सम्बन्ध | कृष्णराज सर्वहारी

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 125 Views   ||

Krishna Raj sarbahari Chauवीरबहादुर आज बडो मलिन मुद्रामा देखिन्छन् । के सोंचेको थियो उसले के भइरहेको छ अहिले । कस्तो कपुतलाई जन्म दिएछु भने बरु आमाकै गर्भमा तुहिएको भए हुने । यस्तो सन्तान त कसैको पनि नहोस्, ऊ एक्लै बर्बराइरहेको थियो र आँगनमा दाउरा चिरिरहेको थियो ।

‘क्या हो दाइ, गाथमा आरामै ?’ तल्लाघरे साइँलाले बोलायो ।

वीरबहादुर पल्याकपुलुक बाटोतिर आँखा लगायो । ‘ए साइँला पो रै’छस् । लौ आइज कक्कड खाँऊ, कि खान छाडिस् ए ।’

‘के छाड्न सकिन्थ्यो नि दाइ । बूढीलाई जति गाली गरे पनि यो तमाखु भन्ने जात त छाड्नै सकिएन । लौ लिनुस् मेरो गोजीमा बिंडी छ नि ।’

‘मेरो आँगनमा आएछस्, ख्वाउनु त मैले हो । तैले झिकी हालिस् । खै मार्चिस छैन ।’

‘दुबै थोक बोक्यो भने एक बण्डल बिंडी एकैछिनमा सिद्धिन्छ क्या दाई, त्यसैले मेरो गोजीमा कि सलाई हुन्छ कि माचिस मात्रै ।’

बीरबहादुर आँगनबाटै ठूलो स्वरले श्रीमतीसँग करायो, ‘चम्पा सुनिस्, सलाई लिएर आ कक्कड खानुप¥यो ।’

एक हातमा खाली गाग्री लिएर चम्पा पधेंरा जान निस्किन् । बूढाको हातमा सलाई दिदै भनिन्, ‘चुलोमा तरकारी बसालेकी छु, यसो ख्याल गरिदिनुहोला । भान्सामा एक थोपा पानी छैन, म पधेंरा गएँ ।’

बीरबहादुरले आँखीभौं खुम्च्यायो । ‘अँ आमाले पनि अह्राउने मैलाई, छोराले पनि मैलाई । कुन दिन यो बूढो मर्ला र हाइसन्चो होला भन्ठान्दा हौ नि ।’

चम्पाले जवाफ फर्काइनन् । साँइला अलिकति खाजा खान पाइने लोभले यता हुँदो झरेको थियो । खाली गाग्री र बूढाबूढीको ठोली बोली सुनेपछि उसलाई साइत बिग्रिएझैं लाग्यो । ऊ कक्कडको लामो सड्को तान्दै भन्न थाल्यो, ‘म जान्छु दाई । अचेल दिन पनि कस्तो छोटो । एकैछिनमा साँझ पर्छ भन्या ।’

‘पख न पख, तेरो मेरो घर भन्या कति टाढा हो र ! अलिकति खाजा खाएर जालास् । स्कुलबाट आएपछि म पनि भोकै छु । मेरो भागको खाजा बाँडीचुँडी खाउँला ।’

भित्र तरकारी डढ्न थाल्यो । बीरबहादुर हत्तपत्त भान्सामा पस्यो । चम्पा पनि त्यही बेलै पानी लिएर आइपुगिन् ।

वीरबहादुरको बाल्यकाल बडो कष्टमयले बितेको थियो । कनिकुथी दुई अक्षर पढेकोले उसले स्कुलमा पियनको नोकरी भेट्टायो । जसको श्रेय उसले हेडमास्टर रुद्रप्रतापलाई दिन्छ ।

ऊ बूढो सुगाले अब कति पढ्ला र हजुर भने पनि नपढी धरै पाएन । रुद्रप्रतापले नै उसलाई धुलौटे पाटीमा साँउ अक्षरसम्म लेख्न सिकाइदिएका थिए । दुबैको पेन्सन लिने समय भैसकेको थियो ।

हेडमास्टर रुद्रप्रतापले केही दिनअघि मात्रै भनेका थिए, ‘बुझ्यो बीरबहादुर तिमी र म सँगै रिटायर हुनुपर्छ । अब यो बूढो शरीरलाई कति दिन दुःख दिने । तिमी पनि पचपन्न लाग्यो क्यारे, होइन त ? हैन तिमीलाई घर राम्रो लाग्दैन रे । तिमी सधैं छोरा, श्रीमतीसँग कुरा नमिलेको भन्छौ । यो बूढ्यौली अवस्थामा उनीहरुलाई माया पो गर्नुपर्छ । माया लिनु पर्छ । अचेल पनि राम्रो बोलचाल छैन कि क्या हो । सधैं यस्तै भयो भने त पछिलाई दुःख पाइएला नि ।’

‘सरलाई लुकाएर के कुरा गर्नु । गल्ती आफ्नो भए जस्तो लाग्दैन । घरमुलीलाई त घरका सदस्यले आदर सत्कार गर्नुपर्छ । उनीहरुले घरमुलीलाई सधैं छेड हानेपछि मेरो मन कसरी खुशी हुन्छ र हजुर ।’

‘पख एकदिन तिम्रो व्यवहार मिलाउन मै जाउला । त्यो तिम्रो छोरा नाम के रे रामबहादुर । के गर्छ अचेल ?’

‘बिग्रियो हजुर बिग्रियो । तपाईकै सल्लाहले रिन धन काढेर १० पासपछि सहर पढ्न पठाएँ । अब त मैलाई नै टेर्दैन । रुपैयाँ पनि कति खर्च गर्न सकेको भन्या माग्या माग्यै गर्छ । बिदामा घर आएको छ तर घरको काम सिन्को भाँँच्ने होइन ।’

‘ल ल चिन्ता नलेऊ, अब त छोरा पनि बिस्तारै कमाउला । कति दिन उरेन्ठेउलाझैं घुम्ला र ।’

‘खै हजुर अरुका छोराछोरी त सहरमा काम पनि गर्ने र पढ्ने पनि गर्छन् रे भन्ने सुनेको हुँ । घरको अवस्था उसलाई थाहा भएर पनि हाकिमकै छोराझैं घुमेर बिताउँछ । के कमाउला र ?’

‘आमा बाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भन्या यै हो बीरबहादुर । तर चिन्ता धेरै गर्नुहुन्न । तिमीले अलि बढी नै चिन्ता लिएजस्तो छ ।’

बीरबहादुर आफ्नो सोचाइमा कतिसम्म हरायो भने श्रीमतीले खाजा तयार भएको ठूलो स्वरले दुई तीन पटक जनाउ दिदा पनि चाल पाएन ।

साइँलाले कोट्यायो, ‘ओहो दाई पनि कता हराउनु भएको । भाउजुले भित्र बोलाउनु भो ।’

‘ए हो र, ल हिड त आज दुई भाई बात मार्दै मज्जाले जाँड खाउँ ।’

छानिएको भाँडाको जाँड सकिएपछि उसले श्रीमतीलाई थप जाँड छान्न लगायो । अनि आफ्नै छोराको बयान गर्न थाल्यो ।

‘साइँला एउटा छोरा भनेर मात्रै के गर्नु । यही छोराको आशामा तीन–तीनजना छोरी जन्माइयो । धन्न सबैको बिहेबारी गरिसकियो । भगवान्को दयाकृपाले रिनधन केही लागेको छैन तर मलाई हरदम यै रामेको चिन्ता लाग्छ । जुंगाको रेखी बसिसक्यो । घर व्यवहारमा फिटिक्कै ध्यान दिँदैन ।’

‘किन धन्दा मान्नु हुन्छ दाइ । तपाइँ हाम्रो जस्तो जमाना अब कहाँ रह्यो र । रामु अझै पढ्दै छ, तपाइँको पिउनको नोकरीभन्दा त गतिलै जागिर भेट्टाउला ।’

‘त्यसको व्यवहारले त्यसले गरि खालाजस्तो लाग्दैन हेर । केही कुरा भन्नै हुन्न, अंग्रेजीमा खै के के भनेर भट्याउन थालिहाल्छ । अब त पियनकै जागिर पनि महङ्गो भयो । हाम्रा हेडसर रुद्रप्रतापको दयाकृपा भए मेरै ठाउँमा जागिर लगाइदिदो हुँ । अब त शिक्षक हुन पनि लाइसेन्स झिक्नुपर्छ, लोकसेवा पास हुनुपर्छ । त्यस्ताले के गर्ला लोकसेवा ।’

‘के कुरा ग¥या होला दाइले पनि, पढेलेखेको छोरालाई त ठूलै बनाउने सपना देख्नुपर्छ । तपाइँको पियन बनाउने कुराचाहिं मलाई चित बुझेन ।’

‘आ, पियनको छोरा पिउन नभएर के गरोस् । त्यसको बाउ हाकिम भए पो हाकिम हुन्थ्यो ।’

छोरो झोक्किदै घरमा प्रवेश गर्छ ।

‘जतिखेर पनि मेरै कुरा हुन्छ होइन यो घरमा ? तिमीजस्तो पिउन बन्नु छैन मलाई । हामीलाई सहरमा एक से एक नोकरी पाइएला । म पो पिउनको छोरा भएर भौंतारिइरहेको छु । आफ्नो छोरालाई पनि पिउनको छोरा भनाइमाग्ने पक्षमा छैन म । यो घरलाई पिउनहरुको सन्तान किन बनाउने ? लाजैमर्दो ।

अब झोक्किने पालो बाउको हुन्छ । ‘ए यै पिउन बूढाको कमाइले तँलाई पढायो, हुर्कायो यत्रो लाठे बनायो । अब पिउनहरुको सन्तान भनाउन लाज लाग्यो तँलाई ? निस्की यो घरबाट निस्की । मेरो घर एक मिनेट पनि नबस् । पिउनको घरमा तँलाई किन बस्नुप¥यो ?’

‘म किन निस्किने यहाँबाट ? गोरु बूढो भएपछि भीर खोज्छ, मान्छे बूढो भएपछि निहुँ खोज्छ भन्या यै हो । जाँड खाएर बेकारमा…’

‘ए दश गाउँ चहारेर आएको ड्युटीबाट आएको आफ्नो बाउलाई हेप्छस् ? आफैले निहुँ खोजेर मैले निहुँ खोजेको भन्छस् ? लौ आइज मसँग कुस्ती खेल्न । तँ स्यालले यो बूढो बाघसँग जोरी खोज्ने ? हेरुँ तेरो पनि तागत ।’

छोरो बक्सिङ ठोक्ने सुरमा पोजिसन लिन्छ । त्यो देखेर बीरबहादुरलाई अझ बढी रिस उठ्छ । ऊ छोरोमाथि जाइलाग्छ । तर छोराको अगाडि ऊ के टिक्थ्यो । छोराको मुक्काले रक्ताम्य हुन्छ ।

‘बित्थामा निहुँ खोजेर अब कसको खति भयो ।’ बीरबहादुरकी श्रीमती रुँदै बर्बराउँछे ।

‘अँ तँ पनि मैलाई दोषी ठान् । तैले नै पुल्पुल्याएर उसले ममाथि समेत हात हाल्ने दुस्साहस गरेको हो, बुझिस् ! अहिले नै निकाल यस कुलङ्गारलाई घरबाट । बूढो बाउलाई कुट्ने ?’

‘प¥या छैन मलाई पनि यस्तो घरमा बस्न ।’ छोरो फन्किदै बाहिर निस्किन्छ ।

रात छिप्पिएपछि रामे लुसुक्क घरभित्र छिर्छ । आमासँग रुपियाँ माग्छ । भएको अलि–अलि दिन्छिन् र बाउलाई भनेर पछि साथीहरुको हातबाट अरु रकम पठाइदिने भन्छिन् । भालेको डाँकसँगै छोरो सहरतिर लाग्छ ।

खर्च सिद्धिएपछि तीन महिनामै छोरो बाउसँगको झगडा बिर्सिएर घर आइपुग्छ ।

घरमा छिर्न नपाउँदै बीरबहादुर छोरामाथि गर्जिन्छ, ‘तँ घर छोडेर गएको होइनस्, फेरि कुन मुखले आइस् ए पाजी ? तँलाई लाजसरम लाग्दैन ?’

‘आफ्नो घर आउन पनि के को लाज नि ?’

‘अझ ठूलो भएर बोल्छस् ? तेरो पढाइबारे सबै मलाई थाहा भैसक्यो, तल्लाघरे साँइलाले भनेको । एउटा बिषयबाहेक सबैमा आलु खाएछस् । तँलाई सहर पढ्न पठाएको कि सयर गर्न हँ ?’

‘म मात्रै फेल भएको होइन क्यारे । ट्युसन पढ्न पैसा दिने होइन ।’

‘नकरा, नकरा । पास हुने अरु सबै ट्युसनै पढे होलान् नि, तँलाई अब पढाउन पनि पढाउँदिन । अरुझैं कमाएर पढाएर पढ्छस् भने पढ् । बालुवामाथि पानी खन्याएझैं तँ माथि खर्चिएँ, यै हो परिणाम ?’

अर्को दिन रामेले दोश्रो बर्षमा नाम लेखाउन आमासँग पैसा माग्छ ।

‘मसँग पैसा कहाँ हुनु र बाबु । तेरै बासित माग न । अस्ति भर्खर पेन्सनको रुप्पे झिकेर ल्या’का छन् ।’

छोराले जति अनुनय विनय गरे पनि अब पढाईका लागि भनेर एक सुका पनि नदिने कसम खाइसकेको हुन्छ । रामेलाई खै के झोक चल्छ । अर्को दिन ऊ बाउ म¥यो भनेर किरिया बस्छ । प्रायः सबै गाउँलेले थुक्छन् ।

‘राम राम कलियुग भन्या यै हो । हेर, जिउँदा बाबुको किरिया बसेर, के गति छाडा भएको हो ए त्यो रामे त ।’

‘त्यै त बाउले पैसा दिएनन् भनेर त्यस्तो अधम गर्न त नहुने त्यो बज्जेले ।’

‘पढ्नु लेख्नु छैन, डुलेरै बिताउँथ्यो रे । सप्पै बिषयमा फेल भएपछि बूढाले पढ्न कतिसम्म देऊन त पैसा बरा ।’

‘छोरा भने पियनको, व्यवहार भने हाकिमको । हैन त्यसकी आमाले पनि त्यो रामेलाई केही भन्दिनन् कि क्या हो ?’

‘त्यही आमाले पुल्पुल्याएर बाउको टाउकोमाथि टेक्दैछ ।’

उता बीरबहादुर भने छोराको व्यवहारप्रति कुनै चित्त दुःखाएको थिएन । उसले किरिया ग¥यो त म मरेको छैन क्यारे ? गाउँलेहरुसँग ऊ यस्तै भन्थ्यो । अघि पछि सधैं डुलेर बिताउने रामे लगातार तीन दिन एक्लै बस्दा विचारको मन्थनमा निकै घोरियो । जिउँदो बाबुको किरिया बस्ने एकाएकको निर्णयले उसलाई ठूलै भूल गरेजस्तो लाग्यो । छोरोको बाबुलाई पाल्ने धर्म हो । तर म त जिउँदै बाबुको क्रिया बसें । मलाई भगवानले कहिल्यै माफ गर्ने छैनन् । म बाबुसँग क्षमा माग्न पनि सक्दिनँ । हे भगवान म के गरुँ ? ऊ सधैं त्यही सोचाइमा घोत्लिन थाल्यो ।

किरिया बसेको तीन दिनपछि रामे हराएको सुनियो । कसैले सहर, कसैले मुग्लान पस्यो कि भन्ने अड्कल काटे । तर, गाउँलेहरु नजिकैको जङ्गलमा झुण्डिएको अवस्थामा उसलाई फेला पारे ।

बीरबहादुरको प्रतिक्रिया थियो, ‘छोरा जन्मेको नजन्मेको बराबरै थियो । म त यत्रै पनि क्रिया बस्दिनँ ।’

–कीर्तिपुर, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *