बेथिति | विनोदविक्रम केसी

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 167 Views   ||

Binod_bikram_kcप्लास्टिकको डङ्गुरमा निमग्न चरिरहेछन्
दूध दिन छाडेपछि लखेटिएका गाईहरु
सन्ततिले त्यागेका वृद्ध आमाबाउहरु
सडकपेटीमा मागिरहेछन् भीख
आफू भूतले खाजा खाने बेलामा
जन्मेका ठान्ने बेरोजगारहरू
खाइरहेछन् उधारोमा अपमानको चिया–चुरोट,
किशोरहरु नाडी काटेर
राम्रो बैंसको पहिलो प्रेमपत्र लेखिरहेछन्
स्ट्याचू अफ लिबर्टीलाई
असलभन्दा असल दिल भएका प्रेमीहरुलाई
निर्वासनमा पठाएर
एटीएमहरु कब्जा गरिरहेछन् प्रेमसत्ता
मान्छे हुनुको अहम्भन्दा
आलु हुनुको घमण्ड महङ्गो भएपछि
गृहिणीहरु रोइरहेछन् रगतको आँसु
कर्पाेरेट कमरेडहरु हेरिरहेछन् बङ्गलाको बार्दलीबाट
शरीरमा गोली अड्केका पूर्वछापामारहरुको रुवाबासी
चे ग्वेभाराको तस्बिर अङ्कित टिसर्ट लगाएर
मजदुरहरुसँग हप्ता उठाइरहेछन् गुन्डाहरु
दूधलाई अङ्गार र अङ्गारलाई दूध बनाउन माहिर
सार्वजनिक बुद्धिजीवीहरु
गरिरहेछन् हाँस्यास्पद बहस–
किन बनेन देश ?

र, मेरो छोरो बनाइरहेछ देशको नक्सा
(गरिरहेछ गृहकार्य ऊ
चुपचाप–चुपचाप गरिरहेछ आफ्नो काम
र, उसको कापीमा
कम्तीमा देशको नक्सा त बनिरहेको छ)

र, हेरिरहेछु म
छोराले बनाएको देशको नक्सा
आफ्ना डिब्बामा केवल धूर्तहरुलाई समेटेर
छुट्न लागेको रेलगाडीजस्तो देश
अथवा, अन्तर्राष्ट्रिय तस्करको झोलाभित्र बन्दी
गैंडाको खागजस्तो देश
थिति नबसेको देश
यस्तै–यस्तै देखिइन्छ सायद

देशको तकदिर लेख्न
पलेटी कसेर बसेका छन्
नौटङ्कीबाजहरु
तर, तय छ–
घोगामा कसको नाम हुनेछ ?
खोस्टामा कसको नाम हुनेछ ?

यस्तो बेथितिबीच
भोलि जन्मने शिशुले
सम्भवतः तीनवटा अश्लील गालीबाट
सुरु गर्नेछ आफ्नो जिन्दगी
देशका नाममा
बाउआमाका नाममा
र, स्वयम्का नाममा

अश्लील गालीबाट सुरु हुने जिन्दगी
अन्ततः के हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *