पत्रकार बर्दीविहीन सिपाही | नरेन्द्र केसी

  
  प्रकाशित मितिः मङ्लबार, साउन २७, २०७१       | 150 Views   ||

Narendra_kc_1नरेन्द्र केसी
सह–सम्पादक नयाँ युगबोध दैनिक

पत्रकारिता के हो, पत्रकार को हो ?

गहन जिम्मेवारीसहितको सेवामूलक पेसा हो । दाम नहुँदानहुँदै पनि नामको पछाडि दौडिएर यही सेवामा रमाउने सेवकहरु हुन् पत्रकार ।

तपाईंले कहिलेदेखि पत्रकारिता थाल्नुभयो ?

रहर साट्न २०५७ सालदेखि । आंशिक पत्रकारको रुपमा २०५९ देखि । पूर्णकालीन पत्रकार २०६१ देखि ।

पत्रकारिता गर्दाको उल्लेख गर्नुपर्ने क्षण ?

धेरै छन् । २०६० सालमा रोल्पाको थवाङमा पुगेर निरन्तर समाचार प्रकाशन गर्दा तत्कालीन सरकार नै तरंगित हुन पुगेको थियो । थवाङमा माओवादीको घुम्ती मेडिकल कलेज उद्घाटनको समाचार छापिएपछि त्यही दिन तत्कालीन शाही नेपाली सेनाका पृतनापति रुक्मांगत कटवालले नेपालगञ्जमा पत्रकार सम्मेलन गरी त्यसको खण्डन गरेका थिए ।

२०६२ सालमा सल्यान थारमारेमा भएको माओवादी जनसभामा पुगेर समाचार प्रकाशन गरेकै दिन घोराहीस्थित शाही नेपाली सेनाका कर्णेलले बोलाएर सोधीखोजी (यद्यपि उनले नराम्रो व्यवहार गरेनन्) गरेको क्षण । आदि ।

तपाईंले लेखेको कुनै समाचारले समाजलाई पारेको प्रभाव ?

एउटा मात्र घटना लिनुपर्दा म गत बर्षको उत्तराखण्ड प्रकरणलाई नै लिन्छु । भारतको उत्तराखण्ड कमाउन गएकाहरु कयौंको संख्यामा बेपत्ता हुँदासम्म पनि चुँसम्म नबोलेको नेपाल सरकार र भारतस्थित नेपाली दूतावासलाई यसबारे गम्भीर बनाउन मैले बलबुताले भ्याएजति मेरो लेखनलाई उपयोग गरें । एक बर्षको लडाइँपछि बल्ल नेपाल सरकारले बल्ल उनीहरुको खोजी तथा राहतका लागि भारतसँग पहल थालेको छ ।

पत्रकारिता र समाजबीचको सम्बन्ध ?

नङ र मासुजस्तै भन्नुस् न । समाजबाट लिने समाजलाई नै दिने काम पत्रकारिता भएकाले यसलाई जसरी पनि अथ्र्याउन सकिन्छ ।

एउटा पत्रकारको जीवन ?

व्यस्तताभित्र सहजता खोज्ने । बर्दीविहीन सिपाही भन्नुस् न । सिपाहीको पनि अझ निश्चित समयको ड्यूटी हुन्छ तर पत्रकारको कुनै समयसीमा नै हुँदैन ।

पत्रकारिता पेसालाई कति माया गर्नुहुन्छ ?

श्रीमतीलाई जति त भन्न मिलेन । तर, खाने र सुत्ने छाडेर पनि यही पेसामा व्यस्त भइन्छ भने माया नगरेर के गर्नु ? जुन काममा समर्पित भइन्छ, त्यसलाई त माया गर्नैप¥यो नत्र त मन नपरेका दुलाहा–दुलहीको जस्तो अवस्था आउला त !

सूचना प्रविधिभन्दा टाढा रहनुपर्दा कस्तो महसुस गर्नुहुन्छ ?

राति सुतेको बेलामा जस्तो । सुतेपछि त केही थाहा पाइदैन नि हैन ?

तपाईंले आफ्नी श्रीमतीसँग अन्तर्वार्ता लिनुपर्ने भयो भने पहिलो प्रश्न के गर्नुहुन्छ ?

मेरो कामकाजबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? भनेर सोध्छु ।

तपाईं के भएर चिनिन चाहनुहुन्छ, पत्रकार वा समाजको सचेत नागरिक ?

पत्रकार समाजको सचेत नागरिक नै हो, त्यसैले पत्रकार भनेर चिनिए यो सचेत रहेछ भनेर चिनिहालिन्छ ।

पत्रकार भएकै कारण भोग्नुपरेको कुनै एउटा पीडा वा घटना ?

संकटकालमा रुकुममा पत्रकारिता गर्दा सेनाका जवानले दुई बालकमाथि अप्राकृतिक यौन दुव्र्यवहार गरेको समाचार लेख्दा १५ दिन जिल्ला छाड्नुपरेको थियो ।

एउटा पत्रकारले समाजप्रति निर्वाह गर्नुपर्ने दायित्व ?

मेरो विचारमा पत्रकार बन्ने भनेकै पूर्णरुपमा समाजप्रति समर्पित हुने कुरा हो । न गतिलो पैसा, न अन्य केही सेवा सुविधा बरु थोरै कमजोरी हुँदा पनि अपजसको भारी बोक्नुपर्छ । यी सबै चुनौतिका बीच पनि पत्रकारले लिने भनेकै समाजको माया हो । समाजलाई सहीरुपमा बुझ्ने र रुपान्तरणका लागि प्रयत्न गर्ने इमान्दारिता नै पत्रकारको दायित्व हो । रुपान्तरण हुन्छ हुँदैन फरक कुरा हो तर हामी सामाजिक दायित्वप्रति इमान्दार बन्नैपर्छ ।

प्रस्तुति : अजयदीप

Leave a Reply

Your email address will not be published. Required fields are marked *