अल बिदा श्रीकृष्ण

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 146 Views   ||

shreekrishnaनेपाली चलचित्र क्षेत्रका सदावहार नायक श्रीकृष्ण श्रेष्ठ सदाका लागि यस धर्तीबाट बिदा भएका छन् । चलचित्रमा सामाजिक पात्रको भूमिकामा उत्कृष्ट अभिनय गरेर दर्शकको माझ आफ्नो छुट्टै पहिचान बनाएका नायक श्रेष्ठले सबै नेपालीलाई रुवाएर गएका छन् ।

अघिल्लो दिन रिलिज भएको चलचित्र ‘कोहिनूर’मा स–शरीर उपस्थित हुन नसकेपछि फोनमार्फत् दिल्लीस्थित अस्पतालकै बेडबाट दर्शकहरुलाई सम्बोधन गरेर फिल्म रिलिजको अवसरमा आउन नसके पनि ‘छिट्टै फर्किने र दर्शकहरुसँग सँगै बसेर चलचित्र हेर्ने’ बताएका अभिनेता श्रीकृष्ण श्रेष्ठ भोलिपल्ट बिहानै कहिल्यै नफर्किने गरी अस्ताए ।

आफ्नो अन्तिम चलचित्र ‘कोहिनूर’मा सँगै अभिनय गरेकी नायिका श्वेता खड्कासँग गत असार २३ गते मात्र विवाह गरेका थिए श्रेष्ठले । विवाहको मधुमास नसकिदै खड्काले जिन्दगीकै एउटा निकै गहिरो पीडाको सामना गर्नुपरेको छ ।

विवाह बन्धनमा गाँसिएसँगै भविष्यको नयाँ सपना बोक्दै मधुमास मनाउन भारत गएकी श्वेता नेपाल फर्किदा भने पतिको लाश लिएर फर्किनुप¥यो । भारतमा गएलगत्तै निमुनियाले सताएपछि श्रीकृष्ण दिल्लीमा उपचार गराइरहेका थिए । निमुनियाको उपचारसँगै उनीलाई बोन क्यान्सरले ग्रस्त पारिसकेको थियो । क्यान्सरको उपचार थाल्दा थाल्दै उनको आइतबार बिहान निधन भयो ।

उनको शवलाई सोमबार नेपाल ल्याएर राष्ट्रिय सम्मानसहित अन्तेष्टि गरिएको छ । श्रेष्ठको शव यात्रामा हजारौं शुभचिन्तक भावविह्ल हुँदै पशुपति आर्यघाटसम्म पुगेका थिए । श्रेष्ठको निधनले चलचित्र क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ भने देशले पनि एउटा असल कलाकारलाई गुमाउन पुगेको छ । ४७ बर्षीय श्रेष्ठले अहिलेसम्म एक सयभन्दा बढी फिल्महरुमा अभिनय गरिसकेका छन् । उनको निधनले नेपाली चलचित्र जगतका सर्वाधिक चर्चित, असल र सुन्दर अभिनेतालाई गुमाउनुपरेको छ ।

०४४ मा नाटक ‘देशदेखि विदेशसम्म’ खेल्दै अभिनय यात्रामा होमिएका श्रीकृष्ण त्यसपछि प्रज्ञाप्रतिष्ठानमा गीतिनाटक ‘रामलीला’ खेल्दा फिल्म लेखक मोहन निरौलाको आँखामा परे । निरौलाले नै उनलाई २०४५ मा ‘भुमरी’मार्फत् फिल्ममा छिराए । २०४९ मा फिल्म ‘नाता’बाट उनी आमदर्शकका ‘हिरो’ बनेर उदाए । उनको पछिल्लो होम प्रोडक्सन चलचित्र ‘कोहिनूर’ हिजोआज नेपालका दर्जनौं चलचित्र हलहरुमा लागिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *