दाउराको विकल्प वायो विक्रेट

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 223 Views   ||

bayo_bkretप्रतीक इच्छुक शर्मा

सल्यान । गाउँमा वायो विक्रेट निर्माणसँगै दाउराको अभावमा भोग्नुपरेको दुःख टर्ने भएपछि देवस्थलका बासिन्दाहरु खुसी भएका छन् । देवस्थल गाविस–९ देवस्थलका निम्न आय भएका महिला–पुरुषहरु वायो विक्रेट निर्माणमा सहभागी भएका छन् ।

कृष्ण कवुलियती वन समूहमा आवद्ध स्थानीय ११ महिला र ३ पुरुष वायो विक्रेट निर्माणमा सहभागी भएको कमला घर्तीले बताइन् । उनले भनिन्, ‘महिलाहरुको सहभागिता र सक्रियता धेरै रहेको भए पनि पुरुषको पनि उत्तिकै सहयोग छ । वनजंगलमा खेर गइरहेको वनमारा लगायत अनावश्यक झारपात प्रयोग गरेर वायो विक्रेट निर्माण गर्ने गरिएको छ ।

बी–ह्वाभ विक्रेट भनेको दाउराको सट्टामा प्रयोग गरिने एक वैकल्पिक इन्धनको स्रोत हो । यो मौरीको चाकाजस्तै प्वाल भएको हुनाले यसलाई बी–ह्वाभ विक्रेट भनिएको हो । कुनै प्रयोगमा ल्याउन नसकिएको दाउराको स–साना टुक्रा, झारपात, वनमारा, बगैंचाबाट निस्केको खरपातहरु जलाएर बन्ने कोइला पिंधेर तयार भएको धुलोमा माटो मिसाएर विक्रेट तयार गरिने समूहका अध्यक्ष चन्द्रबहादुर घर्तीको भनाई छ ।

उनले भने, ‘विक्रेट साइजअनुसार निश्चित समयसम्म बल्ने गर्दछ । सबैभन्दा सानो साइजको विक्रेट (३ इन्च, ३ इञ्च) ४५ मिनेटदेखि १ घण्टासम्म बल्दछ ।

मझौला साइजको विक्रेट (३ इञ्चदेखि ५ इञ्च) डेढ घण्टादेखि दुई घण्टा बल्दछ भने सबैभन्दा ठूलो साइजको विक्रेट (३ इञ्चदेखि ६ इञ्च) ३५ वटा प्वाल भएको हुन्छ । जो दुई घण्टादेखि साढे दुई घण्टासम्म बल्ने गर्दछ ।

वायो विक्रेट निर्माण कार्यसँगै स्थानीय दाउराको अभावबाट छुटकारा पाइने भन्दै खुसी भएका छन् । कृष्ण कवुलियति वन १२.७५ हेक्टर क्षेत्रमा फैलिएको र यस वनमा धेरै वनमारा र अनावश्यक जातका झारपातहरु पाइन्छन् । वनमाराले जंगलको हरियाली बढाए तापनि त्यसको उपयोग गर्न सकिएको थिएन स्थानीय धनबहादुर बुढाथोकीले अनुभव सुनाए, ‘वनमारा र झारलाई प्रशोधन गरी दाउराको रुपमा उपयोग गर्न सकिन्छ । उनले थपे, विक्रेट ९ वटा प्वाल भएकोलाई २० रुपैयाँ, १९ प्वाल भए ३० र ३५ प्वाल भएकोलाई ४० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

देवस्थल–९ देवस्थल, घाटगाउँ, सल्लीबजार लगायतका क्षेत्रमा इन्धन ऊर्जाको अभाव रहेको छ । आसपासमा रहेको जङ्गल क्षेत्र वनमाराले ढाकिएको छ । वनमारा तथा झारहरुलाई प्रशोधन गरी इन्धनको रुपमा प्रयोगमा ल्याउन सकिने भएपछि स्थानीयबासीले दाउराको आवश्यकता पूरा गर्नुका साथै रोजगारी सिर्जना हुने विश्वास लिएका छन् । वायोविक्रेट आगो बाल्नका लागि उपयोगी भएकाले उपभोक्ताहरुले अग्रिम माग गर्न थालेको कस्मिरा पुनले बताइन् । उनले भनिन्, ‘वायो विक्रेटको उत्पादनलाई बढाउन सके रोजगारीको अवसर पनि सिर्जना हुने थियो ।

समूहकी सदस्य गौरी पुनले विक्रेटले गर्दा जथाभाबी वन जङ्गल फडानी रोक्न मद्दत पुग्नेछ । वनमा भएका रुखविरुवा जोगिनेछन् । वातावरण प्रदुषण कम हुने, धुवाँ कम आउने, लामो समयसम्म प्रयोगमा ल्याउन सकिनेछ । उनले खुसी हुँदै भनिन्, ‘दाउराको अभाव पूर्ति गर्नुका साथै वातावरण सन्तुलित राख्न सहयोग पुग्दछ । विक्रेट जाडोमा आगो ताप्न, बूढाबूढी र बच्चालाई सेकाउन, ३ जनादेखि ७ जनासम्मको परिवारलाई खाना पकाउन र बजारमा सेकुवा पोल्न आदि काममा उपयोगी रहेको छ ।

वायोविक्रेट निर्माण आयआर्जनको माध्यम बनेको छ । वनमा खेर गइरहेको वनमारालाई कोइला बनाई आगो बाल्नमा प्रयोग गरिएको छ । वायो विक्रेट निर्माणमा अधिकांश महिलाहरु सक्रिय हुने गरेका छन् । काम गरेवापतको रकम कृष्ण कवुलियति वन समूहले भुक्तानी गर्ने गरेको अध्यक्ष घर्तीले जानकारी दिए । उनले भने, ‘महिलाहरुलाई आयआर्जनमा सहभागी बनाउँदैै आएका छौं ।

वायो विक्रेटका लागि आवश्यक पर्ने कच्चा पदार्थ वनमारा आफ्नै समूहको वनबाट ल्याउनुका साथै छिमेकी वयाला कवुलियती वन आम्राबाट पनि ल्याउन गरेको बताउँछन् । जिल्लाका विभिन्न निकायको सहयोग र समन्वयमा समूहमा आवद्ध सदस्यहरुले वायो विक्रेट निर्माण गृहसमेत बनाएका छन् ।

यस कार्यको प्रचारका लागि उनीहरुले वायो विक्रेट विभिन्न बजारहरुमा नमूनाको रुपमा लैजाने गरेका छन् । उद्यमशीलताका विभिन्न कार्यक्रममा समूहले निर्माण गरेको वायो विक्रेट प्रदर्शनी गरेर पुरस्कारसमेत प्राप्त गरेको समूहका अध्यक्ष चन्द्रबहादुर घर्तीले जानकारी दिए । उनले भने, ‘वायो विक्रेटको परिचय, महत्व, उपयोगिता आदिबारे लेखिएको पर्चामार्फत् पनि प्रचार प्रसारलाई व्यापकता दिने गरेका छौं ।’

वायो विक्रेट निर्माणमा उत्साहित कृष्ण कवुलियति वनका सदस्यहरु विक्रेट उत्पादन कार्यको वृद्धि गर्न एकजुट हुँदै वनको खाली क्षेत्रमा सुख्खा ठाउँमा हुने वोटविरुवा रोप्ने योजनासमेत बनाएको ३२ वर्षीय मनकुमारी पुनले जानकारी दिइन् । यी सबै क्रियाकलापलाई योजनावद्धरुपमा लैजान संस्थागत विकासका लागि नियमितरुपमा प्रत्येक महिनाको १४ गते बैठक बस्ने गरेको छ । उक्त बैठकमा वनको संरक्षण, उपभोग, वायो विक्रेट, बचत, ऋण लगानी आदिका बारेमा छलफलसमेत उनीहरुले गर्ने गरेका छन् । समूहका प्रत्येक सदस्यहरुले मासिक रु. १० बचत गर्ने गरेका छन् । उक्त बचतको रोचक प्रसङ्ग के छ भने जम्मा भएको बचतकोे १ प्रतिशत रकम समूहमा आवद्ध भएका सदस्यहरुको जीवन विमाका लागि समेत सञ्चित गरेका छन् ।

प्रकाशित मिति : २०७१ साउन १४ गते बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *