‘पखेटा काटिएको चराजस्तै भएका छौं’

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 109 Views   ||

-जनक नेपाली

दाङ (गोलटाकुरी) । साउनको झरीमा रुझ्दै छोराको स्मृति सभा मनाउन आएका गोलटाकुरी–८ कौवाघारीका देवबहादुर सार्कीको मुख मलिन देखिन्थ्यो । सभामा बोली अवरुद्ध पार्दै जब उनी बोल्न थाले त्यसले सम्पूर्ण सहिद परिवारलाई नै भावविह्वल बनायो । देवबहादुरसँगै गोलटाकुरीका १२ जना सहिद परिवारका आँखाहरु अहिले पनि ओभाएका छैनन् । कष्टपूर्ण जीवन बिताइरहेका उनीहरुलाई अहिले परिवार पाल्न मुश्किल परिरहेको छ । परिवार धान्ने जवान छोराहरुलाई माओवादीको आरोपमा तत्कालीन सेनाले हत्या गरिदिएपछि गोलटाकुरीको दलित परिवारमा यो बिचल्लीको अवस्था आएको हो ।

२०५९ साउन १७ गते घरबाट हलो जुवा काट्न भनि जंगल गएका स्थानीय दलित युवाहरुलाई राजाकोट टावरमा रहेको तत्कालीन शाही सेनाले गोली हानी सामूहिक हत्या गरेको थियो । सेनाको गोली लागेर मारिनेहरुमा स्थानीय भुपाल नेपाली, रमेश नेपाली, मंगल नेपाली, सोमराज नेपाली, रमेश नेपाली, जोगबहादुर नेपाली, रामलाल नेपाली, रामप्रसाद नेपाली, देवीराम नेपाली, निपबहादुर नेपाली, रेशम नेपाली र फूलबारी–५ का खड्कबहादुर विक गरी १२ जना युवाहरु रहेका छन् ।

अनाहकमा छोराहरुलाई गुमाएका आफन्तहरुले उनीहरुको हत्यापछि पखेटा काटिएको पंछीजस्तो अवस्था आफूहरुको भएको बताएका छन् । ‘पालिन मुश्किल भइरहेका बेला उनका छोराछोरी पढाउनुपर्ने अवस्था आएको छ, मृतक सोमराज सार्कीका बुवा देवबहादुरले भन्नुभयो । ‘घरमा सम्पत्ति छैन, छोराका तीनवटा छोरी छन् उनीहरुलाई पढाउन मुश्किल भएको छ ।’ देवबहादुरले भन्नुभयो । एक छाक टार्न अरुकै काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै देबहादुरले बुहारी काठमाडौं गएर सिलाइको काम गरेर पठाउने गरेको दुई–चार पैसाले घरको नून तेलको गर्जाे टारिरहेको बताए ।

सहिद परिवारलाई सरकारले दिने भनिएको दश लाख राहतको रकम अहिलेसम्म पूरा नपाएको भन्दै देवबहादुरले त्यो नपाउँदा आफूहरुलाई समस्या पर्दै गएको उनले बताए । सोमराज सार्कीका बुवा मात्र होइन रमेश नेपालीको श्रीमतीको पीडा झन कम छैन । श्रीमान्को सेनाले हत्या गरे सँगै उनी पीडै, पीडामा बाँच्दै आइरहेकी छिन् । छोराछोरीको लालनपालनका लागि आफू अर्कोको ज्यालादारी काम गरिरहेको रमेशकी श्रीमती लक्ष्मी नेपालीले बताइन् । ‘श्रीमान् गुमाउनुको पीडा हुँदाहुँदै पनि एक गाँसका लागि संघर्ष गर्दै आइरहेको छु, उनले भनिन्, ‘राज्यले सहिद परिवारलाई उपेक्षा गरेको छ ।’ श्रीमानको हत्याराहरुलाई कार्वाही र छोराछोरीहरुलाई उच्च शिक्षाको व्यवस्था राज्यले गरिदिनुपर्नेे लक्ष्मीको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *