अक्षरको पेशा साह्रै गजब | दुर्गालाल केसी

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 157 Views   ||

Durgalal kc photo– दुर्गालाल केसी
उपसम्पादक, कान्तिपुर दैनिक

पत्रकारिताबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

पत्रकारिताबाट पूर्णरुपमा सन्तुष्ट छु । यसमा असन्तुष्ट हुनुपर्ने कुरा केही छैन । मैले पत्रकारिताका १३ बर्ष निकै उपलब्धिमूलक रुपमा बिताएको छु । मैले जीवनमा पाएको थोरै खुशी र सन्तुष्टिमध्ये अधिकांश भाग पत्रकारितामै छ ।

पत्रकारिता रहर कि बाध्यता ?

पत्रकारिता बिल्कुल रहर हो । यसमा कुनै बाध्यता छैन । पत्रकारिता मात्रै होइन कुनै पनि पेशा बाध्यताले गर्नु हुँदैन । बाध्यताले गरिने पेशामा सन्तुष्टि हुँदैन, काममा गुणस्तर हुँदैन । रहरै रहरमा गरिने पेशामा नै सन्तुष्टि मिल्छ । जीवन सुखी हुन्छ ।

तपाईंलाई कस्तो खालको रिपोर्टिङ गर्न रुचि लाग्छ ?

मलाई खोजी पत्रकारिता गर्न रुचि लाग्छ र गर्दै आएको छु । मलाई दुनियाँ बेखबर रहेका बिषय खोज्न मन लाग्छ । निकै कठिन र विकट ठाउँ चहार्न मन लाग्छ । निकै जोखिम मोलेर, ज्यानको बाजी राखेर रिपोर्टिङ गर्न मन लाग्छ । अनि मैले लेखेका समाचारले केही न केही प्रभाव पारोस् भन्ने लाग्छ । औपचारिक कार्यक्रम र समाचारमा मलाई शुरुदेखि नै रुचि भएन ।

आजका पत्रकारहरुमा विषयगत ज्ञान चाहिन्छ कि पर्सनालिटी ?

बिषयगत ज्ञान चाहिन्छ, नैतिक मूल्यमान्यता चाहिन्छ । राम्रो पत्रकारिता गर्दा पर्सनालिटी आफै बन्दै जान्छ । चिटिक्क परेर पत्रकार बन्ने होइन । पत्रकारिता गर्नेले राम्रो रिपोर्टिङ गर्न र मिठो भाषामा लेख्न जान्नुपर्छ । आम पाठकको ध्यान तान्न सक्ने बिषयवस्तु र प्रस्तुति चाहिन्छ । लेख्नका लागि लेख्ने होइन, बिषयवस्तुमा केही न केही दम चाहिन्छ ।

अक्षर लेखेर मात्र पत्रकारको जीवन चल्न सक्छ ? तपाईंलाई के लाग्छ ?

गजबले चल्न सक्छ । यसमा निराश हुनुपर्ने कुनै कारण छैन । पत्रकारिता गुणस्तरिय हुने हो भने जीवन चल्न गाह्रो छैन । हामीले अक्षर लेखेर आर्जन गरेको नामले अन्य क्षेत्रमा समेत अवसर प्राप्त हुन्छन् । त्यसैले यो अक्षरको पेशा साह्रै गजबको छ ।

सजिलो के हुन्छ लेख्न कि पढाउन ?

सजिलो त दुबै छैनन् । दुबै काममा मेहनत चाहिन्छ । तुलनात्मक रुपमा भन्दा लेख्नेभन्दा पढाउने काम सजिलो छ ।

पत्रकारका लागि नभई नहुने गुण ?

पत्रकार हुनका लागि मेहनत, नयाँ–नयाँ कुरामा खोज अनुसन्धान, नयाँ सोच र कामप्रतिको निरन्तर लगावजस्ता गुणहरु जरुरी हुन्छ ।

पत्रकारिता गर्दा तपाईंले सबैभन्दा बढी प्रशंसा पाएको क्षण ?

मैले नेपाल भारत सिमा क्षेत्रका जनताले पाएको सास्ती र कष्टकर जीवनका बिषयमा गरेको एक्सक्लुसिभ रिपोर्टिङबाट धेरै प्रशंसा पाएँ । त्यस रिपोर्टिङले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव पनि पा¥यो । संसदले अध्ययन समिति बनायो । सर्वदलीय राष्ट्रिय अध्ययन समिति बन्यो । जिल्ला स्तरको पनि अध्ययन समिति बन्यो । सबै समितिहरुको अध्ययनमा मैले लेखेको कुरालाई थप पुष्टि गर्ने कुरा भेटिएपछि तत्काल सिमा क्षेत्रका बिभिन्न ठाउँमा प्रहरी चौकी राखिए, विकासका थप पूर्वाधार पु¥याउने योजना बने । यही रिपोर्टिङका कारण मैले कान्तिपुर प्रवेश गरेको पहिलो बर्षमै देशकै उत्कृष्ट संवाददाताको पुरस्कार र सम्मान पनि पाएँ ।

कोही मानिसले सार्वजनिक ठाउँमा पत्रकारहरुलाई आलोचना गरिरहेको सुन्दा तपाईंलाई कस्तो अनुभूति हुने गर्छ ?

मलाई खुशी लाग्छ । अनि राम्ररी ध्यान दिएर सुन्छु । मलाई पत्रकार भनेर नचिनिदिए हुन्थ्यो भन्ने लाग्छ । हाम्रा बारेमा आलोचना हुनु र हाम्रा कमी कमजोरीका बिषयमा आमनागरिक सचेत हुनु राम्रो कुरा हो । यो आवश्यक पनि छ ।

तपाईंकै श्रीमती पत्रकार बनेर अन्तर्वार्ता लिने स्थिति भयो भने तपाईंलाई पहिला कुन प्रश्न गर्नुहुन्थ्यो होला ?

हा… हा… । गजबको कुरा गर्नुभयो । यस्तो अवस्थामा त उल्टै म प्रश्न गर्थें होला । आफ्नै श्रीमानसँग अन्तर्वार्ता गर्दा कस्तो अनुभूति भइरहेको छ भनेर ।

समाजसेवा र बुवाआमाको सेवामध्ये कसको सेवा गर्नुहुन्छ ?

मैले समाजसेवा गरिरहेको छु । हालसम्म बुवाआमाले नै मेरो सेवा गरिरहनुभएको छ । भैंसी पालेर दूध खुवाउनु भएको छ । छोरीहरुको हेरचाह गरिदिनुभएको छ । बुवाआमाले मेरो सेवा गरेकाले मैले समाजसेवा गर्न पाएको छु । बुवाआमाको सेवा गर्ने समय अझैं आएको छैन ।

समाजले पत्रकार र पत्रकारितालाई कसरी हेरिदेओस् जस्तो लाग्छ ?

समाज पत्रकार र पत्रकारिताप्रति निकै समालोचक भएर काम गरोस् । हाम्रा कमी कमजोरी औंल्याइदेओस् र हामीलाई सधैं समाजप्रति इमान्दार र जवाफदेही बनाउने भूमिका खोलोस् भन्ने लाग्छ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *