सिमेन्ट उद्योगको केन्द्र बन्दै दाङ

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 430 Views   ||

Ghorahi ciment_dangघोराही । पछिल्लो पाँच वर्षमा दाङ सिमेन्ट उद्योगको केन्द्र बन्न थालेको छ । जिल्लामा दुईवटा सिमेन्ट उद्योगले उत्पादन शुरु गरिसकेका छन् भने एउटा सिमेन्ट उद्योग निर्माणको अन्तिम चरणमा पुगेको छ । दाङको सिमासँग जोडिएको रोल्पा सिमेन्ट उद्योगले समेत उत्पादन शुरु गरेको छ । दाङको सतबरियामा अहिले अर्को एक सिमेन्ट उद्योग स्थापना हुन थालेको छ ।

दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मधुसूदन वैद्यले दाङ पछिल्लो समय सिमेन्ट उद्योगको केन्द्र बन्दै गएको बताउनुभयो । ‘जिल्लामा अझै थुप्रै सिमेन्ट उद्योगको सम्भावना छ,’– उहाँले भन्नुभयो, ‘यहाँका सिमेन्ट उद्योगको प्रवद्र्धनका लागि सरकारले स्पष्ट नीति ल्याउनुपर्छ ।’ यी उद्योगहरुले दाङको मात्र नभए समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वैद्यको भनाई छ । जिल्लामा स्थापना भएका चार वटै उद्योगमा गरेर करीब १५ अर्ब लगानी भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाको उत्तरतर्फको पहाडमा सिमेन्ट उत्पादन हुने ढुंगाको खानी रहेकाले सबै कम्पनीले ती पहाडबाट सिमेन्ट उत्पादन गरिरहेका छन् । निर्माणाधीन उद्योगहरुको कच्चा पदार्थको स्रोत पनि त्यही पहाड हो । सबै कम्पनीले जग्गा खरिद गरी मुख्य सडकबाट पहाडसम्म पुग्ने बाटो बनाइसकेका छन् । दाङ सिमेन्ट इन्डस्ट्रिजले पुरन्धाराको हापुरेमा, सोनापुर सिमेन्ट उद्योग प्रालिले दुधरासमा, घोराही सिमेन्ट उद्योग प्रालिले लक्ष्मीपुरको गोग्लीमा र रोल्पा सिमेन्ट प्रालिले दाङलाई केन्द्र मानेर रोल्पाको बुढागाउँ काउलेचौरबाट सिमेन्ट उत्पादन गरिरहेका छन् ।

दाङको गोग्लीमा निर्माणाधीन घोराही सिमेन्ट उद्योगले कंक्रिट पनि उत्पादन गरिरहेको छ । उद्योगले सिमेन्टसँगै कंक्रिट पनि उत्पादन गरिरहेको उद्योग सञ्चालकहरुले जानकारी दिएका छन् । उद्योगले दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गरिरहेको छ । उद्योगमा दैनिक आवश्यक कच्चा पदार्थ उद्योगबाट २४ किलो मिटर उत्तर तापा भन्ने स्थानबाट ल्याउने व्यवस्था गरेको छ । उद्योगमा करीब ५ अर्ब रुपैयाँ लगानी भएको छ । नेपालमा सञ्चालित निजी लगानीको सिमेन्ट उद्योगमध्ये यसले आफूलाई सबैभन्दा ठूलो भएको दावी गरेको छ । अहिले उद्योगमा १ हजार ५ सय जनशक्तिले काम गरिरहेका छन् ।

जिल्लामा सबैभन्दा पहिले दाङ सिमेन्ट इन्डस्ट्रिजले २०५२ सालदेखि काम थालेको थियो । इन्डस्ट्रिजले कारखाना सञ्चालनका लागि पुरन्धारा गाविस–२ कञ्चनपुरमा ३० बिघा जमिन खरिद गरेर उद्योग स्थापना गरिरहेको छ । विभिन्न कारणले उद्योग स्थापनामा ढिलो भए पनि केही समयभित्र उत्पादन शुरु गरिने सञ्चालकहरुले बताएका छन् । उद्योगले यसैगरी खानीका लागि पुरन्धारा–१ र सल्यान जिल्लाको काभ्रा गाविस– ८ का २० घरपरिवारको जग्गा खरिद गरेको छ ।

दाङको सिमासँग जोडिएको रोल्पाको बुढागाउँ–३ स्थित रोल्पा सिमेन्ट उद्योगले दिर्घायु ब्राण्डको (पीपीसी) र शैलाभ ब्राण्डको  (ओपीसी) सिमेन्ट बजारमा ल्याइसकेको छ उद्योगले मध्यपश्चिम तथा सुदूरपश्चिमलाई केन्द्रित गरी आफ्नो उत्पादनलाई सुरु गरेको थियो । रोल्पा, दाङ, सल्यान, रुकुमलगायतका जिल्लामा आफ्नो उत्पादन बिक्रीसमेत गरिसकेको छ । साथै कम्पनीले काठमाडौंं उपत्यकामा समेत केही परिक्षण बिक्री गरिसकेको छ ।

दाङका अन्य उद्योगको तुलनामा सानो मानिएको उक्त उद्योगमा रु. १ अर्ब २५ करोड लगानी भएको छ । अहिले नेपालमा ८० प्रतिशत सिमेन्ट बाहिरबाट आयात भइरहेकोमा दाङमा स्थापना भएका सबै सिमेन्ट उद्योगले पूर्ण उत्पादन गर्न थालेमा ५० प्रतिशत बाहिरको आयात रोकिने व्यवसायीहरुको भनाई छ ।

प्रकाशित मिति : २०७१ साउन २१ गते बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *