मोदी भ्रमण : बुद्धभूमिसम्बन्धी विवादको अन्त्य !

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 159 Views   ||

Sachin_Rokaसचिन रोका

[समाचार विश्लेषण]
नेपालमा मोदी भ्रमणको तरङ्ग अझैं सेलाएको छैन । यही आइतबार आएर सोमबार फर्केका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चमकदार चलह पहलका छिन्नीभिन्नी प्रतिक्रियाहरुले नेपाली मिडिया बजार ढाकिएकै छ । नेपाली मिडियामात्र होइन संसारभरका ख्यातीप्राप्त सञ्चारमाध्यमहरुले पनि मोदीको जादुगरी भ्रमणलाई कभरेज नदिइरहन सकेनन् । आफूले हुर्काएको नेपाली युवक जीतबहादुर सारु मगरलाई परिवारको जिम्मा लगाएर नेपाल भ्रमण थालेका मोदीले आइतबार व्यवस्थापिका संसदको रोष्टममा उभिएर नेपाली भाषामा मन्तव्य सुरु गरेर भावनात्मक आकर्षणको खाता खोलेका थिए ।

सुरुमै नेपाली श्रोता र दर्शकहरुको मन जित्न सफल मोदीले आफ्नो ४० मिनेट लामो भाषण अवधिभर सबैलाई मन्त्रमुग्ध पारे । सत्ता पक्षदेखि प्रतिपक्षसम्म, किसानदेखि वैज्ञानिकसम्म, हिमालदेखि तराईसम्म सबै क्षेत्र र तप्काका नेपाली सबैलाई भाषण अवधिभर उद्देलित पारेका मोदीले भारतप्रतिको नेपाली बुझाइमा धेरथोर सकारात्मक परिवर्तन ल्याउन सफलता पाएका छन् । भारतीय सत्ताप्रमुखको हैसियतमा १७ वर्षपछि भएको मोदी भ्रमण भावनात्मक र कूटनीतिक सफलताको दियो सल्काउँदै सम्पन्न भएको विश्लेषकहरुको टिप्पणी छ । नेपालका प्रायः सबै राजनीतिक दलहरुले पनि मोदी भ्रमणलाई ‘सकारात्मक’ भनेर टिप्पणी गरेका छन् ।

‘बुद्धको जन्मभूमिसम्बन्धी विवादको अन्त्य’

‘बुद्ध भारतमा जन्मिएका हुन्’ भन्ने कुरा शैक्षिक पाठ्यपुस्तकहरुमा राखेर कलिला नानीहरु पढाइरहेको भारतका सरकार प्रमुख स्वयंले नेपाली संसदलाई सम्बोधन गर्दै पटक–पटक ‘बुद्धको जन्मभूमि नेपाल’ भनेर उच्चारण गर्दा नेपालीहरुको मन पग्लिनु स्वाभाविकै थियो । मोदीले यसो भनिरहँदा संसदमा सभासदहरुले लामो ताली बजाएर मोदीप्रति असाधारण सम्मान दर्शाएका थिए भने टेलिभिजनको पर्दामा झुम्मिएका लाखौं दर्शकहरुमध्ये कयौंले हर्षका आँसु खसोलेका थिए । ‘

बुद्धको जन्मथलो भारत हो’ भन्ने अफवाहको सञ्चारबाट आक्रोशित नेपालीहरुको भावना जित्ने मनकारी टिप्सको रुपमा मोदीले यसलाई प्रयोग गरेका थिए । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘मोदीले जुनसुुकै उद्देश्यले त्यस्तो कुरा बोलको भए पनि त्यो इतिहासका रुपमा लिपिबद्ध भइसक्यो । अब कुनै पनि भारतीयलाई बुद्धको जन्मथलो भारत हो भनेर प्रचार गर्ने नैतिक आधार बाँकी रहेन ।’

मोदीको यो घोषणाप्रति टिप्पणी गर्दै एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन्, ‘लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा सार्वजनिक स्वीकारोक्तिले आगामी दिनमा नयाँ आधारमा द्विपक्षीय सम्बन्ध विकसित हुनसक्ने संकेत गरेको छ ।’ यद्यपि मोदीको यो घोषणालाई कतिपयले ‘सेन्टिमेन्टल हाइज्याक’को संज्ञा दिएका छन् । मोदीको यो सार्वजनिक घोषणासँगै अब बुद्धस्थलसम्बन्धी ऐतिहासिक विवाद अन्त्य भएको ठान्नेहरु पनि धेरै भेटिएका छन् ।

मोदीको ‘नेपाल हिट’ फर्मुला

नेपालको संसदलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले आफूले नेपालमा ‘हिट’ गर्न चाहेको अभिव्यक्ति दिदै गर्दा सभासदहरु केहीबेर अक्क–बक्क भएका थिए । तर मोदीले सतर्कतापूर्वक ‘हिट’ शब्दको व्याख्या सुनाएर कन्फ्यूजन हटाएका थिए । अंग्रेजी अक्षर एच.आइ.टी.को बारेमा सबिस्तार बताउदै मोदीले एच को अर्थ हाइवेज अर्थात् राजमार्ग, आइ को अर्थ आइवेज अर्थात् इन्फरमेशन टेक्नोलोजी र टी को अर्थ ट्रान्समिसन अर्थात् विद्युत प्रसारण लाइन भनेर व्याख्या गरे । यी तीन क्षेत्रमा भारतले नेपाललाई सहयोग गर्ने औपचारिक प्रतिवद्धता मोदीले व्यक्त गरे । पूर्वपश्चिम रेलमार्गसहित नेपालका निर्माणाधीन राजमार्गहरुको लागि सहयोग चाहिए भारत तयार रहेको सन्देश मोदीले दिएका छन् ।

नेपाल डिजिटल युगमा प्रवेश गरेको आफूले हेर्न चाहेको भन्दै उनले दुई देशबीचको टेलिफोन महशुल घटाउन पहल गर्ने आश्वासन दिए । भारतले स्थापना गर्न लागेको सार्क स्याटेलाइटबाट नेपालले पनि प्रशस्त लाभ उठाउनसक्ने मोदीको भनाइ थियो ।

यस्तै मोदीले नेपालको वर्तमान लोडसेडिङ कम गर्न भारतले हाल दिदै आएको विद्युत दोब्बर गर्ने र पछि नेपालमा उत्पादन हुने बिजुली किनेर भारतको अन्धकार हटाउने लक्ष सुनाए । मोदीको यो कुराले नेपालको जलश्रोतमा भारतको चासो कति गहिरो छ भन्ने कुरा प्रष्ट्याएको छ ।

नेपालको जलश्रोत उपयोगको यहाँका राजनीतिक दलहरुसमेत कुहिरोको काग बनिरहेको बेला मोदीले ‘यस विषयमा भारतबाट नतर्सन’ सन्देश दिएका छन् । ‘हामीलाई तपाईंको पानी चाहिएको होइन’ संसदमा मोदीले भने ‘हामीलाई नेपालको बिजुली चाहिन्छ, त्यो पनि सित्तैमा होइन, किनेर लिन्छौं ।’ नेपालमा उत्पादन हुने बिजुलीको प्रमुख बजार भारत नै हो भन्ने कुरा नबुझेका र बुझेर पनि राजनीतिक अस्तित्व जोगाउन बुझपचाएका कतिपय दलका नेताहरुलाई मोदीको कुराले लघुताभाष त्याग्ने सन्देश दिएको कतिपय विश्लेषकहरुको तर्क छ ।

मधेशवादी दलहरुलाई झड्का !

तुलनात्मकरुपमा मधेशवादी दल र तिनका नेताहरुसँग हिमचिम देखाउने भारतीय नेताहरुको परम्परागत चलनमा समेत मोदीले ब्रेक थु्र गरेका छन् । यो पनि स्वयं मधेशवादी दल र अरु धेरैको लागि अनपेक्षित कुरा थियो । मधेशवादी दलहरुलाई क्षेत्रीय भावनाबाट मुक्त भएर राष्ट्रिय स्तरको चेतनामा उक्लन मोदीको सुझाव थियो ।

त्यसो त यसअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि मधेशवादी दलहरुको झाँको झारेकी थिइन् । ‘आफूहरु पहाडियाबाट हेपिएको’ दुखेसो पोख्दै गरेका मधेशवादी दलका नेताहरु सामु स्वराजले भनेकी थिइन् ‘राष्ट्रपति मधेशकै, उपराष्ट्रपति मधेशकै, अनि कसरी हेपिए मधेशीहरु ?’ यी घटनाक्रमहरु केलाउँदा मधेशी दलहरुप्रति भारतको वर्तमान संस्थापन पक्षको दृष्टिकोण केही परिवर्तन हुन खोजेको कतिपयको बुझाई छ ।

मोदी भ्रमणको उत्तरी निशाना

मोदीको नेपाल भ्रमणलाई उत्तरी छिमकी चीनले सावधानीपूर्वक हेर्न खोजेको देखिन्छ । पछिल्लो समय नेपालमा आफ्नो उपस्थिति बाक्लो पारेको चीनले मोदी भ्रमणलाई ‘जलश्रोतको माध्यमबाट फकाउन खोजेको’ रुपमा बुझेको संकेत दिएको छ । सरकारको तर्फबाट यसबारे आधिकारिक हिसाबले केही भन्न नमिले पनि चिनियाँ सञ्चार माध्यमहरुमार्फत् मोदी भ्रमणको प्रतिक्रिया सार्वजनिक भएको छ ।

चाइना डेलीको अनलाइन संस्करणले मोदी भ्रमणलाई ‘चीनसँगको श्रोतको दौडमा मोदीले नेपाललाई फकाउँदै’ शीर्षकमा समाचार छापेको छ । समाचारमा ‘नेपालको जलश्रोतमाथि आँखा लगाउँदै नयाँ दिल्लीले नेपालमा भारतीय लगानीका लागि उक्साउदै आएको’ कडा टिप्पणी गरिएको छ ।

सरकारी समाचार संस्था सिन्ह्वाले पनि मोदी भ्रमणलाई ‘भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको स्थायी सदस्यको उम्मेदवारीमा नेपालको साथ खोजेको’ टिप्पणी गरेको छ । चिनियाँ मिडियाहरुमा आएको विश्लेषणलाई आधार मान्ने हो भने मोदी भ्रमणलाई चीनले नरुचाएको प्रष्ट हुन्छ । तर यसबाट नेपालमा भइरहेको र हुन खोजेको चिनियाँ लगानी र सहयोगमा कुनै फरक नपर्ने चीन मामला जानकारहरु बताउँछन् ।

चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीको विचारमा भारतीय प्रधानमन्त्रीको भ्रमणसँग चीनको कुटनीतिक सरोकार नजोडिने भएकोले नेपालमा चिनियाँ लगानी प्रभावित हुँदैन, बरु ‘प्रतिष्पर्धात्मक’ बन्न सक्छ जो नेपालकै लागि हितकर हुनेछ ।

प्रकाशित मिति : २०७१ साउन २१ गते बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *