दाङको ९४ प्रतिशत माटोमा अम्लीयपना

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 100 Views   ||

जनक नेपाली

दाङ । कृषि विकास कार्यालय दाङले जिल्लाको ९४ प्रतिशत माटोमा अम्लीयपना रहेको बताएको छ । कृषि विकास कार्यालयले भर्खरै जिल्लामा सञ्चालन गरेको माटो परिक्षण शिविरका अम्लीयपनाको उक्त मात्रा देखिएको माटोविज्ञ दिगम्बर यादवले जानकारी दिनुभयो ।

माटो परिक्षणका क्रममा बाघमारे र पुरन्धारा गाविसको माटोमा अम्लीयपनको मात्रा उच्च देखिएको र तुलसीपुर नगपालिका, नारायणपुर र डुरुवा गाविस पनि अम्लीयपनको उच्च जोखिममा रहेको माटो विशेषज्ञ दिगम्बर यादवले जानकारी दिनुभयो ।

माटोमा अम्लीयपनले बर्षेनी माटोको उर्वरा शक्ति ह्रास हँुदै जाने र बालीमा पनि रोग, किराको प्रकोप बढ्ने गरेको यादवले बताउनुभयो । अत्यधिक मात्रामा रासायनिक मलको प्रयोग, हरेक बर्ष एउटै बालीको खेती र पोटासको कम प्रयोगका कारण माटोमा यस्तो अम्लीयपन देखिने माटो विज्ञ यादवको भनाई छ ।

कृषि कार्यालयले जिल्लाका ४० ठाउँको २ सय ४ स्थानमा गरेको माटो परिक्षणमा ७२ प्रतिशत नाइट्रोजन, ५४ प्रतिशत फस्फोरस र ७५ प्रतिशत पोटासको मात्रा कम देखिएको माटो विशेषज्ञ दिगम्बर यादवले जानकारी दिनुभयो । माटोमा अत्यधिक अम्लीयपनका कारण जिल्लामा बार्षिक उत्पादन ३० देखि ४० प्रतिशतले घट्दै गइरहेको पनि उहाँले जानकारी दिनुभयो । माटोको उपचारमा कसैले ध्यान नदिएको भन्दै यादवले माटोको उपचार नगर्ने हो भने केही बर्षपछि दाङमा अन्न उत्पादन नहुने अवस्था आउने बताउनुभयो ।

सबैले रासायनिक मलको प्रयोग गर्दा अहिले अलि–अलि धान, गहुँ, मकै, तोरी उत्पादन भएता पनि पानीको अभाव र माटोमा अम्लीयपनले पछि ठूलो समस्या देखा पर्ने उहाँले बताउनुभयो । आफूहरुले परिक्षण गरेका गाविसहरुमा माटोमा हुनुपर्ने सबै गुण हराएर गएको भन्दै यादवले त्यसका लागि किसानलाई माटोमा कृषि चुन र कम्पोष्ट तथा प्राङ्गारिक मलको प्रयोग गनुपर्ने सुझाव दिनुभयो ।

जिल्लामा माटोको गुणस्तर परिक्षण जिल्ला कृषि विकास कार्यालयले गर्दै आइरहेको छ । कृषि विकास कार्यालयले किसानहरुलाई हरियो मल, पोटासको प्रयोगका साथै प्रत्येक बर्ष एकैखाले बाली नलगाउन सुझाव दिदै आएको छ । आफूले गरेको खेतीमा कुनै समस्या देखिए तत्काल त्यसको उपचार गराउन कृषि कार्यालयले किसानहरुलाई अनुरोध गरेको छ । कार्यालयले कृषकहरुलाई आफ्नो खेतीयोग्य जमिनको माटो नियमित परिक्षण गराउन पनि सुझाव दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *