एम्बुस राख्ने रात | दीपशिखा

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 116 Views   ||

dipshikhaउपन्यास अंश | रात फुलेको याम

साँझपख आकाश खुल्यो र अस्ताउने बेलाको पहेंलो घाम टुपुल्कियो । चराचुरुङ्गीहरु खुसीले चिरबिराउन थाले । धान सप्रिएर फाँट कम मनमोहक थिएन । माथि उत्तरको हिमाल टल्किएको थियो, सेता दाँत देखाएर मस्किएकी युवतीझैं । कुखुराहरु पखेटा फटफटाउँदै चर्न थालेका थिए ।

हामी रातिको तयारीमा लाग्यौं । लामो डोरी, एक किलोमिटर लामो । त्यो फुकाउँदा नअल्झिओस् भनेर म निकै चनाखो रहे । डोरी बोक्ने जिम्मा मेरै थियो र टाँग्ने पनि । डोरी टाँग्ने जुक्त्ति कमान्डरकै थियो । झमक्क साँझ पर्नासाथ हामी निस्कियौं । कमान्डरले दिउसै कार्यविभाजन गरिसकेका थिए ।

टार्गेट प्वाइन्ट आसपासमा सबैतिर निगरानी भयो । खासै खतरा देखिएन । कमान्डरले डोरीको एउटा मुख आफ्नो हातमा बाँधे । कमान्डर, माइन र एक जना मिलिसियालाई छोडेर हामी डोरी फुकाउँदै अगि बढ्यौं । बाटोभन्दा माथिमाथि डोरी, कतै नलत्रियोस् भनेका थिए कमान्डरले । सहकमान्डर बलवान् अगिअगि, त्यसपछि हामी । उनी घरीघरी जिस्क्याउँथे साउतीमा । डोरीमा दुईदुई सय मिटरमा गाँठो बनाइएको थियो– त्योभन्दा लामो अल्झन्छ । एउटा गाँठोमा एक जना कमरेड । जम्मा पाँचवटा पोस्ट । १ नं. पोस्टमा मिलिसियाका एक कमरेडलाई राखियो । २ नं. मा कमरेड बालक बस्नुभयो । ३ नं. मा अर्काे मिलिसिया । ४ नं. मा कमरेड बलसिंह र ब्यारेकको मुखैमा रहेको अन्तिम पोस्टमा सहकमान्डर । एउटा सानो बुट्यान, त्यसैमा छेलिएर लपक्क बसे बलवान् । दुस्मन निस्किएको थिएन । हामीले समग्र स्थिति र डोरीको अवस्था सही भएको डोरी तानेर सङ्केत ग¥यौं कमान्डरलाई ।

cover_raat fulekoम कमान्डर भएकै ठाउँमा फर्किएँ । उनले डोरी मेरो पाखुरामा बाँधिदिए । जसरी प्रत्येक दुई सय मिटरको फरकमा अरुका पाखुरामा बाँधिएको थियो– ‘दुस्मन आएको’ सङ्केत गर्न एक पटक तान्ने । सङ्केतलगत्तै अर्कोपट्टि पठाउने र आफूले पाएको जनाउ दिन सङ्केत पठाउनेपट्टि अर्को पटक उसै गरी तानिदिने । ‘दुस्मन आयो तर माइनिङ प्वाइन्टपट्टि गएको छैन’ भन्नलाई दुई पटक तान्ने । ‘दुस्मन फिर्ता भयो, अवस्था खतरामुक्त्त छ’ भन्नलाई तीनचोटि तान्ने तर १ नं. पोस्टसम्म दुस्मन आइनपुगुन्जेल हामी सचेतनाको सङ्केत मात्र पाउँथ्यौं । हामीलाई रातभर लगाएर सिकाएका थिए कमान्डरले यो डोरीको जुक्ति ।

कमान्डर र अर्का मिलिसिया कमरेड भटाभट काम गर्दै गरेका । दुस्मन निस्किएको सङ्केत आयो केही बेरमै । मैले कमान्डरलाई खुसुक्क कानमा भनें । काम रोकेनौं । १ नं. पोस्टमा दुस्मन नआएसम्म काम गरिरहने योजना हिजै भएको थियो । काम सकिनै लाग्दा २ नं. पोस्टमा दुस्मन आइपुगेको सङ्केत आयो । २ नं. पोस्ट अर्थात् ४ सय मिटरको दूरीमा । कमान्डरले डोरी फुकाएर घाँटीमा बाँधेपछि म पनि माइन गाडेको ठाउँमा ‘क्यामोफ्लाइज’ गर्न थालें । तिनै जना, हतारमा होइन तर छिटोछिटो हात चलाइरहेका थियौं । अर्को सङ्केत आयो– दुस्मन आयो तर बसिरहेको छ । खास हतारो भएन । उसै पनि मूल बाटोको माइन खुलाउनै पथ्र्यो । रेसमी तारका केही टुक्रा छोड्यौं । एउटा कुच्चिएको जर्किन ।

लगत्तै मूल बाटोभन्दा तल्लो ढिस्कोको माइन क्यामोफ्लाइज गर्नतिर लाग्यौं, बाटोको माइनदेखि ढिस्कोको माइनसम्म गाडिएको आधा इन्चको पाइप खुल्न हुन्नथ्यो । त्यो पाइपभित्र एउटा बलियो डोरी फिट गरियो । मूल बाटोको माइनमा बाँधिएको डोरी तानिएपछि ढिस्कोमा गाडिएको भुबिट्य्राब्स तानिन्थ्यो र ढिस्कोको माइन विस्फोट हुन्थ्यो । डोरी नअल्झियोस् भनेर कमान्डरले आधा इन्चको पाइपभित्र डोरी राख्ने जुक्ति निकालेका थिए । सबै काम सकियो, भुबिट्य्राब्समा मूल बाटोबाट ल्याइएको डोरी बाँध्नेबाहेक ।

१ नं. पोस्टबाट दुस्मन हामी भएतिरै आएको सङ्केत आयो । म अलिकति हतासिएको थिएँ । कमान्डरले मेरो कुम च्याप्प समाए दुख्लाभैmँ । भने ‘काम रोकिँदैन ।’

हामीलाई ढिस्कोमुनिको कुनामा राखेर उनी ढिस्कोको डिलमा लेप्सिए । डोरी मेरै हातमा थियो तर उनले पनि समातेका । निकै बेरपछि डोरी एक पटक तानियो । कमान्डर मभन्दा अलि माथि थिए । बोलाउँ भने दुस्मन आएको होला । उठेर उनीपट्टि जानु त झन् खतरनाक हुन्थ्यो । फेरि तानियो । लगत्तै फेरि तानियो । म बिस्तारै घस्रेर कमान्डर भएको ठाउँमा पुगें । उनले सुस्तरी मलाई समातेर सङ्केत गरे ।

चियाए– दुस्मन माथिल्लो बाटोमा उभिएको !

कमान्डरले कानमा खुसुक्क भने, ‘कमरेडहरुलाई काम सकिएको जानकारी पठाउनुस् र खतराको पनि ।’ तर कसरी ? ‘काम सकिएको’ र ‘खतरा छ’ भन्ने सङ्केत बनाइएकै छैन । म अलमल्ल परें । काम सकिएको जानकारी दिउँ उनीहरु डोरी बेर्दै हामी भएतिर आउलान् । मेरो दुबिधा सायद कमान्डरले अगि नै बुझिसकेका थिए । सोधे, ‘यो अवस्थामा तपाईं के गर्नुहुन्छ ?’ म फेरि अलमलिएँ । आकाश ताराले भरिएको थियो ढकमक्क, हामीसम्म मधुरो प्रकाश आए जस्तो । माथि बाटोमा दुस्मन ढुकेको थियो । कमान्डरको अनुहार चियाएँ, उनी मजति अलपत्र थिएनन् ।

उनले मेरो हातबाट डोरी लिए र एक पटक तानेर सङ्केत पठाए । उताबाट पनि सङ्केत पाएको जवाफ आयो । लगत्तै लगातार चार पटक झड्किने गरी ताने । १ नं. पोस्ट सायद अलमलियो, केही सङ्केत आएन । कमान्डरले फेरि एक पटक जोडले ताने र डोरी हातबाट छोडिदिए ।

कानमा खुसुक्क सोधें, ‘यस्तो पनि सङ्केत छ र ?’

‘छैन, तर कमरेडहरुले हरेक अनौठा सङ्केतमाथि विचार गर्नेछन् ।’

‘गरेनन् भने नि !’

हातले मेरो टाउको सुमसुम्याए । केही बोलेनन् ।

आधा रात बित्यो । हामी दुम्किएका दुम्किएकै । कमरेडहरुले बुझे जस्तो छ कमान्डरको सङ्केत । उनीहरु सायद आरभी प्वाइन्ट पुगे होलान् । दुस्मन बाटोमै बसिरह्यो । काम थोरै मात्र बाँकी छ, करिब १५ मिनेटको तर नजिकै छ दुस्मन । खस्रक्क भए पनि चाल पाउँछ । मिलिसियाका एक कमरेड तल्लो कुनामा चुपचाप बसेका थिए ।

हामीभन्दा तल, खोलातिरबाट खस्रक्क आवाज आयो । दुई कान्लामुनिबाट एउटा मान्छे लुसुक्क कुनातिर लाग्यो । मैले हत्तपत्त पेस्तोल निकालेर सोझ्याएँ । कमान्डरले मेरो हात अँठ्याएर पर्खने सङ्केत गरे । मेरो छातीको धड्कन बढेको थियो । कमान्डर र म सँगै डिलमा लेप्सिएका, उनी शान्त थिए– कान एकदमै ठाडा बनाइरहेका ।

तलतिर एउटा लाटोकोसेरो करायो । कमान्डरले ध्यान केन्द्रित गरे । फेरि करायो, उनले मुन्टो सुताए र भने, ‘बलवान् कमरेड आउनुभयो ।’ लगत्तै मुन्टो उठाएर लाटोकोसेरोकै आवाज निकाले । तलबाट बिस्तारै त्यो मान्छे हामी भएतिर आयो– सहकमान्डर बलवान् । हामी कान्लामुनि जम्मा भयौं । कमान्डरको अनौठो सङ्केत कमरेडहरुले बुझेछन् । सहकमान्डरले बाँकी कमरेडहरुलाई मूल बाटोको दुस्मनभन्दा अलि माथि तयारी अवस्थामा राखेछन् ।

उनले फेरि लाटोकोसेरो कराए । ‘किन ?’ दुस्मनभन्दा माथि रहेका साथीहरुलाई ‘काम हुँदै छ’ भन्ने जनाउ रहेछ । कमान्डरले काम सम्पन्न गर्ने निधो गरे । म उही डिलमा गएर दुस्मनको चियो गर्न थालें । बाँकी कमरेडहरु कमान्डरसँग काम सम्पन्न गर्न लाग्नुभयो ।

२०७१ साउन २८ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *