दाङ, फागुन २७ । दाङमा जीप दुर्घटनामा एकै गाउँका सात जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
बा ११ च ११०८ नम्बरको जीप गएराति राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-अमिलिया सडकखण्डको धोतीफाल्ने डाँडाबाट करिब ५ सय फिट तल खस्दा फूलबारी ६ बखरियाका ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी फूलबारी गाविस वडा नम्बर ६ बस्ने १७ वर्षीय शंकर चौधरी, २२ वर्षका प्रविण खड्का, २७ वर्र्षका मधु योगी, २० वर्षका गणेश केसी, २० वर्र्षकै खड्गबहादुर डाँगी, ३५ वर्षका रवी गिरी र २८ वर्षका पूर्णबहादुर ओलीको मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी शरदकुमार खत्रीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी फूलबारी ६ घर भएका सशत्र प्रहरी मीनबहादुर बस्नेतलगायत फूलबारीकै तेजबहादुर गिरी, डिल्ली पुरी, भागवत बस्नेत, माधव रेग्मी र विशाल परियार गम्भीर घाइते हुनुभएको छ । प्रहरीका अनुसार घाइतेहरुको कोहलपुर मेडिकलमा उपचार भइरहेको छ ।
दुर्घटनापछि चालक अमिलिया प्रहरीचौकीमा पुगेर खबर गरेपछि मात्रै घटनाका बारेमा मंगलबार बिहान थाहा भएको हो ।
जीप अनियन्त्रित भएर दुर्घटनामा परेको चालकलाई उधृत गर्दै दाङका ट्राफिक प्रहरी प्रमुख सागर बोहराले जानकारी दिनुभयो ।
एकै गाउँका सात जनाको मृत्यु भएपछि फूलबारीको बखरिया शोकमा परेको छ ।
मंगलबार बिहानै घटनास्थलमा दाङका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, प्रहरी प्रमुख एसपी शरद खत्री, क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्ललगायतको टोली घटनास्थल पुगेको छ ।
दुःखद समाचार । हाम्रो सानो असावधानीले यस्ता दुःखद दुर्घटना हुन्छन् ।