको पाएको छु । कुत्सित उद्देश्यसहित जनताको मनमा प्रभावित गर्नेगरी गरिने कथित विकासको पछि लाग्नुको साटो आजै हामी समग्र दाङको योजना बनाऔं भन्ने मेरो आह्वान हो ।
दाङ क्षेत्र नं. ३ बाटै तपाइँको उम्मेदवारी किन ?
समग्रमा हामी एउटा अभियानमा छौं । त्यही अभियानमा सहभागी अगुवाको रुपमा दाङ क्षेत्र नं. ३ मा मेरो उम्मेदवारी रहेको छ । समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र, सामाजिक न्यायसहितको आर्थिक वृद्धि, प्रगतिशील राष्ट्रवाद तथा स्थिर र भ्रष्टाचारमुक्त सरकार नै हाम्रो यो अभियानको मुख्य उद्देश्य हो ।
मूलतः यही अभियान सफल पार्नका लागि मेरो उम्मेदवारी रहेको छ । जहाँसम्म दाङ क्षेत्र नं. ३ को कुरा छ र यहाँबाटै मेरो उम्मेदवारी किन भन्ने सवाल छ, दाङ जिल्लाको र समग्रमा राप्ती अञ्चलको विकासमा दरिलो सहकार्यका लागि मेरो उम्मेदवारी रहेको छ । राजनीतिक पृष्टभूमि, वर्तमान अवस्था र भविष्यका सम्भावनाहरुलाई एक ठाउँमा जोडेर दाङ जिल्लाको समग्र नेतृत्वका लागि मेरो उम्मेदवारी रहेको छ ।
तपाइँसहित सबै उम्मेदवारहरुले घरदैलो गरिरहनुभएको छ, अहिलेसम्मको अवस्था कस्तो पाउनुभएको छ ?
म अहिलेसम्म दाङ जिल्ला क्षेत्र नं. ३ को प्रतिनिधिमूलकरुपमा करीब सबैतिर घुमें । सबै ठाउँमा त पुग्न सकिएको छैन, पुग्ने प्रयासमा छु । मैले बुझेअनुसार जनता गुनासो र समाधान दुबै सँगै लिएर उपस्थित हुनुहुन्छ ।
जनतामा मुख्यतया दुइवटा कुराको गुनासो रहेको पाएको छु, पहिलो संविधान नबनाएको र दोस्रो जितेर गएपछि घरदैलोमा फर्केर नआएको कुरा ।
संविधान बनाउने अभियान हो, यो चुनाव भनेर आम जनसमुदायले अझ गहिरो गरी बुझ्न जरुरी छ भन्ने महसुस भएको छ । संविधानसभाबाट संविधान हाम्रो वर्षौंदेखिको सपना हो । र, संविधानले नेपाललाई दशकौंसम्म दिशानिर्देश गर्ने हो भन्ने कुरा अझ बढी स्थापित गर्नुपर्ने देखिन्छ ।
मैले सबैतिर घुम्दा संविधान किन बनेन भन्ने गम्भीर प्रश्नका साथ संविधान जसरी पनि बनाउनु पर्दछ भन्ने दह्रो अठोटमा जनसमुदायहरु रहेको पाएको छु । दोस्रो जितेर जानेहरु फर्केर नआउने भन्ने गम्भीर गुनासो रहेको छ । यसमा पनि जनसमुदायले आफै समाधान दिनुभएको छ, हिजो जे भो–भो अब त्यसो नगर्नुहोला भन्ने आदेश छ ।
मैले विगतको अनुभवबाट सिकेको छु । म हरदम जनताकै घरदैलोमा हुनेछु भन्ने प्रतिवद्धता व्यक्त गरेको छु । दाङ क्षेत्र नंं. ३ का मतदाताहरुमा संविधान निर्माणप्रतिको गम्भीर कर्तव्यबोध र विकास निर्माणप्रति अभूतपूर्व अभिलाषा पाएको छु ।
समग्रमा भन्दा हिजोको मत यथावत रहेको, नयाँ धु्रवीकरण प्रक्रिया पनि शुरु भएको र मैले व्यक्तिगतरुपमा सोचेको भन्दा अत्यन्त उत्साहजनक माहोल रहेको महसुस गरें । यसले ममा थप जिम्मेवारी थपिएको अनुभूति गरें । साथै अपेक्षा पूरा गर्ने प्रतिवद्धता पनि युगबोधमार्फत् व्यक्त गर्न चाहन्छु ।
यो चुनावमा तपाइँको पार्टीका मुख्य एजेण्डा के हुन् ?
संविधानमा हाम्रो मुख्य एजेण्डा भनेको पहिलो समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र हो । हामी २२ वर्षमा २० वटा सरकार गठन गर्ने लोकतन्त्र होइन, साँच्चिकै सबै जनताले अपनत्व महसुस गर्ने लोकतन्त्र चाहन्छौ ।
हामी नेपालमा रहेका सयौं जाति, जनजाति, उपजाति, मधेशी, पछि पारिएका क्षेत्रका जनता, महिला, दलित, मुस्लिम विभिन्न पेशाका श्रमजीवी जनता र उनीहरुले अपनत्व अनुभूति गर्ने राज्य प्रणाली बनाउन चाहन्छौं ।
दोस्रो, हाम्रो एजेण्डा भनेको सामाजिक न्यायसहितको आर्थिक वृद्धि हो । राज्य, निजी क्षेत्र र सहकारी क्षेत्रलाई उचित तालमेलमा ल्याई मुट्ठीभरले आयस्रोत र साधनमा कब्जा जमाइरहने र आम मानिसहरुलाई सिमान्ततिर धकेल्ने, जीविकाकै लागि विदेशमा सस्तो र दुःखपूर्ण श्रम गर्न जान वाध्य पार्ने अहिलेको आर्थिक सिद्धान्त बदल्ने हाम्रो उद्देश्य रहेको छ ।
तेस्रो, हाम्रो एजेण्डा प्रगतिशील राष्ट्रवाद हो । हामीले देशलाई सामन्तवादबाट मुक्त गर्न, साम्राज्यवादी चंगुलबाट राष्ट्रलाई मुक्त गर्न जनताको काखमा बसेर जनयुद्ध लड्यौं । देशभरका जनतालाई एकताको एउटै मालामा उनेर राष्ट्रिय एकतालाई बलियो बनाउन लड्यौं । यसले नेपालको राष्ट्रियता अझ मजबुत हुने आधार खडा भएको छ । समृद्ध जनताको देश बनेर मात्रै राष्ट्रियता बलियो हुन्छ ।
अब राष्ट्रियताको चर्को कुरा गर्ने तर आफ्ना जनतालाई रोजगारी र सामाजिक आर्थिक उन्नतिको अवसर नदिने सामन्ती ख्रोक्रो राष्ट्रियता कजाएर राजनीति होइन, हामी आर्थिक समृद्धिलाई राष्ट्रियता बलियो बनाउने आधारका रुपमा लिने प्रगतिशील राष्ट्रवादको पक्षमा संविधान लेख्न चाहन्छांै ।
चौथो, हाम्रो एजेण्डा स्थिर र भ्रष्टाचारमुक्त सरकार रहेको छ । मैले माथि पनि भनें नेपालमा गठित सरकारहरुले अहिलेसम्म पूरा अवधि कसैले पनि काम गर्न पाएको छैन । २२ वर्षमा २० वटा सरकारको बदनामी बोकेर कतिञ्जेल बाँच्ने । त्यसैले स्थिर सरकार नै अहिलेको मुख्य एजेण्डा हो र, भ्रष्टाचारमुक्त आचरण आम जनताको चाहना पनि हो ।
यो निर्वाचन संविधानसभा निर्वाचन मात्र होइन, संविधान निर्माणपछि व्यवस्थापिका–संसदको काम गर्ने निकाय पनि हो । त्यसैले यो क्षेत्रको विकासका लागि तपाइँका ठोस योजना वा प्रतिवद्धताहरु के छन् ?
हो, यो चुनावको मुख्य कार्यभार संविधान निर्माण नै हो । त्यसका साथसाथै पाँच वर्षे स्थिर सरकारको गठन पनि गर्नेछ । छोटोमा म यस क्षेत्रको विकासका लागि म मेरो योजना प्रस्तुत गर्न चाहन्छु ।
दाङ सबै हिसाबले अत्यन्त उर्वर क्षेत्र हो । अहिलेसम्म जिल्लाको समग्र विकासमा ठोस पहलकदमी देखिन सकेको छैन । मस“ग यस क्षेत्र र समग्र जिल्लालाई विकास गरिदिने ठोस योजनाहरु छन् । उदाहरणका लागि म केही यहाँ प्रस्तुत गर्न चाहन्छु ।
सबैभन्दा मुख्य समस्या पानीको छ । हामीले यो समस्या समाधान गर्न सबै कुलाका बाँध पक्की गर्नु पर्दछ, दोस्रो डिप बोरिङहरु गर्नुपर्दछ र लिफ्ट प्रविधिको प्रयोग गरेर सिंचाईलाई व्यवस्थित गर्नुपर्दछ । आज मध्यकालीन समाधानका लागि वर्षे पानी संकलन गर्ने ठूला जलाशयहरु निर्माण गर्नुपर्दछ, वर्षामा बगेर जाने पानीलाई उपयोग गर्ने नीति बनाउनुपर्दछ ।
त्यसपछि दाङ जिल्लाको पानीको समग्र समाधान भनेको माडी डाइभर्सन हो, यो सम्भव छ । सिंचाईको व्यवस्था गरी उन्नत कृषिप्रणाली अपनाई दाङको मुहार कृषि क्षेत्रबाटै फेर्न सकिन्छ भन्ने मेरो योजना रहेको छ ।
ऊर्जा क्षेत्रमा हेर्दा हामीले राप्तीका अन्य जिल्लासँग समन्वय गरेर ५ वर्षभित्र राप्तीमा कम्तीमा १० मेघावाट विजुली उत्पादन गर्नुपर्दछ । बाटोमा हेर्दा अन्तर जिल्लाका साथै दाङमा रहेका सबै ठाडा र तेस्रा सडक सुधार गरी सबै मौसममा गाडी चल्ने बनाउनुपर्दछ ।
३ नं. क्षेत्रका लागि घोराही रक्षाचौर बाटो, धर्नाको ९ किमी बाटो, बीचमा रहेको दामोदर मार्ग र रिङ्गरोड साथै सबै ठाडा रोडहरु हाम्रा प्राथमिकता हुन् । नगरपालिकाभित्रका सबै टोलमा र गाउँका सबै मुख्य केन्द्रमा सबै सिजनमा उपयोगयोग्य बाटो पु¥याउने मेरो योजना छ । ३ नं. क्षेत्रमा सबै साना ठूला खोलामा पुल निर्माण गर्ने योजना बनाएको छु ।
स्वास्थ्यमा उपक्षेत्रीय अस्पताल र अञ्चल अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, शिक्षामा पूर्वीय दर्शन र आयुर्विज्ञानप्रतिको आकर्षणलाई ध्यान दिएर नेपाल संस्कृत विश्वविद्यालयको सुधार गर्ने, महेन्द्र बहुमुखी क्याम्पसमा सबै विषयमा स्नातकोत्तर कक्षा सञ्चालन गर्ने । घोराहीलाई प्रान्तीय राजधानी बनाउनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ । त्यसैले घोराहीलाई, नारायणपुरलाई र अन्य उदाउँदा बजारमा व्यवस्थितरुपमा भौतिक पूर्वाधार निर्माणमा जोड दिने योजना रहेको छ ।
सुकुम्बासीलाई परिचयपत्र र व्यवस्थित बसोबासको व्यवस्था गर्ने, भूमिहीन र मजदुरहरुको समस्या समाधान गर्ने योजना बनाएको छु ।
३ नं. क्षेत्रमै एउटा सुविधासम्पन्न खेल मैदान निर्माण गर्ने योजना बनाएको छु । त्यस्तै, यहाँ बहुउद्देश्यीय सभाहल निर्माण गर्ने विषयमा यसअघि नै पहल भइसकेको छ, यसलाई बढीमा ५ वर्षभित्र सुविधासम्पन्न बृहत सभाहल निर्माण गरिसक्नुपर्छ । त्यस्तै, नगरका सबै टोल र सबै गाउँमा स्वच्छ खानेपानी र बिजुली पु¥याउने योजना छ । क्षेत्रीय विमानस्थल बनाउने र पर्यटक भिœयाउने योजना पनि रहेको छ । धार्मिक पर्यटन र सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्नुपर्दछ ।
प्रतिवद्धताकै कुरा गर्दा मतदाताले यसअघिका कामको पनि मूल्यांकन गर्ने गर्दछन् । हुन त अघिल्लो संविधानसभामा तपाइँ सभासद् हुनुहुन्नथ्यो तर पनि दाङका पाँचै क्षेत्र एमाओवादीले जितेको थियो, यो बीचमा यो क्षेत्र र समग्र दाङमा तपाइँको पार्टीले उल्लेख गर्न लायक के–के काम ग¥यो ?
समग्रमा भन्दा हामीले करीब २९ महिनासम्म सरकार चलाए पनि एउटा मात्र बजेट ल्यायौं र त्यो पनि पूरा कार्यान्वयन गर्न पाएनांै ।
महान योद्धाहरुलाई सहिद घोषणा र राहत, बेपत्ता वरिवारलाई राहत, तीस हजारसम्मको ऋण मिनाहा र एक लाखसम्मको व्याज मिनाहा, सामाजिक भत्तामा वृद्धि र गाविसको रकममा करीब ५ गुणाले वृद्धि हामीले आधारभूत गरेका काम हुन् ।
ठूला जलविद्युत जस्तै पश्चिम सेती निर्माणको ठोस योजना र जहाज किन्ने योजना, मध्यपहाडी लोकमार्ग निर्माण हामीले गरेका उल्लेख्य कामहरु हुन् । दाङकै कुरा गर्दा २ वटा उच्चस्तरका अस्पताल बने । दाङमै राप्ती उपक्षेत्रीय अस्पताल र अञ्चल अस्पताल स्थापना एमाओवादीको पहलविना सम्भव नै थिएन किनकि अरुले गर्ने भए यतिका वर्ष सरकार चलाउदा गरिसक्ने थिए ।
रोल्पा, प्युठान, सुर्खेत, सल्यान–रुकुम जोड्ने बाटोमा पिच हुँदैछ । दाङ जिल्ला र अन्य विशेषगरी क्षेत्र नं. ३ तथा घोराही क्षेत्रको विकासको मेरुदण्ड बन्ने सहिद मार्ग हाम्रै पालामा शुरु भयो । यो सडक जनयुद्धकालमा नै हामीले शुरु गरेका थियौं ।
२०६१ सालमा जनयुद्धकालमै तत्कालीन जनसरकारले आफ्नो १ करोडको लगानी र जनताको श्रमदानबाट यो सडक निर्माण शुरु गरेको थियो । हाम्रो सरकार बनेलगत्तै हामीले बजेटमै सहिद मार्ग परियोजना शुरु गर्ने घोषणा ग¥यौं र घोराहीमा यो परियोजनाको कार्यालय खोलेर काम शुरु ग¥यौं । यो कार्यालय अहिले रोल्पाको लिवाङमा छ र सहिद मार्ग निर्माण कार्य अघि बढिरहेको छ ।
त्यसपछि हामीले बजेट ल्याउन नपाउँदा यसलाई तीब्रता दिन सकिएन तर गत वर्ष मात्रै हाम्रा प्रधानमन्त्री र अर्थमन्त्रीको विशेष पहलमा घोराही–घर्तीगाउँ सडक कालोपत्रे गर्न बाह्य सहयोग समेत जुटाएका छौं र १ अर्ब १६ करोड बजेट पाइप लाइनमा राखिएकाले चाँडै कालोपत्रे हुनेछ । यो सडक यस क्षेत्रको विकासको मेरुदण्ड त हो नै, सँगसँगै हजारौं सहिदहरुको सपनासँग पनि जोडिएकाले घोराही–थवाङ–रुकुमकोट सडक कालोपत्रे हाम्रो प्राथमिकतामा छ ।
अर्को महत्वपूर्ण सडक निर्माण पनि हामीले शुरु गरेका छौं, जसले जिल्ला, अञ्चल र देश मात्र होइन नेपाल, चीन र भारतलाई जोड्ने छ, जसको केन्द्रबिन्दु दाङ हुनेछ । तपाईले हाम्रो चुनावी प्रतिबद्धतापत्रमा राखिएको नक्सा हेर्नुभयो भने स्पष्ट देख्नु हुनेछ । यो हाम्रो आश्वासन मात्र होइन, हामीले योजना नै शुरु गरिसकेका छौं ।
हाम्रो सरकार हुदा चीनको नाकाबाट डोजर पठाएर डोल्पाको भू–भागमा ट्रयाक खोल्न शुरु गरिएको थियो भने यताबाट पनि सहिद मार्गहुँदै रुकुमको महतदेखि डोल्पाको शहरतारासम्मको योजना शुरु भइसकेको छ । रुकुम–डोल्पा खण्डमा सडक निर्माण भएपछि सहिद मार्ग हुँदै घोराही–लमही–कोइलाबास भएर चीन–नेपाल–भारतको सोझो सम्पर्क स्थापित हुने छ । यो हामीले शुरु गरेको महत्वपूर्ण परियोजना हो, यसलाई सम्पन्न गर्न फेरि हामीलाई जनताको साथ चाहिएको छ ।
त्यस्तै घोराही–देवीस्थान–प्यूठान हुँदै पोखरा तथा दाङ–सुर्खेतहुँदै दिपायलसम्मको सडक योजनाको खाका पनि हामीले यसैबीचमा कोरेका छौं र यसलाई मध्यपहाडी लोकमार्गको शाखा सडक बनाउन सकिने छ । ३ नं. क्षेत्रकै आधारमा हेर्दा ५ वटा पुल बन्दैछन् कटुवाखोला, सेवारखोला (बसपार्कनिर) बगालेमा, अम्राइ खोला र बबईमा नयाँ पुल बन्दैछ ।
रिङ्गरोडमा बजेट विनियोजन गरेका छौं, सीटी हल निर्माण गर्न, अटो भिलेज निर्माणमा बजेट विनियोजन भएको छ । ग्रीन सिटीको अवधारणा हामीले नै ल्याएको हो, त्यसमा अहिले ४० लाख बजेट विनियोजन भएको छ ।
ढिकपुर गाविसलाई मुख्य लक्षित गरेर करीव ९ करोडको सिंचाई योजना र नहरहरु पक्की गर्ने योजनामा बजेट परेको छ । करीब आधा दर्जन क्याम्पसहरु खुलेका छन् । स्वास्थ्य चौकीहरुमा सुधार आएको छ । ३ नं. क्षेत्रैमा भन्दा वडा नं. ३ मा खानेपानीको योजना पूरा हुँदैछ । यी सबै प्रगति हेर्दा हामीले दीर्घकालीन महत्वका राम्रै काम गर्न पाएको अनुभूति गरेका छौं ।
चुनावी दौरानमा तपाइँले गाउँ र नगरका सबै वडाहरुमा घरदैलो पनि गरिरहनुभएको छ र विभिन्न क्षेत्रका अगुवाहरुसँग पनि अन्तक्र्रिया गरिरहनुभएको छ, खासमा दाङ क्षेत्र नं. ३ को सबैभन्दा प्रमुख आवश्यकता के पाउनुभयो ?
धन्यवाद राम्रो प्रश्न गर्नुभयो । सबैतिर घुम्दा मैले आवश्यकतालाई दुई तरीकाले हेर्ने गरेको छु । तत्कालीन आवश्यकता बाटो, विजुली र सिंचाई÷खानेपानी नै रहेको छ । यसको समाधान गर्ने प्रतिवद्धता मैले माथि नै राखिसकेँ ।
दाङ उपत्यकाका भव्यता, खोलाहरु र पानीको स्रोतको अवस्था हेर्दा यहाँ पानी नै मुख्य आवश्यकता बनेर आउने निश्चित छ । दाङमा पानी छैन भनां भने प्रशस्तै छ, वर्षामा प्राय सबै खोलाले क्षति पु¥याएकै छन् तर पानी छ भनौं भने सबैतिर सुख्खा छ ।
घोराहीमा हेर्दा हामीले पाँचवटा बोरिङबाट पानी तानेर खाइरहेका छौं । यसरी कति दिन चल्छ ? त्यसैले सबैभन्दा ठूलो आश्यकता त मलाई पानीकै हो जस्तो लाग्छ । यसको समाधान मैले तपाइँको अघिल्लो उत्तरमा दिइसकेको छु । पानीको योजना बनाऔं दाङलाई समृद्ध बनाऔ हाम्रो मूल उद्देश्य हुनुपर्दछ ।
दाङको विकासको सन्दर्भमा कुरा गर्दा २०४६ सालअघि बरु अलि व्यवस्थित योजनाका साथ विकास निर्माण शुरु गर्न खोजेको देखिन्छ तर त्यसपछि यहाँको विकासलाई नेताहरुले भोट माग्ने हतियार मात्रै बनाए, जितेर गएपछि दीर्घकालीन प्रकृतिको व्यवस्थित योजना बनाउन सकेनन् भन्ने जनगुनासो छ, एउटा उम्मेदवार भएर भोट मागिरहँदा तपाइँलाई यो सवालले भित्रैदेखि कत्तिको छोएको छ ?
यो जनताले गर्ने गरेको यक्ष प्रश्न हो । साँच्चिकै छोएको छ । साह्रै दुःखलाग्दो स्थिति देखें । विकासलाई मत प्रभावित गर्ने मुख्य औजार बनाएको पाएँ । गुरुयोजनासहित विकास गर्नुभन्दा असाध्यै तल्लोस्तरको भ्रष्टाचार र चुनावी विकास गर्ने परम्परा पाएँ । यसको मुख्य समस्या भनेको अस्पष्टता नै हो । त्यो मैले माथि नै भनिसकेको छु ।
अहिले पनि चुनावको मुखमा आएर गाउँमा २/४ ट्रिप गिट्टी छर्ने, २/४ सय मिटर तार पाइप बाँड्ने, २/४ हजार बाँड्ने काम अलि तीब्रतामै भएको पाएको छु । कुत्सित उद्देश्यसहित जनताको मनमा प्रभावित गर्नेगरी गरिने कथित विकासको पछि लाग्नुको साटो आजै हामी समग्र दाङको योजना बनाऔं भन्ने मेरो आह्वान हो ।
कुनै व्यक्तिले घरको सम्पत्ति बेचेर गाउँ, टोल र दाङको समग्र विकास गर्न सक्दैन र हुँदैन पनि । यस्तो सोचले हामीलाई पिर्नेछ । भोको मान्छेलाई माछा होइन जाल वा बल्छी दिनुपर्दछ । विकास गर्ने भनेको अग्रगामी सोचसहितको नीति, योजना र बजेटले हो ।
नेपाली कांग्रेसले अहिलेसम्म करीब २ दर्जन बजेट ल्यायो, एमालेले आधादर्जन जति बजेट ल्यायो तर हामीले जम्मा एउटा बजेट ल्यायौ त्यो पनि पूरा कार्यान्वयन गर्न पाएनौं । एउटा मात्र बजेटबाट गरेको शुरुवात हामीले देखिसकेका छौं । त्यसैले हामीलाई नेपालमा कम्तीमा ५ वटा बजेट ल्याउन दिनुस् भनेर हामीले आम जनतालाई आह्वान गरिरहेका छौं ।
त्यसैले चुनावको मुखमा गरिने कथित विकास होइन साँच्चिकै दिगो विकासका लागि गुरुयोजना बनाउन हामी दङालीहरु जुट्नुपर्दछ भन्ने मेरो मान्यता रहेको छ ।
तपाइँ संविधानसभा निर्वाचनको उम्मेदवार मात्र नभई प्रमुख दलको जिल्ला संयोजक पनि हुनुहुन्छ, यहाँ दिनानुदिन जनघनत्व बढिरहेको छ, यसलाई व्यवस्थित गर्दै जनताका सेवा सुविधा वृद्धि गर्न र समग्र जिल्लाको विकासका लागि एकीकृत गुरुयोजना बनाएर अघि बढ्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेका छन्, यसमा तपाइको दृष्टिकोण के हो ?
मैले माथिबाटै समग्र दाङकै विकासको कुरा उठाइरहेको छु । हामीले समग्र दाङकै योजना बनाउनुपर्दछ । देउखुरीमा कोइलाबासमा नाका खोल्ने र नदी कटान नियन्त्रण गर्ने, प्रगन्ना र बड्कापथ सिंचाई पूरा गर्ने । प्युठान जाने बाटो पिच गर्ने र विपी मार्गलाई पूर्णता दिने ।
रोल्पा, सल्यान, सुर्खेत, जोड्ने रोड, तुलसीपुरमा एयरपोर्ट पिच हुँदैछ । त्यसलाई क्षेत्रीयस्तरको एयरपोर्ट बनाउने । भालुवाङ, सिसहनिया, गढवा, लमही, घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, लोहारपानी र स्युजालाई मुख्य शहरी क्षेत्रको रुपमा विकास गर्ने ।
स्वर्गद्वारीलाई अन्तर्राट्रिय पर्यटकस्थलको रुपमा विकास गरी मुख्यद्वार दाङ बनाउने लगायतका योजना बनाएर हामीले समग्र दाङ जिल्लाकै विकासका बारेमा सोच्नुपर्ने हुन्छ ।
थोरै प्रसंग बदलौं, यो क्षेत्रबाट यसअघि कृष्णबहादुर महराले चुनाव जित्नुभएको थियो, अहिले उहाँ रोल्पा गएपछि मान्छेहरुले विभिन्न कोणले अथ्र्याएका छन्, खास यसको कारण चाहि के हो ?
यसमा धेरै ठूलो कारण केही छैन । पार्टीले उहाँलाई रोल्पामा र मलाई दाङ क्षेत्र नं. ३ मा उठाउने निर्णय ग¥यो । यसमा अनावश्यक अड्कलबाजी गरेर दिमाग दुखाउनुको केही अर्थ छैन ।
तपाइँ जिल्ला संयोजक नै क्षेत्र लिएर चुनाव लड्दा जिल्लाभरिको संयोजन गर्न त समस्या होला नि हैन ?
त्यस्तो समस्या छैन । संयोजकको भूमिकामा म छु र प्रत्येक क्षेत्रमा जिम्मेवार कमाण्डरहरुले कमाण्ड लिइरहनु भएको छ । समस्या भन्दा पनि हामी समग्र पहलभित्रै छौं ।
यहाँहरुले जिल्लाबाट समानुपातिकका लागि सिफारिस गरेका सबै व्यक्ति बन्दसूचीमा नपरेपछि उहाँहरुमा केही असन्तुष्टि पनि होला, जिल्लाको तर्फबाट तपाइँ कसरी आश्वस्त पार्नुहुन्छ ?
समानुपातिकसम्बन्धी मेरो बुझाइ र पार्टी केन्द्रले गरेको निर्णयबीचमा केही अन्तर मैले पनि देखेको छु । समानुपातिक समुदायलाई भिजाउनका लागि हो भन्ने मेरो बुझाइ छ तर पार्टी केन्द्रलाई पार्टी पनि मिलाउनुपर्ने वाध्यता छ । सायद यही कारणले होला त्यति राम्रो निर्णय भएन ।
तर, मैले सबै साथीहरुलाई आह्वान गर्ने के हो भने यो चुनाव मात्र नभएर वर्गसंघर्ष हो । त्यसैले वर्गप्रति प्रतिवद्ध भएर मैदानमा हामी उत्रिनुको विकल्प छैन । अवसरका ढोकाहरु प्रशस्त छन्, मात्र हाम्रो वर्गले जित्नुपर्दछ ।
प्रस्तुति : नरेन्द्र केसी