कमरेड हिक्मत गोठालो

  
  प्रकाशित मितिः मङ्लबार, साउन २७, २०७१       | 184 Views   ||

Nabin bibhas-[नवीन विभास]

‘ठूलाबालाई कस्तो छ हँ,’ फोनमा सोधेछु, उदय जीएमलाई ।

‘ठूलाबा त कालापार (भारत) पो जानुभएको छ त,’ उदयजीको जबाफ ।

रोजीरोटीको लागि कहिल्यैHikmat_3 भारत जान नपरोस् भनेर ढुंगा मन्साएर जनयुद्धमा लागेका थिए, ठूलाबा । अचेल कालापारे संस्कृति तन्किएर साउदी अरब र मलेसिया पुगेको छ ।

बूढ्यौलीले मुजा परेको ठूलाबाको अनुहारसित हजारौं निश्चल अनुहार आँखामा आए जो सपनाको याम आउनुअघि नै स्कुले झोला थन्क्याएर क्रान्तिमा लागेका थिए । ती अनुहार आए जो सुन्दर सपनाको पछि लागेका थिए, कोही बारी जोत्दाजोत्दै त कोही भारी बोक्दाबोक्दै । र, जिन्दगीको सिरीखुरी सुम्पेका थिए । तिनै इमान्दार माओवादी नेता र कार्यकर्ता ‘कहिल्यै फर्कन नपरोस्’ भनेर माया मारेका उही जिन्दगीमा फर्कन बाध्य थिए, ठूलाबाजस्तै ।

छक्कापन्जावाल माओवादी नेता र कार्यकर्ता भने गाउँमा ‘ठालु’को स्थान र सहरमा ‘दलाल’को स्थान ओगटिसकेका थिए ।

‘ठूलाबा पार्टीको कुन तहमा हुनुहुन्थ्यो र ?’

‘जिल्ला समितिमा ।’

नेपालमा माओवादी आगो दन्केको बेला दाङको खरबारीमा पसेका थिए, ठूलाबा । र, उदयजीले जानकारी गराएका थिए, ‘ठूलाबा त भूमिगत हुनुभयो ।’

कहिले पश्चिम दाङ त कहिले दाङको पहाडी गाउँतिर ठूलाबाको कार्यक्षेत्र सरेको सुनाउँथे उदयजी । जनयुद्धको जगजगीभर सकुशल रहेको समाचार सुनाएथे । जति चुनौती खेपे पनि दुनियाँ बदल्ने क्रान्तिमा बूढ्यौली जिन्दगी सुम्पेकोमा ठूलाबा सन्तुष्ट रहेको अवगत गराउँथे ।

जनयुद्ध उकालिदै गरेको यामको एउटा तिहार । जुन बेला सहर र सदरमुकामबाहेक सिङ्गै नेपाल माओवादीमय थियो । त्यै तिहारमा उदयजीसित पुगेका थियौं, ठूलाबाको घरमा । ठूलाबा कार्यक्षेत्र जाने हतारमा थिए । हतारमै सञ्चो–बेसञ्चोका दुईचार बात भएथे । घरले जा र बनले आ भन्ने उमेरमा पनि ठूलाबाको अनुहारमा फुलेको जोश देखेर अचम्मित थियौं । ठूलाबाको अनुहारमा सामान्य छनक पनि थिएन कि जनयुद्ध यसरी दुई थान प्रधानमन्त्री र केही थान मन्त्रीसँग साटिनेछ । र, जनयुद्धको पनि यसअघिका नेपाली आन्दोलनकै हविगत हुनेछ ।

अँ, उदयजीलाई एक दिन फोनमा सोधेछु, ‘ठूला बालाई कस्तो छ ?’

शान्तिप्रक्रियापछि बलिदान गरेका र इमान्दार माओवादी नेता र कार्यकर्ता घर न घाटमा थिए । अरबका खाडीमा जानेको लाम थियो । तर, ठूलाबाको उमेरमा भने भारतमा कुल्ली काम गर्न जाने बाध्यतासमेत असामान्य थियो ।

‘उही झोला, उही लुगामा र उही अनुहारमा घर फर्कनुभएको थियो, ठूलाबा भत्किएका सपना बोकेर । ठूलाबाका नेताले दाङका जिम्दारलाई टक्कर दिएका थिए । तर ठूलाबा झन दुब्लाउनुभएको थियो । घरमा रोजीरोटीको समस्या हिजोभन्दा झन चुलिएको थियो । कहाँ जानु, उही पुरानै ठाउँ जानुभयो,’ उदयजीको कुराले फेरि दुःखी बनायो ।

१० वर्षपछि ठूलाबा भारतको पञ्जाबस्थित बठिण्डा फर्किए जहाँ उनले ढुंगा मन्साएर नेपाल फर्केका थिए जनयुद्धमा होमिन । र, ६० वर्षीय पूर्णबहादुर घर्ती मगर भएथे कमरेड हिक्मत गोठालो । जनयुद्धको समाप्तिपछि प्रचण्ड र बाबुराम भटराई प्रधानमन्त्री बने । कृष्णबहादुर महरासहित केही थान माओवादी नेता मन्त्री बने । माओवादी मूल नेतृत्व र नेता रुपान्तरित भए हिजोका शासकका नयाँ संस्करणमा । तर, हजारौं कार्यकर्ता र सयौं माओवादी नेताजस्तै कमरेड गोठालो भने फेरि बठिण्डा पुगे । र, कमरेड हिक्मत गोठालो फेरि पूर्णबहादुर घर्ती मगर भए ।

आँखामा तिनै अनुहार आए जो जनयुद्धमा आफ्नो जिन्दगीका सबै यौवन चढाएर बूढा भएका थिए ।

‘ठूलाबालाई के भन्यो होला जिम्दारले ? गद्देको देशमा कसरी सम्हाले होलान् आफूलाई ? भत्केको सपना बोकेर कालापार जाँदा के भन्यो होला ठूलाबाको मनले,’ कल्पेरसमेत झस्किएँ ।

बित्न नमानेका दिन उसैगरी बितिरहेका थिए । एक दिन फोनमा उदयजीले जानकारी गराए, ‘ठूलाबाको लेख छ, काठमाडौंमा छाप्दिनू ।’

अनि ?

काठमाडौंमा छाप्ने आग्रहसहित इमेलमा पठाए ।

ठूलाबाको लेख पढेंः जनताले भन्थे– माओवादी कार्यकर्ताले हामै्र लागि दुःख उठाएका छन् । त्यसैले मुक्तिदाता मानेर आफ्नै गास खुवाए । आफ्नै ओछ्यानमा सुुताए । र, दुश्मनबाट जोगाए । कार्यकर्ताले भन्थे– नेता त विचार र योजना हो । नेताबिना हामी त दिशाविहीन भएर सकिन्छौं । नेताले भन्थे– कार्यकर्ता त क्रान्तिका पेच र किला हुन् ।

…तर अहिले ? नेताका आँखामा कार्यकर्ता घा“डो र कार्यकर्ताका आँखामा नेता धोकेबाज र बेइमान । जनताका आँखामा ढाँट । कारणः नेता जनताकोमा जाँदैनन्, स्वदेशी या विदेशी प्रभुकोमा जान्छन् । त्यसैले आकाशबेलीझैं जेलिएको छ अविश्वास ।

हजारौं कार्यकर्ता र जनता भविष्यको खोजीमा छट्पटाइरहेछन् जो हिजो नेतृत्वको निर्देशनमा मर्न तम्सिएका थिए । जिन्दगीका सबै खुसी चढाएका थिए । र, शरीरका अंग चढाएका थिए । भन्थ्यौं, एकपटक हतियार उठाएपछि अन्त्यसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्ष थाल्नु जनताप्रति अपराध हो । भन्थ्यौं– लडाईं आंशिक सुधारका लागि सम्झौतामा टुंग्याउने साधन बन्न दिने छैनौं । र, परिवार र नातागोताका इच्छाविपरित कुम्लाकुम्ली बोकेर चे ग्वेभाराझैं संसार जित्ने सपथ खाएर हिंडेका थियौं– ‘हामी मारिन सक्छौं र पार्टी पूरै सहिद बन्न सक्छ । तर, विजययात्रा रोकिने छैन ।’

ओ कमरेड ! भन, क्रान्ति जारी छ कि अन्त्य भयो ? जारी छ भने हामी किन बेकम्मा बनाइएका छौं ? अन्त्य भएको हो भने के पाए नेपाली जनताले ? जबाफ देऊ, मुक्तियुद्धमा आहुति दिने ती वीर सहिद हुन् कि मरेका मान्छे ? घाइते साच्चै जनक्रान्तिका योद्धा हुन् कि अपाङ्ग मात्र ? यी तस्बिर बलिदानका कीर्तिमान हुन् वा खरानीको थुप्रो ? भविष्यका चिन्ताले सिन्काजस्तै फुकिढल जो संयोगले नमरेका हजारौं कार्यकर्ता जिउँदा लास हुन् कि जनयुद्धका अमर योद्धा ?

गरिखाने वर्गप्रति इमान्दार ए कमरेड ! कहिले जाने सडकमा बेवारिसे क्रान्तिलाई बचाउन ? तयार छ कमरेड हिक्मत गोठालो, बाँकी जोवन चढाउन ।

उदयजीलाई थाहा छ, ठूलाबाको लेख काठमाडौंले छाप्दैन । आफ्नै पार्टी र आफ्नै नेताले भुलेका कार्यकर्ताको लेखेको कटु सत्य कहाँ छाप्नु काठमाडौंले । ठूलाबाको लेख न माओवादीले छाप्नेखाले छ न त काठमाडौंले ।

ठूलाबाको लेख इमेलमै थन्किएको छ ।

बेला–बेलामा इमेल खोल्छु गम्दै कि कहिले फेरिएला काठमाडौं ठूलाबाको लेख छाप्नेगरी ? अनि उदयजीलाई सोध्छु, ‘ठूलाबालाई कस्तो छ ?’

जबाफको आशमा छु, ‘ठूलाबालाई सन्चै छ । आफूले चढाएको बाँकी जोवनले जनताको अनुहार फेरिएकोमा ठूलाबा मक्ख हुनुहुन्छ ।’

बस्, जबाफको आशमा छु, जुनबेला नेपालमा समाप्त भइसकेको हुनेछ दुईचार थान प्रधानमन्त्री र केही थान मन्त्रीको लेनदेनमै टुंगिने आन्दोलनका सिलसिला । र, फुल्नेछ क्याप्टेन यज्ञबहादुर थापा, रत्नकुमार बान्तवा, पुर्खे सुनार, कुमारी बुढा मगर र हिक्मत गोठालोका सपना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *