मलामी पाएँ, जोवन गुमाएँ | उदय जीएम

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 141 Views   ||

Udaya_Gmउदय जीएम
संवाददाता, अन्नपूर्ण पोष्ट

कहिलेदेखि पत्रकारिता गर्न थाल्नुभयो ?

पत्रकारिता त मैले धेरै पहिलेदेखि नै गरेको रै’छु, अञ्जानमा । मैले गरिरहेको काम पत्रकारिता हो र म पत्रकारिता गरिरहेको छु भन्ने थाहा पाएर पत्रकारिता गरेको चाहिँ २०५४ सालदेखि हो ।

पत्रकारितामा प्रवेश गर्नुअघि के गर्नुहुन्थ्यो ?

त्यसअघि म काम खोज्न भौंतारिँदै भारतका पञ्जाबसम्म पुगें । त्यहाँ भाँडा पनि माझें । त्यहीं अखिल भारत नेपाली एकता समाजको मासिक बुलेटिन “नेपाली एकता सन्देश”, मुखपत्र “नेपाली एकता”, अखिल नेपाल जनजाति सम्मेलन भारत शाखाको मुखपत्र “जनजाति लहर” लगायतको सम्पादन पनि गरें ।

त्यसपछि काठमाडौंमा बसें, त्यहाँ अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रीय मुखपत्र “जनजाति आवाज”को सम्पादन गरें । बरालिएको मान्छे फेरि घरसम्म आइपुगें र घोराही प्रवेश चाहिँ होटेल खोलेर भयो । १ वर्षपछि होटेल बेचेर पत्रकारितातिर छिरियो ।

किन लाग्नुभयो त पत्रकारितातर्फ ?

यो “किन”को जवाफ छैन मसँग । सानैदेखि साहित्यिक रुचि भएको मान्छे । जङ्गल जङ्गल घुम्दै साहित्यिक कृति पढ्ने, खेतका गरागरा चहार्दै कविता लेख्ने । आफूलाई मन परेका पुस्तक जसरी पनि किन्ने । यी पुस्तकहरुसँगको सहयात्राले यतातिर डो¥याइरहेको हुनुपर्छ ।

ठ्याक्कै घोराही प्रवेशपछि त्यो बेला सक्रिय पत्रकारिता गरिरहनुभएका मधुसूदन वैद्य सरसँग जम्काभेट भो । उहाँले “जनएकता साप्ताहिक”को रिपोर्टर बनाइदिनुभयो ।

लगत्तै नेपाल प्रेस इन्स्टिच्यूटले राखेको पत्रकारितासम्बन्धी एकदमै राम्रो तालिममा सहभागी हुने मौका मिल्यो । त्यही तालिममा के एल पीडितजीसँग परिचय भएको थियो । उहाँले तत्कालीन “नयाँ युगबोध साप्ताहिक”मा काम गर्न थाल्नुभएछ । उहाँले “म त यस्तो काम गर्न थालें, राम्रो हो कि होइन कुन्नि ?” भनेर सोध्नु भो । मैले चाहिँ एकदम राम्रो गर्नुभएछ । बरु ठाउँ भए मलाई पनि लगाइदिनुस् न भनें ।

यस्तैमा नयाँ युगबोधमा छिरियो । घोराही प्रवेश गरेको एक वर्षमै सक्रिय पत्रकारितातिर होमियो, जो आजपर्यन्त जारी छ ।

पत्रकारिता गरेकै कारण कसैको धम्की वा कुटाइ खानुभएको छ ?

नयाँ युगबोध दैनिकमा “डाक्टरको साइनबोर्डमुनि अवैध व्यापार” शीर्षकको समाचार लेखेपछि निकै खैलाबैला चल्यो । त्यतिबेला एक औषधि व्यवसायीले अप्रत्यक्षरुपमा धम्की दिएका थिए । त्यसको जवाफ पनि मैले अप्रत्यक्षरुपमै पठाएँ । प्रहरीसँग केही खटपट भयो । त्यसबाहेक मेरो जीवनमा अरु केही पनि भएन ।

त्यस्तो बेला बेक्कारको पेशा अंगालिएछ जस्तो लागेन ?

लागेन । बरु साह्रै राम्रो पेशा अंगालिएछ भन्ने आभास भएथ्यो ।

पत्रकारितामा लागेर के पाउनुभयो ? के गुमाउनुभयो ?

मलामी पाएँ, जोवन गुमाएँ । यति भनेपछि अथ्र्याइरहनु नपर्ला कि ?

रेडियो वा टेलिभिजनका लागि श्रीमतीसँगै लाइभ अन्तरवार्ता लिनुपर्ने भयो भने तपाईं श्रीमतीलाई के भनेर बोलाउनुहुन्छ ?

यसो व्यवस्था मिलाउनुस् न त । हेरौं, के भनेर बोलाइने रै’छ ?

आफूले लेखेको समाचारका कारण असीमित खुसी भएको कुनै क्षण ?

थोकमा त्यस्तो खुशी छैन । खुद्रा खुशी त कति हो कति ?

भुलवश समाचारमा गलत सन्देश दिएर अप्ठ्यारोमा पर्नुभएको छ ?

द्वन्द्वकाल थियो । पश्चिम दाङमा माओवादीहरुबीच आपसमै लडाइँ परेको समाचार एकजना पत्रकार साथीले मेरो इमेलमा पनि हालिदिनु भो । त्यो बेला क्रसचेक गर्न सकिने स्थिति थिएन । “सुरक्षास्रोत”ले जनाएको लेख्नुबाहेक अर्को विकल्प थिएन ।

मैले त्यो सानो समाचारको गम्भीरतालाई आँकलन गर्न सकेनछु । अन्नपूर्ण पोष्टको सम्पादकले चाहिँ त्यसको गम्भीरतालाई बुझ्नुभएछ । पहिलो पृष्ठमै छापियो । भएन भनेर रेडियोका अखबार कार्यक्रमले समेत भट्याए ।

“सशस्त्र युद्ध गरिरहेको पार्टीका कार्यकर्ता आपसमै गोली हानाहान गरेको” भन्ने त “ठूलै सन्देश” पो रै’छ । संयोग पनि कस्तो ? जुन साथीले त्यो समाचार इमेलमा पठाइदिनुभयो, उहाँको मिडियाले चाहिँ त्यो समाचार छापेन । परिएन फसादमा ?

माओवादी साथीहरुले मेरो पृष्ठभूमि खोतल्ने र सोधपुछ गर्न थालेछन् । खुराफातिहरुको फेला परेको भए शायद खुबै दुःख पाइन्थ्यो होला । धन्न त्यो कुरा मलाई राम्रैसँग चिन्ने र जिम्मेवार पत्रकारसँग सोधिएछ । उहाँले त्यो काम नियतवश नगरेको, समाचारले बाहिर नराम्रो सन्देश गएको कुरा पनि स्वयं आफैले मलाई सुनाइदिने जिम्मा लिएर बाहिरै रफादफा गरिदिनु भएछ ।

त्यसबाहेक केही समाचारले नयाँ युगबोध दैनिकका सम्पादकलाई कहिलेकाहीं सामान्य झमेलामा पारेको सम्झना छ ।

सार्वजनिक स्थलमा पत्रकारहरुका बारेमा टिकाटिप्पणी भइरहँदा कस्तो लाग्छ ?

स्वभाविकरुपमा सकारात्मक र नकारात्मक दुबै टिप्पणी हुन्छन् । सकारात्मक टिप्पणी हुँदा खुशी लाग्नु र नकारात्मक टिप्पणी हुँदा दुःख लाग्नु त मानवीय स्वभाव नै हैन र ?

पत्रकार नभएको भए के हुनुहुन्थ्यो होला ?

जिन्दगी नापेको र तौलेको जस्तो हुँदैन । यो हुन्थें भन्नु एउटा कुरा । तर, जिन्दगीले जता डोर्याउँथ्यो, उतै हिडिरहेको हुन्थे होला लुरुलुरु ।ध

प्रकाशित मिति : २०७१ साउन २८ गते बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *