३८ कृषि समूहलाई अनुदान दिने तयारी

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 121 Views   ||

दाङ । साना तथा मझौला कृषक आयस्तर वृद्धि कार्यक्रमअन्तर्गत यस वर्ष जिल्लाका ३८ वटा समूह र सहकारीका लागि अनुदान रकम आउने भएको छ  । केन्द्रीय कृषि विकास कार्यालयमा जिल्लाले सिफारिस गरेको ७१ वटा दर्ता प्रस्तावमध्ये ३८ वटा प्रस्ताव अनुदानका लागि प्रारम्भिक रुपमा छनोटमा परेको त्यसको अन्तिम छनोट भने हुन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । अघिल्लो बर्ष ५ कृषि समूह, १ सहकारी र १ निजी उद्यमलाई गरी ७ ठाउँमा अनुदान दिइएको थियो ।

अनुदानका लागि प्रस्तावितमध्ये ३८ वटा मात्रै छनोटमा परे पनि त्यसले जिल्लाको कृषि व्यवसाय वृद्धि र विकास गर्नमा राम्रो भूमिका खेल्ने कृषि विकास कार्यालयका प्रसार अधिकृत भरतमणि पोख्रेल बताउनुहुन्छ । पोखे्रलका अनुसार केन्द्रले प्रदान गर्ने अनुदान रकम योजना छनोट गरी कृषक समूह, सहकारी र उद्यमी फर्महरुलाई दिइने छ । कृषकको आयस्तर बृद्धिका लागि केन्द्रीय कृषि विकास कार्यालयले दिने अनुदानको संख्या बृद्धिसँगै जिल्लाले पनि कृषि व्यवसायका लागि योजनागतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

कृषि विकास कार्यालयले करिब ४५ लाख ३० हजारको लागतमा ५ सय ४० हेक्टर क्षेत्रफल जमिनलाई सिचाइ पुग्ने गरी जिल्लाका विभिन्न ४३ ठाउँहरुमा साना सिचाइ कार्यक्रम सम्पन्न गरेको छ । जुन सिचाइ आयोजनाबाट कृषकहरुले सहकारी खेती र कृषक समूहहरुले तरकारी खेती गर्दै आइरहेको कृषि प्रसार अधिकृत पोख्रेलले बताउनुभयो ।

त्यस्तै कृषि विकास कार्यालयले सञ्चालन गरेको अभियानमुखी माछापालन र माहुरी पालन कार्यक्रम प्रभावकारी र सफल बन्दै गएको कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलले बताउनुभयो । जिल्लामा अहिले ३० बिघा क्षेत्रफल जमिनमा माछापालन भइरहेको र एक हेक्टर जमिनमा माछा पाल्नका लागि १ लाखको रकम अनुदान र अन्य प्राविधिक सहयोग कृषि कार्यालयले प्रदान गरिरहेको प्रसार अधिकृत पोख्रेलले बताउनुभयो । त्यस्तै माहुरीपालनका लागि कृषकहरुलाई घार किन्नका लागि ३३ प्रतिशत छुटका साथै प्राविधिक सहयोग र तालिम प्रदान गर्ने काम कृषि कार्यालयले गरिरहेको उहाँले बताउनुभयो ।

स्थानीय जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत अहिले हाँसिपुर गाविसका २५ किसानलाई गोलासहितको ५० घार सेराना जातको माहुरी निःशुल्क वितरण गरिएको कृषि कार्यालयका प्रसार अधिकृत पोख्रेलले जानकारी दिनुभयो । सोही जलवायू अनुकूलन कार्यक्रमअन्तर्गत आँप, अनार, कागती र केरा गरी ८ हजार विरुवा ढुवानी खर्च मात्र लिएर किसानहरुलाई वितरण गरिएको पोख्रेलले बताउनुभयो ।

जिल्लामा मकै, भटमास, तोरी, मसुरो जस्ता बालीहरु लगाउन किसानहरुलाई कृषि कार्यालयले उत्प्रेरित गर्ने उद्देश्यले बीउमा ३३ प्रतिशत अनुदान, जग्गा लिजमा लिई खेती गर्नेहरुलाई एक हेक्टर जग्गाका लागि १ लाखसम्म र कृषि इञ्जिनियरिङ, कृषि यन्त्रहरुमा समेत अनुदान दिने व्यवस्था गरेको प्रसार अधिकृत भरतमणि पोख्रेलले बताउनुभयो ।

विभिन्न बालीहरुको बीउ उत्पादनमा ध्यान दिदै कृषि कार्यालयले प्रमाणित बिउ किसानलाई सहुलियत दरमा प्रदान गर्ने र काउली, टमाटर, भिण्डी, करेलाजस्ता तरकारीहरु जिल्ला बाहिरसम्म पु¥याउने गरी तरकारी खेतीका लागि कृषकलाई आकर्षित गर्ने कार्यक्रम ल्याउने पोखे्रलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७१ साउन १४ गते बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *