कालापानी दाङकै पहिलो चरिचरनमुक्त वन

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 103 Views   ||

साउन । दाङको सिसहनियाँ –५ स्थित कालापानी सामुदायिक वन जिल्लाकै पहिलो चरिचरनमुक्त बन्न सफल भएको छ । सो बनलाई गत असार ८ गते चरिचरनमुक्त घोषणा गरिएको हो ।

वनमा २०५७ सालदेखि गाइवस्तु चराउन लैजान प्रतिबन्ध गरिएको थियो । वन क्षेत्रमा गाई वस्तुभाउ चराउन छाडेपछि रुखविरुवा, घाँस, खरलगायत अन्य वन्यजन्तु तथा पानीको मुहानसमेत संरक्षण हुन चालेको वन समुहका उपाध्यक्ष हरिकला पाण्डेले बताउनुभयो । उहाँका अनुसार वनलाई चरिचरनमुक्त बनाउनमा उपभोक्ताहरुले उल्लेख्य सहयोग गरेका छन् ।

उजाड रुपमा रहेको सो क्षेत्रलाई २०४९ सालदेखि संरक्षण गर्दै वनको रुपमा विकास गरिएको थियो । वन १ सय ९५ दशमलव २७ हेक्टरमा फैलिएको छ । वनलाई चरिचरनमुक्त घोषणा गरिएपछि ३ सय ५२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । वन क्षेत्रमा फलफूलको बगैंचा, पानीको मुहान संरक्षणका लागि पोखरी निर्माण तथा जलवायू अनुकुलनअनुसार वन संरक्षणको काम भइरहेको छ ।

‘वनको मुहार नै फेरिएकोे छ, उजाड वन अहिले हरियालीमय भएको छ, वहुमूल्य रुख विरुवा हुर्किदैछन्’ वन समुहका सचिव देवप्रसाद चौधरीले भन्नुभयो, ‘अहिले वनमा खयर, सिसौं, ढौंटी, हर्राे, बर्राेलगायतका बहुउपयोगी विरुवा हुर्किएका छन् ।’

वन संरक्षणमा नमुना बनेको सामुदायिक वनले असारदेखि मंसिरसम्म घाँस बिक्री गर्ने योजना बनाएको छ । प्रतिघर दुई सय ५० रुपैयाँ शुल्क तिरेर घाँस काट्न वनमा प्रवेश गर्न दिइने समितिले बताएको छ ।

सेक्टर वन कार्यालय गढवाका सहायक वन अधिकृत पुरनप्रसाद चौधरीले यसरी जिल्लाका वनहरुलाई चरिचरनमुक्त घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले जथाभावी वन फडानी हु“दा काठको नोक्सानी हुनुका साथै वातावरण प्रदूषण हुने बताउनुभयो । ‘वन संरक्षण गरेको खण्डमा जडिबुटी उत्पादन गर्न सकिन्छ,’ चौधरीले भन्नुभयो ‘यसबाट स्थानीय जनताको आयस्तरमा समेत वृद्धि हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *