नगर बनाउने दायित्व नगरपालिकाको मात्र होइन

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 119 Views   ||

Subodh_gautam– सुबोध रेग्मी
समाज कल्याण शाखा प्रमुख, घोराही नगरपालिका

घोराहीलाई प्लाष्टिक मुक्त सहर बनाउने भनिएको छ । यसका लागि के भइरहेको छ ?

नेपाल सरकारले स्थानीय प्रारुप २०७० जारी ग¥यो । अबको समय भनेको प्लाष्टिकबिनाको आफ्नो दिनचर्या अघि बढाउनुपर्छ भन्ने हो । प्लाष्टिकले वातावरण प्रदूषणमा निकै असर पु¥याएको छ । प्लाष्टिकले सहरलाई समेत कुरुप बनाएको छ । यसले गर्दा अब सरकारले वातावरण संरक्षण गर्न र आम जनताको स्वास्थ्यमा ध्यान दिएर प्लाष्टिकमुक्त बनाउने अभियान शुरु गरेको छ । घोराहीलाई प्लाष्टिकमुक्त बनाउने दायित्व राज्यको मात्र होइन । यसमा आम उद्योगी व्यवसायी, नागरिक समाज, अन्य सरोकारवाला निकायहरुको हो ।

ग्राहकलाई उपयुक्त विकल्प नदिएर सिधै प्लाष्टिकमुक्त अभियान शुरु गर्नुभयो । कसरी सफलता मिल्ला ?

आवश्यकताले विकल्पको निर्धारण गर्छ । सबैले अहिले नै विकल्पको प्रयोग गरेको भए किन प्लाष्टिकमुक्त अभियान शुरु गर्नुपर्दथ्यो र ? जस्तै रुकुम जिल्लामा पेट्रोलपम्प नभएरै गाडी सञ्चालन गरियो । गाडीहरु सञ्चालन हुन थालेपछि पेट्रोल पम्पको खुल्नुपर्ने अवस्था आयो । कुनै पनि काम गर्दा शुरुमै सबै विकल्प तयार भइसक्छ भन्ने होइन । यो त समय र आवश्यकताले निर्धारण गर्ने कुरा हो ।

प्लाष्टिकमुक्त बनाउने नीति त ल्याउनुभयो । अबको कति वर्षमा हामीले घोराहीलाई प्लाष्टिकमुक्त सहर बनाउँछौं ?

प्लाष्टिकमुक्त सहर निर्माण एउटा अभियान हो । मान्छेको बानीसँग जोडिएको विषय भएकाले प्लाष्टिकमुक्त बनाउनको लागि केही समय लाग्न सक्छ । हामीले समय नै निर्धारण गरेर यति समयभित्र प्लाष्टिकमुक्त सहर बनाउँछौं भनेर अभियान शुरु गरेका छैनौं । यसमा हाम्रो एक्लो प्रयासले मात्र सार्थकता पाउँदैन । नगरपालिकाले शुरु गरिसकेकाले अब क्रमशः घोराही प्लाष्टिकमुक्त सहर बन्दै जान्छ ।

सरकारले घोराही नगरपालिकालाई हरितनगरको रुपमा विकसित गर्ने योजना अघि ल्याएको छ । प्लाष्टिकमुक्त र हरितनगरबीचको सम्बन्ध के छ ?

सरकारले हरितनगर भनेर एउटा कार्यक्रम ल्यायो । त्यसलगत्तै वातावारणमैत्री स्थानीय शासन भनेर निर्देशिका ल्यायो । हरितनगरको कार्यक्रम घोराही र इलाम नगरपालिकाले मात्र सञ्चालन गरेको थियो । तर, निर्देशिका भने मुलुकुभरका सबै स्थानीय निकायले पालना गर्नुपर्ने छ । प्लाष्टिकमुक्त अभियान र हरितनगर एक अर्काका परिपुरक हुन् । हरितनगरका लागि पनि प्लाष्टिकमुक्त बनाउन आवश्यक थियो । हामीले एकै पटक दुई वटा कार्यक्रमलाई साथसाथै अघि बढाएका छौं । यसले गर्दा हामीलाई स्वच्छ वातावारण बनाउन सहयोग पु¥याउनेछ ।

तपाईंहरु सफा सहरको परिकल्पना लिएर विभिन्न अभियानहरु सञ्चालन गरिरहनुभएको छ । तर, घोराहीका मुख्य बजारहरुमै निर्माण सामग्रीदेखि अव्यवस्थित फुटपाथ र पार्किङले गर्दा सहर कुरुप भइरहेको छ । यसलाई सुधार गर्न त सक्नुभएन नि ?

हामी स्थानीय सरकार होइन । स्थानीय निकाय मात्र हो । हुन त धेरै कुरा गरिन्छ । स्थानीय स्वायत्त शासन, विकेन्द्रीकरण लगायतका कुरा गरिन्छ । तर, त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । नगरपालिका कार्यान्वयन गर्ने इकाइ मात्र हो । अहिले विभिन्न वर्कशप, निर्माण सामग्रीको जथाभाबी व्यवस्थापनले सहरलाई कुरुप बनाएको साँचो हो । हामीले केही हदसम्म यसलाई न्यूनीकरण गर्नको लागि पहल थालेका छौं । हाम्रो सार्थकताले पूर्णता नपाएको साँचो पनि हो । हामी स्थानीय सरकार भइदिएको भए जसरी भए पनि आफ्नो नीति कार्यान्वयन गर्न सक्दथ्यौं । हामीले मात्र चाहेर केही हुँदो रहनेछ । यी विभिन्न समस्या समाधानका लागि धेरै पक्षहरुसँग समन्वय गर्नुपर्दछ ।

त्यस्तै, हामीसँग पर्याप्त बजेट पनि छैन । नीतिगतरुपमा पनि सबै निकायलाई समेट्ने हाम्रो एकल प्रयासले सार्थकता पाउँदैन । यसका लागि स्थानीय सरकार चाहिन्छ । स्थानीय सरकार भएको खण्डमा यस्ता थुप्रै समस्या समाधान हुन्छ । हुन त हामीले आफ्नै पहलमा विभिन्न वर्कशपलाई अटो भिलेजमा राख्नको लागि प्रयास गरेका छौं । स्वर्गद्धारी आश्रमको जग्गालाई लामो समयसम्म लिजमा लिएर त्यहाँ वर्कशपहरु राख्नको लागि अटो भिलेज बनाउने काममा जुटेका छौं । अटोभिलेज सञ्चालनमा आइसकेपछि केही हदसम्म भए पनि नगरको सौन्दर्य थपिनेछ । जथाभाबीरुपमा सञ्चालन भइरहका वर्कशपहरु त्यहाँ जानेछन् । यसले नगर सफा राख्न मात्र होइन वर्कशपहरुलाई पनि सजिलो हुनेछ ।

त्यस्तै, जथाभाबी निर्माण सामग्री राख्ने कार्यलाई पनि नगरपालिकाले निरुत्साहित गर्दै आएको छ । हामीले नगरबासीहरुलाई पटक–पटक सचेत बनाएका छौं । केही नगरबासीहरुले हाम्रो अनुरोधलाई पनि सहयोग गर्नुभएको छ । केहीले नटेरेको पनि हुनसक्छ । यस विषयमा हामीले ध्यान दिनेछौं । सबै कुरा रातारात परिवर्तन भइहाल्छ भन्ने होइन । यसका लागि समय लाग्छ ।

हामी स्थानीय सरकार होइनौं तर, पनि स्थानीय सकारको काम गर्न सरकारले दायित्व त दिएको छ नि ?

होइन । हामीलाई स्थानीय सरकारको जिम्मेवारी दिइएको छैन । जस्तै, हामीले ऐलानी जग्गा छन्, तीनलाई प्रयोग गर्ने अधिकार छैन । हामीले संरक्षण गर्ने मात्र हो । हामीले संरक्षण गर्ने तर त्यसको प्रयोग गर्न नपाउने अवस्था छ । हामीले ऐलानी जग्गा प्रयोग गर्न पाउने अवस्था हुन्थ्यो भने पनि धेरै कुरा व्यवस्थित गर्न सजिलो हुने थियो ।

तपाई लामो समयदेखि घोराही नगरपालिकामा कार्यरत हुनुहुन्छ । घोराहीको सहरीकरणलाई कसरी हेर्नुभएको छ ?

भौतिकरुपमा घोराहीमा सहरीकरण तीव्र रुपमा भएको छ । रुप पक्षमा घोराही राम्रो भएको छ तर सार पक्ष भने कमजोर छ । सहरमा पनि ग्रामीण मानसिकताग्रस्त छ । ग्रामीण मानसिकताले सहरको बसाइ सजिलै गरेर अघि बढ्न सक्दैन । सहरमा बस्नेहरुको चेतनास्तर पुरानै र ग्रामीण मानसिकताको छ । अब बिस्तारै हामीले सहरमा बस्नेहरुको मानसिकता बदल्न जरुरी छ । यसका निम्ति धेरै काम र पहल गर्नुपर्छ ।

नगरपालिकाले नयाँ–नयाँ योजनाअघि सार्छ तर, समयमै पूरा हुँदैनन् । घोराही नगरपालिका क्षेत्र समेट्ने गरि बनाउन थालिएको चक्रपथ निर्माणमा किन ढिलाइ भएको हो ?

चक्रपथको योजना बृहत हो । यसका लागि विगतमा विभिन्न प्रयासहरु पनि गरिए । केही हदसम्म सफलता पनि मिलेको छ । तर, काम गर्दा विभिन्नखाले समस्याहरु आउँदा रहेछन् । चक्रपथ निर्माणको हकमा पनि हामीलाई त्यस्तै समस्या आएको हो । ठूलो परियोजना भएकाले हामीलाई प्रक्रियागत रुपमा मिलाउन केही समय लाग्यो । अहिले हामी उपभोक्ताको सहमति जुटाउने क्रममै लागेका छौं । चक्रपथ बनाउने दायित्व नगरपालिकाको मात्र होइन । यसका लागि स्थानीयबासीहरुको सहयोग हुन जरुरी छ । उहाँहरुले पनि हामीलाई सहयोग गर्नुभएकै छ ।

अन्त्यमा थप केही भन्नु छ कि ?

म आम नगरबासीलाई के भन्छु भने नगरपालिकाले ल्याएका योजनाहरुलाई सफल बनाउनु हामी सबैको दायित्व हो । अहिले हामी वातावरणमैत्री स्थानीय शासन स्थापना गर्ने अभियानमा जुटेका छौं । यसलाई सार्थक बनाउनु सबै नगरबासीको दायित्व हो । नगर बनाउने दायित्व नगरपालिकाको मात्र होइन । हामीले लिएको योजनलाई सफल बनाउनको लागि यहाँको उद्योग वाणिज्य संघ, राजनीतिक दल, नागरिक समाज लगायत आमसरोकारवालाको सहयोग चाहिन्छ । उहाँहरुले हामीलाई थप सहयोग गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु ।

साथै मेरो विचार राख्ने अवसर प्रदान गर्नुभएकोमा नौलो जनउभार साप्ताहिकलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । आगामी दिनमा पत्रकार जगतबाट समेत हामीलाई सहयोग हुनेछ भन्ने अपेक्षा लिएको छु ।

२०७१ साउन २८ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *