कम्युनिष्ट आन्दोलन, प्रतिरोधी संस्कृति र प्यालेष्टाइन

  
  प्रकाशित मितिः मङ्लबार, साउन २७, २०७१       | 159 Views   ||

Pramod_Dhital_writterप्रमोद धिताल

गत मार्च १० देखि १४ सम्म इलाहावादमा एउटा महत्वपूर्ण विषयमा गोष्ठीको आयोजना गरिएको थियो । अरविन्द ट्रष्ट आयोजक रहेको सो गोष्ठीको शीर्षक थियो ‘समाजवादी संक्रमणका समस्याहरु ।’ विषयवस्तुको हिसाबले अत्यन्त महत्वपूर्ण सो गोष्ठी नेपालको सन्दर्भमा पनि निकै सान्दर्भिक थियो । कुहिरोको काग बनिरहेको भारतीय कम्युनिष्ट आन्दोलनभित्रै देखिने एउटा आशावादी भविष्यको झल्को त्यो कार्यक्रमबाट पाउन सकिन्थ्यो । किनकि त्यो प्रतिक्रान्ति र बिखरावको कारण बाहिर होइन, आफूभित्रै खोज्ने इमान्दारितातर्फको पाइला थियो ।

आज नेपालमा कतै शास्त्रीय माक्र्सवादको काम छैन भन्दै नवमाक्र्सवाद र उत्तर माक्र्सवादको गीत गाउने काम हुदैछ । कोही माक्र्सवादका आधारभूत प्रस्थापनामाथि टेकेरै यसको थप विकास गर्नुपर्ने कुरा गर्दैछन् । कोही नेपालमा क्रान्ति गर्ने बनिबनाउ सूत्रहरुको खोजी गर्दैछन् । कसैले भने सारवस्तुको हिसाबले माक्र्सवादलाई सम्पूर्ण रुपले परित्याग गरिसकेता पनि यसलाई राजनीतिक व्यापार धानिखाने ट्रेडमार्कको रुपमा प्रयोग गरिरहेको अवस्था छ । यो अवस्थामा माक्र्सवादी आन्दोलन आफैभित्रको समस्याचाहिं के हो त ? यसको खोजीनीति र छ्यान–पहिचान नगरिकन यस आन्दोलनलाई न त सफलतापूर्वक अगाडि बढाउन सकिन्छ न त यसकै आडमा झ्याङिएका ऐंजेरुहरुलाई मात्र सरापेर केही हात लाग्न सक्छ ।

पहिलो कुरा त विश्वक्रान्तिको इतिहासमा क्रान्तिको एउटा चक्र पूरा भएर त्यसमाथि प्रतिक्रान्ति हावी भइसकेपछि नै समाजवादी आन्दोलनभित्र थुप्रै बाह्य तथा आन्तरिक समीक्षाको निम्ति विषयवस्तु प्राप्त भएका छन् । तर, आन्दोलनको निर्माण र निरन्तरतासँगै ती कुराहरुले जति स्थान पाउनुपर्ने हो त्यो भएको पाइदैन । पहिलो, ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी शिक्षाको उज्यालोमा आफ्नो समाजको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक अध्ययन, वर्ग विश्लेषण तथा सही निष्कर्षहरुको अभाव हुनु । दोस्रो, विगतका त्याग, तपस्या, मूल्यमान्यता र अगुवाहरुले निकालेका सकारात्मक कुराहरुलाई अनुशरण गर्ने कुरामा उपेक्षा हुनु । तेस्रो, क्रान्तिकालीन समय, त्यसको निरन्तरता र सत्ता प्राप्तिपछिका अभ्यासहरुमा भएका मनोगतवादी समस्याहरुबाट सिक्ने र जोगिने कुरामा असावधानी रहनु । चौथो, संसार बदल्ने अभियन्ता र आन्दोलन स्वयं बदलिदै जानुपर्ने महासत्यलाई हरक्षण आत्मसात गर्ने कुराको उपेक्षा हुनु । पाँचौ, संघर्ष र सम्झौताको अत्याधिक दुरुपयोग हुनु । सम्झौता गर्नैपर्ने समय र सवालहरुमा निरपेक्ष संघर्षको रटान अनि संघर्ष गर्नुपर्ने सवालहरुमा सम्झौता हुनु । मुख्य गरी यिनै अन्तर्वस्तुहरुको अभावमा समाजवादी आन्दोलन आजसम्म पनि महान मूल्य, ठूलै बलिदान र त्याग तपस्याका बाबजुद पनि गोलचक्करको नियतिबाट गुज्रिरहेको छ ।

इलाहावाद गोष्ठीमा समाजवाद निर्माणको दौरानका सकारात्मक नकारात्मक सबै अनुभवको बारेमा बहस भएको थियो । स्टालिन र सोभियत समाजवाद, महान बहसका पचास वर्ष, मालेमावाद÷विचार, उत्तरमाक्र्सवाद, वोलिभारियान विकल्प, नेपाली क्रान्तिलगायतका महत्वपूर्ण विषयहरुमा कार्यपत्रहरुसहित बहस र अन्तक्र्रिया गरिएको थियो । पछिल्लो नेपाली जनयुद्ध त्यसपछिका परिणामहरुको बारेमा समेत गम्भीर प्रकारले बहसहरु भएका थिए । त्यस गोष्ठीमा उपस्थित भइरहँदा मलाई लागेको कुरा के हो भने के कम्युनिष्ट आन्दोलनभित्र जे जति समस्याहरु देखिएका छन् तिनको हल कुनै बाहिरी कारणहरुमा खोजेर सम्भव छ ? यदि छैन भने कम्युनिष्ट आन्दोलनको आत्मगत अवस्था त धेरै पिछडिएको अवस्थामा देखिन्छ । पहिले यसलाई स्वीकार नगरी धरै छैन । समाजवादी आन्दोलनको महान आदर्शअनुरुप आन्दोलनको स्तरलाई नबदल्ने तर आन्दोलनको वर्तमान स्तरअनुरुप समाजवादी आदर्शलाई कुण्ठित गर्ने समस्या नै वर्तमान खराबीहरुको मुख्य कारण हो । मैले इलाहावाद गोष्ठीबाट सिकेको प्रमुख कुरा यही हो ।

जस्तो कि माओको नेतृत्वमा चीनमा भएको क्रान्तिपश्चात् उनले चलाएको साँस्कृतिक आन्दोलनलाई कसरी हेर्ने ? चीन भित्रैदेखि लिएर बाहिर पनि एउटा ठूलो जमात महान सर्वहारा साँस्कृतिक क्रान्तिकाललाई अन्धकारका वर्षहरु ठान्दछ । त्यसभित्र बिनासभन्दा अरु केही देख्दैन । तर के सनकको भरमा माओले उठान गरेका थिए त्यो आन्दोलन ? आर्थिक आधार र राज्यसत्ता मात्र परिवर्तन गरेर समाजवाद टिकिराख्न सम्भव रै’नछ, त्यसको लागि निरन्तर अधिरचनाका क्षेत्रहरु जस्तो कि विचारधारा, रीतिरिवाज, चालचलन तथा आनीबानीहरुमा निरन्तर परिर्वनको आवश्यकता पर्दोरै’छ भन्ने कुरा नै साँस्कृतिक क्रान्तिको सार हो । मलाई लाग्छ यो कुरालाई आत्मसात नगर्ने या नस्वीकार्नेहरु वास्तविक समाजवादी या कम्युनिष्ट हुनै सक्दैनन् । तर यसबाट अरु त के आफूलाई माओका अनुयायी भन्नेहरुले पनि राम्रोसँग सिकेको देखिदैन । त्यसकारण नामको पछाडि वाद वा विचार झुण्याउँदैमा त्यसप्रति इमान्दार बनेको पुष्टि गर्न सकिदो रहेनछ । त्यसको लागि आवश्यक छ, त्यसका शिक्षा र मर्महरुलाई इमान्दारीपूर्वक आत्मसात गर्नु । अनि जीवन व्यवहारमा लागू गर्नु । बहसको नाउँमा कोठे बहस र व्यवहारको नाउँमा अन्धव्यवहार दुवै गलत हुन् । यतिखेर हामीलाई आवश्यक छ सार्थक बहस र दृष्टिकोण निर्माण अनि सोही दृष्टिकोणमा आधारित रुपान्तरण र व्यहार । यिनै कुराहरुको अभावमा नेपाली समाजवादी आन्दोलन आज फेरि रक्षात्मक अवस्थाको सामना गर्दैछ ।

समाजवादी आन्दोलन भनेको हरेक समयको प्रतिरोधी आन्दोलन हो । यो कुनै बेलाका सरकार, नेतृत्व वा अमुक सत्ताको मात्र प्रतिपक्षमा उभिने होइन कि सिंगो याथास्थितिवादी सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक संरचनाका विपरित धारामा खडा भएर वैकल्पिक संरचनाहरुको वकालत गर्छ । नेपालमा प्रतिरोधी आन्दोलन र संस्कृति यतिखेर कुन हदसम्म कमजोर भएको छ भन्ने कुराको आधार पेश गर्न एउटा उदाहरण काफी छ । यतिखेर इजरायलले प्यालेष्टाइनको गाँजामाथि आक्रमण गरिरहेको छ । सयौंको संख्यामा त्यहाँका निर्दोष नागरिक तथा बालबच्चाहरुको हत्या भएको छ । त्यसको कुनै प्रतिवाद हामीकहाँ सुनिने आवाजमा भएको छैन । यो गम्भीर प्रकारको गतिशून्यता हो । भारतीय समाजमा समेत विभिन्न साम्राज्यवादविरोधी शक्ति र समूहहरुले त्यसको विरुद्ध सशक्त प्रतिवाद गरिरहँदा हामीकहाँ त्यही हदसम्मको क्रियाशीलता पनि देखिन्न । इजरायलले प्यालेष्टाइनमाथि थोपरेको युद्धको प्रकृतिलाई अमेरिकी चिन्तक नोम चोम्स्कीले राम्रोसँग चित्रण गर्दै भनेका छन्, ‘इजरायल घना आवादीवाला शरणार्थी शिविरहरु, स्कूलहरु, मस्जिद र झुपडीवाला बस्तीहरुमाथि बम बर्साउनको लागि अत्याधुनिक जेट बिमानहरु, नौसैनिक जहाजहरुको प्रयोग गरेर यस्तो जनतामाथि आक्रमण गरिरहेछ, जोसँग न कुनै वायुसेना छ, न हवाई हमलाबाट प्रतिरक्षा, न नौसेना, न भारी हतियार, न तोपखाना, न बख्तरबन्द गाडीहरु, न कुनै सैनिक कमाण्ड न सेना त– फेरि पनि उसले यसलाई युद्ध भनिरहेको छ । यो युद्ध होइन यो हत्या हो ।’ भारतदेखि अमेरिकासम्मको राजनैतिक तथा बौद्धिक जमातमा एउटा हलचल पैदा हुँदा नेपालको बौद्धिकदेखि राजनैतिक क्षेत्रसम्म यो हदसम्मको मौनता साधिनु अनौठो कुरा हो । यसबाट नेपालको प्रतिरोधी आन्दोलन र संस्कृति कति रक्षात्मक छ भन्ने कुराको स्वतः अनुमान गर्न सकिन्छ । तसर्थ पनि अबको प्रतिरोधी आन्दोलनलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने कुराको ध्येय नै यसका अभियन्ताहरुमा हुनुपर्ने देखिन्छ । किनकि प्रतिरोधी आन्दोलनको अगुवाई कम्युनिष्ट आन्दोलनभन्दा बाहिरबाट हुन असम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *