हामी पत्रकार, पत्रकारिता र परिवर्तनका एजेण्डामा केन्द्रित छौं

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 286 Views   ||

Mahendra_bistडा. महेन्द्र विष्ट,
(अध्यक्ष) नेपाल पत्रकार महासंघ, केन्द्रीय समिति

अहिले नेपाली पत्रकारिताको मुल टे«न्डबारे बताइदिनुहोस् न ?

नेपाली पत्रकारिता लामो समयसम्म मिसन पत्रकारिताको बाटोमा हिड्यो । त्यो पत्रकार या पत्रकारिता क्षेत्रको चाहना वा अज्ञानताले नभई राजनीतिक परिवेशले निर्देशित गरेको यात्रा थियो । राणा शासन मात्र नभई पञ्चायतीकालभरि त्यो अवस्था रह्यो । २०४६ सालमा जनआन्दोलन सफल भई प्रजातन्त्रको पुनःस्र्थापना भएसँगै प्रेस स्वतन्त्रता र नागरिक हक अधिकारका लागि धेरै हदसम्म संवैधानिक ग्यारेन्टी भएपछि नेपाली पत्रकारिताले व्यावसायिक पत्रकारिताको अभ्यास सुरु ग¥यो ।

२०५२ सालमा माओवादी जनयुद्धको प्रारम्भ भएसँगै नेपाली पत्रकारितामा नयाँ वहस सुरु भयो । पत्रकारिताको अभ्यास पनि फरक–फरक ढंगबाट हुन थाल्यो । व्यावसायिकता र मिसन पत्रकारिताको सन्दर्भमा आ–आफ्नै खालको बुझाइ रह्यो । २०६१ माघ १९ गते प्रजातान्त्रिक प्रणालीमाथि असंवैधानिक हस्तक्षेप गरेर शाही शासन लादिएपछि मुलुकमा फेरि समग्रतामै मिसन पत्रकारिताको अभ्यास सुरु भयो । अहिले लोकतन्त्रको स्थापनासँगै सशस्त्र द्वन्द्व पनि अन्त्य भएको छ र मुलुकमा व्यावसायिक अभ्यास पनि सुरु भएको छ । यद्यपि यो संक्रमणमै छ । यसभित्र थुप्रै जटिलताहरु छन् । थुप्रै चुनौती छन् । र, प्रशस्त अवसरहरु पनि छन् ।

तपाईं पत्रकार महासंघको अध्यक्ष हुनुहुन्छ, बाहिरबाट हेर्दा र नेतृत्वमा रहँदा पत्रकारहरुको अवस्थाका बारेमा के—कस्तो भिन्नता पाउनुभयो ?

बाहिर र भित्र जताबाट हेरे पनि देखिने एउटा साझा कुरा के हो भने नेपाली पत्रकारहरुको पेशागत र भौतिक सुरक्षा अवस्था एकदमै कमजोर छ । धेरैको हातमा नियुक्ति–पत्र छैन । उचित पारिश्रमिक छैन । तोकिएको पारिश्रमिक पनि समयमा पाउने अवस्था छैन । सामाजिक सुरक्षा टाढाको कुरा भएको छ । कार्यथलो सुरक्षित छैन । अधिकांश समाचार कक्ष व्यवस्थित छैनन् । सबैभन्दा मुख्य कुरा सञ्चार प्रतिष्ठानहरुले जनशक्ति व्यवस्थापन गर्न सकेकै छैनन् ।

अझ सिधा भन्ने हो भने नेपालका सञ्चार प्रतिष्ठानहरु श्रममैत्री हुन सकेकै छैनन् । यसको पहिलो मार सञ्चारकर्मीलाई परेको छ भने दोस्रो मार स्वयं सञ्चार प्रतिष्ठानलाई परेको छ । त्यसैगरी सम्पादकीय स्वतन्त्रता, व्यक्तित्व विकास र दक्षता अभिवृद्धिजस्ता अन्य थुप्रै समस्याहरु पनि छन् । म निरन्तररुपमा समाचार कक्षमा रहेर फेस गरिरहेका यी समस्याहरु अहिले महासंघको नेतृत्वमा रहेर हेर्दा सोचेभन्दा झन जटिल रहेको देखिरहेको छु ।

यहाँको कार्यकालको मुख्य उद्देश्य के छ ?

यसैले पनि हामीले हाम्रो कार्यकालको मुख्य प्राथमिकता श्रमजीवी पत्रकारहरुको हकहितलाई बनाएका छौं । उनीहरुको भौतिक सुरक्षा पनि उत्तिकै प्राथमिकतामा छ । महासंघमा शुद्धिकरण र महासंघको सुदृढीकरण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको दक्षता अभिवृद्धि, साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धन, संविधान निर्माणमा सहजीकरणजस्ता थुप्रै कुराहरु छन् ।

पत्रकार महासंघको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले के—कस्ता निर्णयहरु लिएको छ नि ? बताइदिनुहोस् न ?

महासंघले मूलतः अघि भनेका विषयहरुलाई नै प्राथमिकताका साथ र समयावधि तोकेर पूरा गर्ने गरी नीतिगत र कार्यक्रमगत निर्णयहरु गरेको छ । हामीले पत्रकार महासंघलाई साँच्चिकै श्रमजीवी पत्रकारहरुको हकहित गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रवद्र्धन गर्ने, मिडिया उद्योगको व्यावसायिक विकास गर्ने र सामाजिक क्षेत्रमा सशक्त र अगुवा नागरिक संस्थाको रुपमा काम गर्ने संस्थाको रुपमा अघि बढाउन आगामी तीन वर्षको समयलाई केन्द्रित गर्नेछौं । हामी पत्रकार, पत्रकारिता र परिवर्तनका एजेण्डामा केन्द्रित छौं । अहिलेसम्मको अवस्थाको आधारमा भन्ने हो भने त्यो कुरामा आशावादी हुने ठाउँ बनेको छ जस्तो मलाई लाग्छ ।

जस्तै ? के उपलब्धि भए यो अवधिमा ? अहिलेसम्म के के गर्नुभयो ?

हामी निर्वाचित भएर पद हस्तान्तरण भई काम सुरु गरेको बल्ल १० हप्ता हुँदैछ । यस बीचमा हामीले हाम्रो नीतिगत अवधारणा सार्वजनिक गरिसकेका छौं । प्राथमिकता र कार्यक्रम पनि समय किटान गरेरै निर्धारण गरेका छौं । दुई वटा केन्द्रीय समिति बैठक भएका छन् । सरकारलाई हाम्रो अवधारणा बुझाएका छौं । श्रमजीवी पत्रकारको विषयलाई बहसमा ल्याएका छौं । साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनका लागि मद्दत होस् भनेर अरुले माया मारिसकेको लोककल्याणकारी विज्ञापनबापतको २५ प्रतिशत वृद्धि रकम गत वर्षको साउनदेखि नै भुक्तानी पाउने व्यवस्था मिलाएका छौं ।

पत्रकारको तालिमका लागि राष्ट्रिय तहको आमसञ्चार प्रशिक्षण प्रतिष्ठान खोल्ने अवस्था बनेको छ । चाँडै नै पत्रकारको दुर्घटना बीमा र द्वन्द्वपीडित पत्रकार कल्याण कोष कार्यान्वयन गराउने तयारी भएको छ । पत्रकारलाई तालिमका कार्यक्रम चलिरहेका छन् । संगठन सुदृढीकरण र शुद्धिकरण अभियान चलाउने प्रयास भइरहेका छन् । पत्रकारलाई समस्या परेका ठाउँमा महासंघ तुरुन्तै भेटिने विश्वास जागेको छ । यति छोटो अवधिमा यतिका काम हुनु उपलब्धि हैन र ?

अनि, अदालतको अवहेलनासम्बन्धी विधेयकचाहिं के हुँदैछ नि ?

यसमा पनि उपलब्धि भएको छ । महासंघको निरन्तरको लबिङ र छलफलपछि सरकार अब त्यो विधेयकलाई सार्वजनिक छलफलमा लगेर मात्र प्रक्रिया अघि बढाउन सहमत भएको छ । महासंघकै कारण यो विधेयक नेपालको संसदीय अभ्यासमा पहिलो पटक जनताको रायका लागि राजपत्रमा छापिएर छलफलमा जाने स्थिति बनेको छ ।

सरकारले अहिलेको बजेटमा पत्रकारका हकहितका पक्षहरुलाई कत्तिको समेट्न सकेको छ ? सरकारको यो बजेटप्रति महासंघको धारणा वा प्रतिकृया के छ ?

नीति तथा कार्यक्रम हचुवाको भरमा आएको थियो । हामीले त्यसमा आपत्ति जनायौं र बजेटमा त्यही अवस्था आउन नपाओस् भनेर लबिङ बढायौं । यसले प्रशिक्षण प्रतिष्ठान स्थापना, बीमा, द्वन्द्वपीडित पत्रकारको कल्याण, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण (पीएसबी)मा लैजाने लगायतका कतिपय हामीले उठाएका कुरालाई समेटेको छ । हामीले यसको स्वागत गरेका छौं र त्यसलाई छिटो कार्यान्वयनमा लैजान आग्रह गरिरहेका छौं ।

नागरिक अगुवा संस्थाको रुपमा पनि चिनिदै आएको पत्रकार महासंघले समयमै संविधान निर्माण गर्नको लागि संविधान सभालाई के—कस्तो दबाब दिइरहेको छ त ?

हामी यसमा पनि सचेत छौं । तोकिएको समयमै संविधान बन्नुपर्छ र त्यसले द्वन्द्व बढाउने हैन, समाधानको काम गर्नुपर्छ भन्नेमा हाम्रो स्पष्ट मत छ । नयाँ संविधान तोकिएकै समयमा बनाउन र त्यसमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक हकलाई प्रत्याभूत गराउन एवं परिवर्तनका एजेण्डालाई संस्थागत गराउन आवश्यक सबै भूमिका खेलिरहेका छौं, खेलिरहने छौं ।

राजनीतिक क्षेत्रलाई जस्तै अहिले पत्रकारिता क्षेत्रलाई पनि औंला ठड्याउने प्रवृत्ति बढ्दै गइरहेको छ नि, किन होला ?

यसमा अलि–अलि पत्रकारितालाई आफूले चाहेको बाटोमा या आफ्नो स्वार्थमा प्रयोग गर्न नपाउँदाको छटपटीले काम गरेको छ ।

अलि–अलि हाम्रो कमी कमजोरी र गैरव्यावसायिक हर्कतले काम गरेको छ । हाम्रो साइडको कमजोरीलाई हामीले महसुस गर्नुपर्छ र त्यसलाई सुधार्न इमान्दार प्रयास अघि बढाउनुपर्छ भन्ने मलाई लाग्छ । यसको दुरुपयोग गर्न खोज्नेसँग डटेर मुकाविला गर्नुपर्छ । महासंघ यसमा सचेत छ ।

अहिले पत्रकारिता क्षेत्रमा देखिएका गम्भीर चुनौतीहरु के हुन् ?

थुप्रै छन् । त्यसमा पनि सबैभन्दा मुख्य श्रम समस्या रहेको छ । प्रेस स्वतन्त्रता, पत्रकारिताको व्यावसायिक विकास, सामाजिक मर्यादा, सम्पादकीय स्वतन्त्रता, राज्यले हेर्ने दृष्टिकोण, पुराना नीति र ऐन कानुन, पूर्वाधार, भौतिक सुरक्षा, सीप साधन र क्षमताजस्ता पक्षहरु नै प्रमुख रहेका छन् ।

यहाँले मध्यपश्चिम क्षेत्रको पत्रकारितालाई कसरी हेरिरहनुभएको छ र यहाँको पत्रकारिताको विकासका लागि केन्द्रले के—कस्तो सहयोग गर्न सक्छ ?

मध्यपश्चिम क्षेत्र राजनीतिक जागरणमा जति अघि छ, पत्रकारिताको व्यावसायिक विकासमा त्यही ढंगले अघि बढ्न नसकिरहेको हो कि जस्तो लाग्छ । यो भेगमा पत्रकारिताका कतिपय केन्द्रहरु छन् तर राजधानीलाई धक्का दिन सक्ने तहमा विकासित हुन सकेका छैनन् । पत्रपत्रिका धेरै छन्, तैपनि फराकिलो मात्रामा संस्थागत हुन मुस्किल भइरहेको छ ।

तुलनात्मकरुपमा रेडियो अलि बढी प्रभावी देखिन्छन् । टीभीतर्फ खासै प्रगति हुन सकेको छैन । नयाँ मिडियातिर पनि बिस्तारै हात अघि बढिरहेका देखिन्छन् । यो भेगमा धेरै पुराना वरिष्ठ पत्रकारहरु हुनुहुन्छ । नयाँ र उत्साही पत्रकारको पंक्ति पनि ठूलो छ । अब त्यसलाई यो क्षेत्र, राष्ट्र र समग्रतामा पत्रकारिता जगतकै शानका रुपमा कसरी अघि बढाउने भन्ने सोच्न जरुरी छ । यस सन्दर्भमा महासंघ केन्द्रले आफ्नो तर्फबाट गर्नुपर्ने योगदानका लागि स्रोत साधनले भ्याएसम्म पछि हट्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।

अन्त्यमा यहाँको पत्रकारिता, पत्रकार र आम समुदायलाई पत्रकारको नेताको हैसियतले के भन्न चाहनुहुन्छ ?

सबैभन्दा पहिले हामीले हाम्रो देश र यहाँका जनताप्रति भरोसा राख्नुपर्दछ । यो मुलुकको भविष्य उज्ज्वल छ भन्ने विश्वास लिनुपर्दछ । र, त्यो भरोसा र विश्वास सार्थक हुने कुरा अरु कुनै नेता या विदेशी हैन, तपाईं हामीमै निर्भर रहन्छ भन्ने बुझ्नुपर्दछ । वास्तवमा यदि स्वर्ग कतै छ भने यही नेपाल हो त्यो भूमि । मरेपछि स्वर्ग पुग्ने कुनै ग्यारेन्टी छैन तर कर्म गरे यहीं स्वर्ग भेटिन्छ । यो माटो या कसैलाई गाली गरेर समय नफालौं । हामीले आँटे बन्छ, आ–आफ्नो क्षेत्रबाट इमान्दारीपूर्वक लागौं यही भन्न चाहन्छु ।

प्रस्तुति : अजयदीप शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *