धार्मिक पर्यटनको केन्द्र खैरावाङ

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 164 Views   ||

KB_Mashal– केबी मसाल

हामी पर्यटन व्यवसाय बढाउनुपर्दछ भन्छौं । प्रत्येक गाउँघरका धार्मिक, ऐतिहासिक सम्पदा, जनजातिको संस्कृतिजस्ता कुराले पर्यटन व्यवसाय बढाउन सकिन्छ भन्ने तर्क राख्नेहरुको संख्या पनि कमी छैन । गाविस, जिविसदेखि लिएर राष्ट्रिय नीति निर्माणका निकायमा समेत पर्यटन व्यवसायका कुरा उठ्ने गर्छ । तर, पर्यटकहरु पुग्ने मठमन्दिर, प्राकृतिक स्थानमा सडक, बत्ती, आवासको लागि होटल, लज र उनीहरुको लागि सुरक्षाको प्रबन्ध भने मिलाउन सक्दैनौं ।

ऐतिहासिक, धार्मिक पर्यटकीय स्थल सल्यान जिल्लाको खैरावाङमा अहिलेको अवस्था यस्तै छ । वाङ् शब्द खाम भाषाबाट आएको हो । राप्ती अञ्चलको रोल्पा, सल्यान र अन्य स्थानमा पनि धेरै ठाउँको नाम खाम भाषासँग जोडिएको छ । वाङ् शब्दको अर्थ हुन्छ चौर अर्थात् सम्म स्थान । खैरावाङ, फालावाङ, धनवाङ यसका उदाहरण मात्र हुन् । ठाउँको नामले के अनुमान गर्न सकिन्छ भने कुनै समयमा त्यस क्षेत्रमा खाम जातिहरुको बसोबास थियो । प्राकृतिक दृष्टिकोणले रमणीय स्थल खैरावाङ भुरेटाकुरे राजाहरुका पालादेखि शक्तिपीठको रुपमा पूजाआजा गरिदै आएको छ । खैरावाङ भूवनेश्वरी देवीको जति ऐतिहासिक महत्व छ, त्यहाँ पुग्न भने सडक यातायातकै कारण कठिन छ । खानेपानीको प्रबन्ध छैन । खानपिन र बास बस्नको लागि होटल र लजको प्रबन्ध छैन । मन्दिर पुगेपछि बास बस्नको लागि सदरमुकाम खंलगा अथवा श्रीनगर फर्किएर आउनुपर्दछ । सदरमुकामबाट खैरावाङसम्मको २२ किमि मोटरमार्गको शुरुवात भएको पनि तीनदशकभन्दा बढी समय भयो । तर अहिलेसम्म कालोपत्रे हुन सकेको छैन ।

खैरावाङ धार्मिक दृष्टिकोणले मात्र नभएर यसको ऐतिहासिक महत्व पनि भिन्न छ । खैरावाङमा सतीदेवीको स्तन र मृगौला पतन भएको भुवनेश्वरीदेवीको मन्दिर हो । जुन कुराको प्रमाण स्कन्द पुराण र ब्राह्मण्ड पुराणमा उल्लेख छ । उसो त खैरावाङ भगवतीको उत्पत्तिबारे रोचक किंवदन्ती पनि छ ।

अघि कुनै समयमा एकजना महिला घाँस, दाउरा खोज्ने क्रममा खैरावाङको जंगलमा पुगिन् । घाँस काट्ने क्रममा एउटा बाँझको रुखमा चढिन् । बाँझको डाला काट्दै थिइन्, नौमति बाजाको आवाज सुनियो । एकान्त जंगलमा नौमति बाजाको आवाजले उनलाई आश्चर्य गरायो । रुखबाट नै यताउता बाजा बजेको स्थान खोज्न थालिन् । एकछिन पछि उनलाई थाहा भयो, बाजा बजेको स्थान त आफै चढेको बाँझको फेदमा रहेछ । रुखबाट ओर्लिएर फेदमा हेर्दा उनले देखिन् आफू चढेको रुखको फेदमा ठूलो र गहिरो प्वाल रहेछ । प्वालबाट खड्क निशानाको खुडा तल, माथि गरिरहेको र त्यही बेला नौमति बाजा पनि बजेको । महिला आत्तिदै घरमा पुगिन् । गाउँमा हल्लीखल्ली भयो । सबै घटनाको बारेमा गाउँको पण्डितलाई सुनाएपछि पण्डितको साथ सबै गाउँले जंगलमा नौमति बाजा बजेको बाँझको रुखतिर लागे । सबै गाउँले छक्क परे ।

त्यसै रात पण्डितले सपना देखे । म शाश्वत भगवती हुँ, अब तीन दिनपछि बडादसैंको घटस्थापना शुरु हुन्छ । घटस्थापनाको दिनबाट मेरो पूजा शुरु गर्नु भनि पूजाको सम्पूर्ण विधिसमेत सपनामा भयो । सपनाबाट शक्तिपीठको बारेमा जानकारी भएपछि वि.सं. १५५८ देखि खैरावाङ भगवतीको पूजा शुरु भएको इतिहास छ । शुरुमा बाँझको फेदमा र रुख ढलेपछि खरको छाप्रो बनाएर देवीको पूजा गरिदै आएको अवस्थामा केही समयपछि मेदिनीप्रसाद अधिकारीले वि.सं. १८०० को भाद्र महिनामा ढुङ्गाको छाना भएको मन्दिर निर्माण गरेका थिए । यसरी शुरुवात भएको खैरावाङ भगवतीको पूजाआजालाई सल्यानी राजाहरुले पनि शक्तिपीठको रुपमा इष्टदेवीको रुपमा मान्दै आएका थिए ।

खैरावाङ देवीको महत्व बढ्दै गएपछि त्यसबेला सल्यानी राजाहरु मात्र होइन जाजरकोट, रुकुम, रोल्पा र प्युठानका राजाहरुले पनि खैरावाङ भगवतीको पूजा गर्ने, पञ्च बलि चढाउने गर्थे । त्यस समयमा यी सबै राज्यका राजाहरुले भारत बलरामपुरस्थित पाटेश्वरीदेवीलाई कुल देवताको रुपमा पूजा गर्दथे । समय बित्दै जाँदा बलरामपुरका राजा र यहाँका राजाहरुमा मनमुटाव बढ्न गयो । बलरामपुरका राजाले यहाँका राजाहरुलाई पूजाआजा गर्नमा रोक लगाए । त्यसपछि यहाँका राजाहरु वि.सं. १८४८ मा पाटेश्वरी भगवतीको नाममा राखेको चार सय रोपनी गुठीको लालपूर्जा फिर्ता ल्याई खैरावाङ भगवतीलाई चढाएको इतिहास छ ।

शक्तिपीठकै कारणले गर्दा नेपाल एकीकरण भइसकेपछि पनि विभिन्न कालखण्डमा राजाहरु खैरावाङ आएका प्रमाणहरु छन् । वि.सं. १८५५ मा राजा गिर्वाण विक्रम शाहले खैरावाङको पूजा चलाउनू भनी लालमोहर गरिदिए र उनको व्रतबन्धसमेत खैरावाङ भगवतीको मन्दिरमा गरिएको इतिहास छ । त्यसैगरी वि.सं १९३६ मा राजा सुरेन्द्र विक्रमबाट खैरावाङ भगवतीको लालमोहर नवीकरण भएको छ । शाहवंशीय राजाहरुको पालामा पृथ्वीवीरविक्रम र राणा प्रधानमन्त्री जंगबहादुर राणा पनि खैरावाङ आएको प्रमाण भेटिन्छ । पछिल्ला राजाहरु महेन्द्र, बीरेन्द्रले पनि खैरावाङलाई आफ्नो वंशको कुल देवताको रुपमा पूजा गर्ने गरेका थिए । खैरावाङ शाहहरुको मात्र होइन अन्य जातिहरुको पनि आस्थाको केन्द्रबिन्दू हो । खैरावाङ भगवती अर्थात् भुवनेश्वरी भगवतीको दर्शन गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने, आपत विपतको बेलामा भाकल गर्दा भगवतीले सबै माग पूरा गरिदिने विश्वास खैरावाङ भगवतीका भक्तहरुले गर्दछन् । खैरावाङमा नित्य पूजाबाहेक विशेष पर्वहरुमा छिमेकी जिल्लाहरु दाङ, रुकुम, रोल्पा र अन्य स्थानबाट पनि पूजा र भाकल चढाउन मानिसहरु जाने गर्दछन् । विजयादशमीको समयमा खैरावाङमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा धार्मिक चहलपहल मात्र होइन विभिन्न जनजातिको साँस्कृतिक नाचगानले खैरावाङको वातावरण रमाइलो हुन्छ ।

धार्मिकशास्त्र अनुसार नेपालमा ५१ स्थानमा शक्तिपीठ रहेका छन् । उपत्यका बाहेक एउटै जिल्लामा सतिदेवीको अंग तीन भिन्न स्थानमा पतन भएको जिल्ला सल्यान हो । सल्यान जिल्लाको उत्तर, पश्चिम भूगोलमा रहेको लक्ष्मीपुरमा सतिदेवीको अङ्ग पतन भएको विश्वास गरिन्छ । शक्तिपीठको रुपमा कमलाक्षीको मन्दिर स्थापना भएको पहाड हेर्दा पनि करङकै आकारमा देखिन्छ । त्यसैगरी जिल्लाको मध्ये भाग छायाक्षेत्रमा सतिदेवीको बाँकी भएको शेष अंग सबै पतन भएको धार्मिक मान्यता रहेको छ । छत्रेश्वरी नामको उक्त शक्तिपीठमा अन्य मन्दिरमाझैं बलि नचढाउने प्रचलन छ । बाहिर जिल्लाबाट सल्यान पुग्ने धार्मिक पर्यटकहरु सबै शक्तिपीठको दर्शन गर्न चाहन्छन् । एउटै जिल्लामा तीन स्थानमा सतिदेवीको अंगपतन भएको कारणले पनि धार्मिक पर्यटकहरुलाई कौतुहलको विषय बनी अध्ययन, अनुसन्धान गर्नमा रुचि राख्दछन् । सल्यान धार्मिक, साँस्कृतिक, प्राकृतिक र पुरातात्विक विषयमा पनि अध्ययन गर्नका लागि महत्वपूर्ण जिल्ला मानिन्छ ।

धार्मिक अथवा अन्य कुनै क्षेत्रको बिषयमा किन नहोस्, पर्यटन व्यवसाय सञ्चालन गर्न आधारभूत विकासको संरचना हुनुपर्दछ । सल्यानमा त्यस कुराको कमी देखिएको छ । विगत लामो समयबाट तुलसीपुर–सल्यान मोटरबाटो पुगे पनि सदरमुकाम खलंगाबाहेक अन्य स्थानका सडक कच्ची नै छन् । मुश्किलले हिउँदमा यातायातका साधन चले पनि वर्षाकालीन समयमा सडक यातायात बन्द हुन्छ । सडक नै नभएपछि जिल्लामा जाने जुनसुकै पर्यटकहरुको संख्यामा कमी हुन जान्छ । खैरावाङलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थायी सडक हुन जरुरी छ । खैरावाङ पुगेपछि त्यस ठाउँबाट अवलोकन गर्ने स्थान धेरै छन् । कतिपय धार्मिक पर्यटकहरु त्यही नै बास बस्न रुचाउँछन् । बासका लागि होटल, लजको व्यवस्था हुनुपर्दछ । अर्को कुरा हो सुरक्षा । त्यहाँ पुग्ने जो कोहीलाई पनि सुरक्षाको अनुभूत हुनुपर्दछ । अनि मात्र हुन्छ खैरावाङको धार्मिक पर्यटकीय विकास । यसको लागि जिल्ला विकास र गाउँ विकासले ध्यान दिन जरुरी छ ।

मठमन्दिरको मात्र नभएर सल्यान जिल्लामा पर्यटनको सम्भाव्यता भएका स्थलहरु धेरै छन् । तिनको प्रचारप्रसार हुन जरुरी छ । चाहे खैरावाङ होस् वा कुपिण्डे दह सबै ठाउँमा पुग्न भरपर्दो सडक यातायात हुनुपर्दछ । सडक विकासलाई जिल्लाले ध्यान दिन सके सल्यान जिल्लामा पर्यटनको व्यवसाय फष्टाउन सक्दछ ।

२०७१ साउन २८ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *