रुकुमका अधिकांस औषधी पसल गैरकानुनी

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 139 Views   ||

dr ko bram phailayako photoएमबिबिएस डाक्टर कार्यरत देखाएर बिरामीलाई भ्रम

मेगराज खड्का
रुकुम । जिल्ला सदरमुकाम आसपासमा सञ्चालनमा रहेका मेडिकल तथा सामुदायिक अस्पतालहरु गैरकानुनी तरिकाले सञ्चालन भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय रुकुमले गरेको अनुगमनमा यस्तो अवस्था भेटिएको हो ।

अनुगमनका क्रममा अधिकांश मेडिकल तथा अस्पतालहरु अनुमति नै नलिई सञ्चालनमा रहेको पाइएको हो । जसमा धेरै औषधी पसलहरु दर्ताबिना सञ्चालनमा छन् भने केही दर्ता भए पनि सम्बन्धित व्यक्ति औषधी पसलमा बस्ने गरेका छैनन् ।

अनुगमनमा सहभागी जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डा. भोजराज गौतम एउटाको इजाजत पत्रमा अरु कोही आफन्त औषधी पसलमा बसेर व्यवसाय गरिरहेको भेटिएको बताए ।

औषधीजस्तो संवेदनशील चीजमा आफु खुसी बिक्रिबितरण गर्नु मानव स्वास्थ्यका लागि नराम्रो काम भएको उनको भनाइ छ । ‘जिल्लामा सञ्चालित साना औषधी पसलदेखि ठूला सामुदायिक अस्पतालहरु पनि दर्ता बिना नै सञ्चालनमा रहेको पाइयो’ जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख गौतमले भने, ‘धेरै मात्रामा यस्तो समस्या फेला परेका कारण समाधान गर्न जिल्लास्थित सबै सरोकारवालाहरुको सहकार्य र एकता आवश्यक छ ।’

जिल्ला अस्पताल सल्ले आसपासमा सञ्चालित मेडिकल तथा औषधी पसलहरु समेत गैरकानुनी ढंगबाट सञ्चालन हुनाले ग्रामीण स्तरका मेडिकलहरुको बारेमा समेत शंका गर्ने प्रशस्त ठाउँ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख गौतमले केही समयअघिदेखि सल्लेमा सञ्चालनमा आएको खलंगा मोडेल अस्पताल बिना अनुमति सञ्चालनमा भेटिएको बताए । उनका अनुसार उक्त अस्पतालको प्रयोगशालामा म्याद गएका औषधीहरु समेत प्रयोग गरिएको भेटिएको थियो ।

अनुमति बिनै मेडिकल सञ्चालन मात्र नभएर उनीहरुले काठमाण्डौ नेपालगञ्ज लगायतका विभिन्न प्रतिष्ठित अस्पतालमा कार्यरत डाक्टरहरुको नामसमेत साइनबोर्डमा उल्लेख गरेर सर्वसाधारणलाई भ्रम फैलाएको पाइएको छ । उनीहरुले काठमाण्डौं नेपालगञ्जका लगायतका विभिन्न अस्पतालहरुमा कार्यरत डाक्टरहरुको नाम औषधी पसलमा कार्यरत कर्मचारीको सूचिमा राखेको भए पनि अनुमगनका क्रममा कोही डाक्टरहरु भेटिएका थिएनन् ।

अनुगमनको नेतृत्व गरेका रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले गैरकानुनी तथा यस्तो भ्रम फैलाएर औषधी पसल सञ्चालन गर्ने जिल्लामा धेरै रहेको बताए । उनका अनुसार औषधी पसल तथा अस्पताल सानो व्यवस्थापनको भए पनि अत्यधिक प्रचार गरिएको छ । जिल्लाको सोलावाङको औषधी पसल अनुगमनमा यस्तो प्रशस्त प्रमाण भेटिएको उनको भनाइ छ ।

‘सोलावाङमा सञ्चालित राप्ती सामुदायिक क्लिनिक तथा राज मेडिको फर्मामा यस्तै बदमासी गरेको भेटियो’ सहायक प्रमुख जिल्ला अधिकारी रानाले भने, ‘औषधी पसल सञ्चालनको समेत अनुमति नलिएका ठाउँमा काठमाण्डौ लगायतका प्रतिष्ठित अस्पतालमा कार्यरत डाक्टरहरुको नाम उल्लेख गरि सर्बसाधारणमा भ्रम सृजना गरका रहेछन् ।’

उनका अनुसार उक्त औषधी पसलहरुलाई त्यस प्रकारका प्रचार सामाग्री हटाउन निर्देशन दिएको र थप जाँचबुझका लागि प्रशासनमा बोलाइएको छ । यो अनुगमन पहिलो चरणमा रहेको बताउँदै भ्रम फैलाउनेदेखि मेडिकल सञ्चालनको कानुनी प्रकृया नपु¥याएर औषधी पसल तथा अस्पताल सञ्चालन गर्नेहरुलाई चरणबद्धरुपमा कारबाही प्रकृया अगाडि बढाइने सहायक प्रजिअ रानाले बताए । त्यस क्रममा केहि औषधी पसलहरु बन्दसमेत गरेको भेटिएको थियो । अनुगमन क्रममा अनुमति नै नलिएर गाउँ–गाउँमा आफु खुसी स्वास्थ्य शिविर आयोजना गरि आफ्नो सेवा सुविधाको बारेमा सर्बसाधारणहरुलाई भ्रमसमेत पार्दै आएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जनाएको छ । उनीहरुले भएभरका रोगको उपचार हुनेदेखि अत्याधुनिक उपचारसमेत हुने प्रचार गरिरहेका छन् ।

कार्यालयका अनुसार कुनै पनि संस्थाले स्वास्थ्य शिविर सञ्चालन गर्न क्षेत्रीय तथा जिल्ला स्वास्थ्य कार्यालयको अनुमति अनिवार्य रुपमा लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । गैरकानुनी ढंगबाट औषधी पसल तथा अस्पतालहरु सञ्चालन गरेका सञ्चालकहरुले आफुहरु केही समस्याका कारण दर्ता गर्न नसकिएको भए पनि दर्ता प्रकृयामा नै रहेको बताएका छन् ।

जिल्लाका औषधी पसलहरु पहिले दर्ता तथा पछि सञ्चालन गर्नुपर्नेमा दर्ता नै नगरि पहिले सञ्चालनमा ल्याउने गरेका हुन् । पहिले अनुमति नै नलिई गैरकानुनी ढंगबाट सञ्चालन गर्ने औषधी पसल र अस्पतालहरुलाई कानुन अनुसार कारबाही गर्नुपर्ने सर्बसाधारण तथा सरोकारवालाहरुको भनाइ । अनुगमनमा सहभागी रुकुम उद्योग बाणिज्य संघका प्रतिनिधि मोहबीर खड्काले औषधी तथा उपचारजस्तो क्षेत्र गैरकानुनी हुनु सबैको लागि दुखद भन्दै यसमा स्थानीय प्रहरी प्रशासन गम्भीर बन्नुपर्ने बताए ।

प्रकाशन मिति : २०७१ साउन १४ गते बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *