राजधानी मोदीमय भयो, गाउँ जलमय भयो । राजधानी बेहुली सिंगारिएजस्तो भयो, सिन्धुपाल्चोकमा सुनकोशी थुनिदा सिन्धुपाल्चोक मात्रै हैन् रामेछाप, काभ्रे, सिन्धुली, सुनसरी र कोशी आसपास बिहारसमेत स्यामसान जस्तो भयो । साउनको १८ र १९ उच्चताबोध र हीनताबोधको संगम भयो । राजधानी संवेदनाहीन र दास मानसिकताको प्रदर्शनी थलो बन्यो । पढैयाका वौद्धिक दासता छताछुल्ल भए, भारतीय विस्तारवाद भन्ने शब्द स्यालका सिङ भए । एकाएक बाघ शाकाहारीजस्तो देखियो । भारत स्वर्ग हो त्यहाँबाट साक्षात् भगवानको टुप्लुक्क यस हिमालय मत्र्यलोकमा पैदा भए र अन्तध्र्यान भए । अभाव, तनाव र गरिबी, भोकमरी, अविकास थलो नेपालै मात्र हो भन्ने पारियो । के चाहियो यो सिधा जाति नेपालीलाई, माया गरेपछि फुरुक्क हुन्छ, हेपेपछि खुकुरीको धार बन्छ । त्यसैले हेप्नेभन्दा मोदी अस्त्रमा माया र सम्मानको दैवीदाप चढाइयो ।
मोदी आए, अनेकौ तरंग छोडेर फर्किए । मानवता देखाए, भ्रमण अवधिभर हरेक कार्यक्रममा साँस्कृतिक राष्ट्रवादको राजनीतिक चातुर्य प्रदर्शन गरे, दिल खोलेर नमागेको सहयोग गरे, सार्वभौम राष्ट्रको पुनः सम्मान गर्दै गौतम बुद्धको जन्मस्थलीबारे बहसलाई पूर्णविराम लगाए, नेपाल विकासका लागि अरु सहयोगी मात्र हुन सक्छन्, गर्नु त आफैले पर्छ भन्ने नेतागणलाई दिक्षा दिए । मधेश भनेनन् तराई भने । राजतन्त्रको समर्थन नगर्ने संकेत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र त भने तर त्यसमा धर्मनिरपेक्ष शब्द प्रयोग नगरेर हिन्दू गणतन्त्रको भारतीय समर्थनको सन्देश दिए, अर्थात् यी सबै भारतीय शासन मोडलको । शस्त्रबाट शास्त्रमा फेरिएकोमा द्वन्द्वको रुपान्तरणलाई समर्थन दिए । पुराना व्याख्या, व्यवहार र सोचले नयाँ चुनौति सामना गर्न सक्दैन भनेर नयाँ अपील गरे । संसार बदलिदैछ, नयाँ चुनौति सम्भावना पनि त्यत्तिकै बदलिदैछन्, व्यवहार बदलिएन भने समयको गति पछ््याउन सकिदैन भन्ने उद्घोष नै मोदी भनाइको चुरो हो । यी सबैमा नेपालप्रति भारतीय नीति नेहरु डक्ट्रिन, गुजराल डक्ट्रिन र श्यामाशरण डक्ट्रिन फेरिएको सन्देश नै नेपाली संसदमा दिएको अभिव्यक्ति हो । यो व्यावहारिक अभ्यास कति हुन सक्छ, भविष्यले बताउने छ, अहिले नै अति आशावादी धारणा बनाउन हतारिनु भने हुँदैन ।
हाम्रो सर्वाधिक नजिकको छिमेकी मित्र राष्ट्रको सोच, भूमिका, मान्यता र व्यवहार नियाल्दा एकैपटक भारत, इण्डिया, हिन्दुस्तान र भिडिस्तान पाउँछौं । भारत हामीसँग सम्मान दिएर सम्मान लिन सार्वभौम राष्ट्रले अर्को सार्वभौम राष्ट्रलाई गर्नेजस्तै व्यवहार गर्न चाहन्छ भने इण्डिया लर्ड कर्जनले बनाएको उपनिवेशकालीन दबाबमा राखेर सलाम ठोकाउन । हिन्दुस्तान साँस्कृतिक सामिप्यता देखाउँदै इतिहासको आँखीभ्mयालबाट मात्रै नियाल्न चाहन्छ, त्यसै नजिरबाट हेर्न चाहन्छ । मनुसंहिता उसको मूलनीति हो । भिडिस्तान भीडको शासक मनोविज्ञान हो । यो बजार अर्थशास्त्रले नियन्त्रण र निर्देशन गरेको सामाजिक व्यवहारमा भर पर्छ । उसले सीमा कुर्ने गोर्खा सेना देखेको छ, रेडलाइट एरियामा नेपाली चेली देखेको छ, अदक्ष ‘बहादुर’ श्रमशक्ति देखेको छ । अभाव र तनाव भएर सस्तो सामग्री पाइन्छ कि भनेर सीमावर्ती बजारमा सिपाहीजीको डण्डा खानेहरुलाई देखेको छ । तर अहिले नेपालसम्बन्धी परम्परागत नीति र व्यवहारले नयाँ परिस्थितिलाई सम्बोधन गर्न सक्दैन् भन्ने मोदी मान्यता हो ।
उनको नेपाली संसदीय भाषणमा नयाँ सन्देश, आव्हान, आदर्श देखियो । त्यो एकातर्फ उनको वैचारिक आधार ‘साांस्कृतिक राष्ट्रवाद’ आधारित थियो भने अर्को पक्ष विश्व महाशक्तिको दौडमा भारत सहभागी भएको र त्यसको लागि छिमेकीसँगको सम्बन्धलाई हार्दिकतामा फेर्नु पर्छ भन्ने मान्यताले प्रेरित । मोदीले नभनेको पक्ष र दिएको संकेत भनेको भविष्यमा भारतको पानी र ऊर्जासम्बन्धी चिन्ता । विश्वका सामरिक चिन्तकहरुको ठम्याइमा आउने शताब्दी भनेको पानी संकट र पानी द्वन्द्व नै हो । भारतीय चासो र चिन्ताको प्राथमिकता पनि त्यही हो । त्यसको लागि नेपाली जनमानस हेपाहा नीति पचाउन नसक्ने र माया एवं ममताले हृदय जित्न सकिने भन्ने कुरा भारतीय गोर्खा रेजमेण्टको मनोदशा मोदीले राम्रै नाडी छामेका देखिए । गुजराती मोदीको व्यापार कलामा अरुलाई लाभ दिएर मात्र लाभ लिन सकिन्छ भनेर भारतीय सत्ताको अहंकारी चरित्रमा लचकता पनि प्रदर्शन गरे । हेपेर तर्साउन त सकिन्छ तर हृदय जित्न, प्रेम र सम्मान लिन त सम्मानै प्रदर्शन गर्नुपर्छ भन्ने हो ।
आफैं पृथकतावादी समस्या र पीडामा रहेको भारतले नेपालको मधेश र श्रीलंकाको तामिललाई हेर्ने दृष्टिकोणको मोदी अभिव्यक्ति श्यामासरण चिन्तनभन्दा फरक देखियो । भाषासम्बन्धि हालैको भारत सरकारको उनको दृष्टिकोणको छनक मधेश नभनी तराई भन्नुमा देखियो । भित्री कुरा त दुइपक्षीय वार्तामा होला, कुटनीतिक संवादमा लिन र देनमा होला । भारतीय राष्ट्रिय चासोमा खुला सीमाका कारण भारतीय भूभागमा प्रवेश गर्ने ‘आतंकवादी’ र नेपाली मार्ग हुँदै नक्कली भारतीय मुद्राले त्यहाँको अर्थतन्त्रलाई पारेको नकारात्मक प्रभाव, दक्षिणतर्फ संख्यात्मकरुपमा खुलेको मदरसा हुन् । ती इस्लामिक शैक्षिक कारणले मात्र हुन भन्न सकिदैन । तीव्र भारतीय आर्थिक विकास दरलाई ऊर्जाको आवश्यकता त्यत्ति नै खट्केको छ, त्यसको वैकल्पिक व्यवस्था हुन सके पनि जीवनको लागि पानीको विकल्प पानी नै हो । नेपाली पहाडी क्षेत्रमा जम्मा गरेको वर्षेे पानीले ऊर्जा, सिचाइ, बाढी नियन्त्रण उसको जल–रणनीतिको अर्को हिस्सा हो । अमेरिकालाई जसरी मध्यपूर्व तेलको लागि आकर्षण छ भारतको लागि नेपाली जलस्रोतले त्यही अर्थ राख्छ । भारतको शताब्दी जलनीति लक्ष्यमा सेन्ट्रल ग्रिड अर्थात् केन्द्रीकृत भारतभरिको जल आपूर्ति गर्नु हो । त्यो शताब्दी नीतिको निरन्तरता मोदी सरकारको प्राथमिकता हो । सिंचाइको अभावले वर्षमा लाखौं किसानको आत्महत्यालाई रोक्न र अन्तरराज्य जलसंघर्षलाई मैत्री बनाउन पनि नेपाली जलस्रोतले भारतीय नीति निर्माताको ध्यान जहिले पनि केन्द्रित गराँउछ ।
शस्त्र र शास्त्रको कुरा गर्दा नेपालले माओवादी द्वन्द्वमा दशक बितायो भने अहिले पनि शान्ति युद्ध चल्दैछ । उनले रुपान्तरणलाई समर्थनको अर्थ भारतीय माओवादीबारेको धारणा पनि हो । भारतको आन्तरिक सुरक्षा चुनौतिमा त्यहाँ बढ्दो माओवादी (नक्सलाइट) विद्रोह नै हो भनेर मनमोहन सिंह सरकार र मोदी सरकार दुवैको ठम्याइ हो । छत्तीसगढ, उडिसा, बिहार, महाराष्ट्र, पश्चिम बंगाल, मध्य प्रदेश, यूपी, आन्ध्र प्रदेश र तेलंगनाका १ सय ८२ जिल्ला अहिले माओवादी अतिप्रभावित क्षेत्र हुन् । महाराष्ट्रदेखि बिहार युपीसम्म बनेको रेड क्यारिडोर भारतीय शासक वर्गको चिन्ता हो भने आदिवासी क्षेत्रमा खानी उत्खनन्मा माओवादीको सशस्त्र प्रतिरोध । भारतीय सत्ता अहिले सैन्य पहलबाटै माओवादी बिद्रोहको हल चाहेर ग्रिनहण्टजस्ता कार्यक्रम चलाउदैछ । स्मरण रहोस् नेपाली माओवादी आन्दोलनको सुरुताका पिपुल्सवार ग्ुपको सामान्य सहयोग, प्रशिक्षण भएता पनि अहिले नेपाली माओवादीको भारतीय माओवादी विद्रोहीसँग कुनै संगठनात्मक सम्बन्ध रहेको छैन । तर, भारतको आशंका कतै नेपाली माओवादीको भारतीय नक्सलाइटसँग सम्बन्ध त छैन ? भन्ने पनि हो । भारतीय जनकवि बरबर रावलाई नेपाल भ्रमणको अनुमति नदिनु पनि त्यसैको एउटा कारण हो । एमाओवादी नेता प्रचण्डलाई भेट्दा मोदीले ड्यास माओवादीसँग भेट्न भने चाहेनन्, ड्यास माओवादी उपाध्यक्ष सीपी गजुरेलले भेट्न चाहेको सार्वजनिक गरिसकेका थिए । आन्तरिक सशस्त्र विद्रोहमा अन्य पक्ष पूर्वोत्तर भारत र कश्मिर त छ नै । मोदीले नेपाली संसद्लाई शस्त्र र शास्त्रको उपदेश दिइरहँदा आफ्नै देशमा के कसो गर्छन् भन्ने पनि हो भने नेपाली गरिबी देखेर हृदय द्रवित भएका उनलाई हरेक वर्षमा गरिबीका कारण हजारौं किसानको आत्महत्याले विकासको स्यामाकिर्णे घोडा दौडाउने र महाशक्ति बन्ने मोदी सपना बनेर देखिएको भारतीय सत्ताका चुनौति हुन् ।
साना र कमजोर देश वा व्यक्तिप्रति आदर गरेर मात्र आदर पाइन्छ भन्ने मोदी मान्यता भनेको हेपेर अहंकार व्यक्त गर्ने शासक वर्गको सिमेण्टेड सोंचको क्रमभंग हो । तर त्यसको छनक राजदुतावास र केन्द्रीय सीमा रक्षक दलको बदलिने व्यवहारले नै उनको भनाइलार्ई सिमाना भनेको व्यारिएर हैन् वृज बन्न सक्नुपर्छ भन्ने भनाईको अर्थ राख्न सक्छ । हरेक विषयमा हस्तक्षेप र अहंकारी व्यवहार गर्ने भारतीय कर्मचारीतन्त्रको बदलिदो भूमिकाले नै मोदीको भनाई जनमानसमा विश्वास आर्जन गर्न सक्छ्र । व्यवहारले कथनी र करनीलाई कति तालमेल मिलाउँछ भन्ने कुरा आउँदा दिनका भारतीय सत्ता व्यवहारको जमिनी परिणाम पनि हुनेछ ।