जातीय गौरवका लागि सहिष्णुता | माधव चौधरी

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 196 Views   ||

Madhab_chaudhari“चौधरी थर भएकाको जात के लेख्ने सर ?” विद्यालयमा जनगणनाको नमुना अभ्यास गरिरहेका विद्यार्थीले सोधे । “थारु” । मेरो जवाफ सुनेपछि तुरुन्तै ती विद्यार्थीको प्रतिक्रिया आयो “सोझै थारु लेख्ने सर ?” चौधरी थर हो, चौधरी जात होइन, थारु हो भन्ने मेरो जवाफपछि ती विद्यार्थी सहमत त भए । तर, “थारु” शब्दप्रति कतिपय मानिसहरुको धारणाको बारेमा मेरो मनमा कुरा खेल्न थाल्यो । यसअघि पनि अनौपचारिक गफगाफमा थारु जाति भन्न नसकेर चौधरी जाति भनेको मैले धेरै पटक सुनेको छु । यो थारु समुदायको बारेमा रहेको धारणासँग जोडिएको मनोवैज्ञानिक समस्या हो ।

१५/२० बर्ष पहिले म बिद्यालयमा पढिरहँदा साथीहरुको बीचमा भनाभन चलिरहन्थ्यो, कहिलेकाहीं थारु र गैरथारु साथीहरु बीचमा पनि । थारु र गैरथारु साथीहरुको बीचमा भएको भनाभनका क्रममा गैर थारु साथीले थारुलाई “थारु” भनेर गाली गर्थे । थारु साथीहरुले पनि “आफूलाई थारु भनेको” भनेर पीर मान्थे । आफूलाई थारुभन्दा पीर मान्ने मनोविज्ञानको उत्पत्ति कसरी भयो ? यो अत्यन्तै मननीय बिषय हो । सँगै पढेका मेरा एकजना साथी छन् जसले आफ्नो थर बर्मा नभनेर शर्मा भन्थे । साहित्यिक नामको बहानामा आफ्नो थर लुकाउने मानिस पनि मैले देखेको छु ।

लोक तथा दोहोरी गायक पशुपति शर्माको हालसालै बजारमा आएको “हामी नेपाली हौं…” बोलको गीत त्यसमा प्रयोग भएको “कमिनी”, “दमाई” जस्ता शब्दका कारण विवादमा आयो । विवादपछि गायक शर्माले आफुले सो गीत बन्द गरेको घोषणा गरे । कतिपय दलित अगुवाहरुले सो गीतलाई जातीय भेदभाव विरुद्धको अहिलेसम्मकै सबैभन्दा क्रान्तिकारी गीत भने पनि आफूहरुलाई सोझै “कामी” वा “दमाई” भनेको भनेर पीर मान्नेहरु छन् । मेरो व्यक्तिगत विचार पशुपति शर्माको सो गीत बन्द होइन, प्रचार गर्नुपर्ने गीत हो ।

जातीय पहिचान, अधिकार र जातीय समावेशीकरणको कुरा गर्नेहरुले आफ्नो जात लुकाउन खोज्नु आफैमा विराधाभाषी कुरा हो । यसको अन्त्य हुनुपर्छ । आफ्नो जातप्रति गर्व गर्न सिक्नुपर्छ । तर, यो सन्दर्भमा, कसैको जात बुझाउने वास्तविक शब्दलाई गाली गर्ने वा हेप्ने शब्दको रुपमा प्रयोग गर्ने वा गालीको रुपमा बुझ्ने मनोविज्ञान कहाँबाट आयो ? भन्ने प्रश्न मनन गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा हो ।

राजनीतिक आस्था, दलप्रतिको आबद्धता, पूर्वाग्रह वा बुझाइमा भिन्नताका कारण जसले जे तर्क गरे पनि नेपाली समाजमा जातीय समस्या छ भन्ने कुरा सत्य हो । कारण विभिन्न होलान्, कुनै निश्चित वर्गमा कुनै निश्चित जातिको बाहुल्यता हुने अवस्था नेपाली समाजमा छ । हाकिमहरुको भेलामा एक खालको जातिहरुको बाहुल्यता हुने र बाँकी अरु जातिका मानिसहरुको उपस्थिति पियनहरुको भेलामा बढी देखिने समाज बनिसकेको छ । अब यसको अन्त्य नै जातीय अधिकारको कुरा गर्नेहरुको उद्देश्य हो र हुनुपर्छ । नेपालीहरुको बसाइँमा रहेको मिश्रणजस्तै सबै वर्ग, सबै तहमा सबै खालका मानिस भेट्न सक्ने परिस्थिति खोजिएको हो । जाति अनुसार उसको स्थिति, क्षमता, आचरण आँकलन गर्ने तथा आफ्नो जातिप्रति हिनताबोध गर्नुपर्ने परिस्थितिको अन्त्य खोजिएको हो ।

वर्णाश्रम व्यवस्था र वर्णअनुसार फरक–फरक स्थानबाट मानिस उत्पत्ति भएको भन्ने विगतको धार्मिक व्याख्याले मानिसलाई जातिअनुसार उँचनिच भन्ने बनायो । हाम्रो समाजमा परम्परागत सोच भएका पुराना मान्छेहरु मात्र होइन, आधुनिक भनिने कतिपय मानिसले पनि अनौपचारिक कुराकानीका क्रममा उँचनिच जातको कुरा गर्छन् । आफूले जातीय छुवाछूत नगर्ने भनेर भाषण गर्ने कतिपय उपल्लो भनिने जातका मानिसहरुले पनि दलितसँगै बसेर खाना खाँदा अप्ठ्यारो मान्ने गरेका छन् । त्यतिबेला उनीहरु रुन्चे हाँसो हाँस्न बाध्य छन् । नेपालमा रहेको यो जातीय छुवाछूत र भेदभावको अवस्थाले नै कतिपयमा आफ्नो जात भन्न अप्ठ्यारो मान्ने मनोविज्ञान जन्मेको हो ।

जातीय छुवाछूत र भेदभावको कुरा मात्र गरेर हुँदैन, वर्तमान र भविष्य सुन्दर बनाउन अब हामीमा भएको जातीय सहिष्णुतालाई अझ व्यापक बिस्तार गर्नुपर्ने भएको छ । सबैले आ–आफ्नो जातिप्रति गर्व गर्ने र बाँकी सबै जातिप्रति सौहार्द, सहिष्णु धारणाको बिकास र बिस्तार गर्न दुइखालका बिधि अपनाउनु पर्छ– आन्तरिक र बाह्य । आन्तरिक भन्नाले तल्लो भनिएका समुदायले आफ्नो जातप्रति गर्व गर्ने, आफ्नो समुदायमा कुनै खराब परम्परा भए सुधार गर्ने, शैक्षिक बिकासका लागि कोसिस गर्ने, समाज र राज्यप्रतिको दायित्व पूरा गर्दै आफ्नो अधिकारका लागि राज्यसँग माग गर्ने हो । बाह्य भन्नाले सम्बन्धित जातिबाहेक अन्य समुदाय र राज्यले जातीय समानताका लागि सहिष्णु तरिकाले प्रयास गर्ने भन्ने हो । आवश्यक नीति र संरचना निर्माण तथा कार्यान्वयन गर्ने राज्यको दायित्व हो भने जातीय समानता र सहिष्णुता बिरोधी पुराना परम्परा र धारणा बिस्थापित गर्दै जानु अन्य समुदायको दायित्व हो । सञ्चारमाध्यमहरुले पनि यी प्रयासमा सहभागी हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *