नारायणपुर उवासंघमा चुनावी सरगर्मी

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 119 Views   ||

दाङ । नारायणपुर उद्योग वाणिज्य संघमा आवद्ध उद्योगी, व्यवसायीहरुलाई चुनावी सरगर्मीले छोएको छ । आगामी शनिबार सम्पन्न हुने निर्वाचनका लागि दुई प्यानल मैदानमा उत्रिएका छन् भने दुबैले प्रचार कार्यलाई तीव्र बनाएका छन् ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघसहित कांग्रेसको एक समूह, एमाले, एमाओवादी, जनमोर्चा, राप्रपा, थरुहटलगायत उवासंघका पूर्वअध्यक्ष, अगुवा व्यवसायीलगायत अन्य सामाजिक संघसंस्थाहरुको सर्मथन रहेको संयुक्त व्यवसायी प्यानलको नेतृत्व गोपालप्रसाद लम्सालले गर्नुभएको छ भने कांग्रेसको मूल पक्षको मात्र सर्मथन रहेको प्रजातान्त्रिक प्यानलको नेतृत्व डिल्ली वलीले गर्नुभएको छ । साउन ३१ गते शनिबार बिहानको ७ बजेदेखि शुरु हुने निर्वाचनमा लागि १ हजार ५ सय ५० जनाले मतदान गर्ने नारायणपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

आगामी तीन बर्षका लागि हुने निर्वाचनमा संयुक्त व्यवसायी प्यानलबाट अध्यक्षमा गोपालप्रसाद लम्साल, उद्योग उपाध्यक्षमा द्रोण केसी, वाणिज्य उपाध्यक्षमा अभियान बस्नेत, महासचिवमा धनेश्वर आचार्य, सचिवमा सागर खनाल र कोषाध्यक्षमा तिलक महराले उम्मेदवारी दिनुभएको छ भने सदस्यहरु रेखा बस्नेत, मोहन आचार्य, युवराज पोखे्रल र देवेन्द्र देउवंशी रहनुभएको छ । त्यस्तै, प्रजातान्त्रिक व्यवसायी प्यानलबाट अध्यक्षमा डिल्ली वली, उपाध्यक्षमा सेवक आचार्य, लिले कामी, महासचिवमा महेन्द्र दाहाल, सचिवमा बालचन्द्र बुढाथोकी र कोषाध्यक्षमा शालिकराम आचार्य रहनु भएको छ । त्यस्तै सदस्यहरुमा गिरिराज वली, समिम सिद्धिकी, अमर बुढा र नारायणप्रसाद पाण्डे रहनुभएको छ । अध्यक्षका उम्मेदवार गोपालप्रसाद लम्साल यसअघि महासचिव र वर्तमान कार्यसमितिको उपाध्यक्ष हुनुहुन्छ भने अर्को उम्मेदवार डिल्ली वली साधारण सदस्य हुनुहुन्छ ।

आफ्नो उम्मेदवारीबारे संयुक्त व्यावसायिक प्यानलको अध्यक्षका उम्मेदवार गोपाल लम्साल भन्नुहुन्छ, ‘नारायणपुर क्षेत्रको विकासका लागि सबै पक्षका साथीहरुको उपस्थिति उद्योग वाणिज्य संघमा पर्ने भएकाले सबै व्यवसायीहरुको तर्फबाट मेरो साझा उम्मेदवारी हो ।’ नारायणपुरलाई व्यवस्थित नगरपालिकाका रुपमा विकास गर्नुका साथै यहाँको व्यावसायिक हकहितका लागि आफ्नो प्यानल प्रतिबद्ध भएर चुनावी मैदानमा उत्रेको लम्सालले बताउनुभयो ।

त्यस्तै, अध्यक्षका अर्का उम्मेदवार डिल्ली वलीले नारायणपुर बजार व्यवस्थापन र यस क्षेत्रमा रहेका सबै उद्योगी, व्यवसायीहरुको हित र समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । सबैलाई समेटेर सहमति कायम गरिनुपर्नेमा तपाईले आफनै टिमलाई समेत विपक्षमा उभ्याउनुभयो नि भन्ने प्रश्नमा वलीले भन्नुभयो, ‘हामीले सबै साथीहरुलाई मिलाएर सहमतिमा जान खोजेका हौं तर त्यो सम्भव हुन सकेन तर म एउटा प्यानलबाट उम्मेदवार भएको भए पनि यहाँको विकास र हितमा रही सबैलाई मिलाएर लैजाने छु ।’

त्यस्तै, संयुक्त व्यावसायिक प्यानलका उद्योग वाणिज्य उपाध्यक्षका उम्मेदवार द्रोण केसीले उद्योग वाणिज्य संघ कुनै पार्टीको भातृ संगठनजस्तो नभई सबै व्यवसायीहरुको साझा हित र व्यावसायिक प्रवद्र्धनका लागि हुनुपर्ने भन्दै त्यसैका लागि आफूहरुले संयुक्त व्यावसायिक प्यानल खडा गरेर उम्मेदवारी दिनुपरेको बताउनुभयो ।

त्यस्तै महासचिवका उम्मेदवार धनेश्वर आचार्यले सबैलाई मिलाएर लैजानुपर्नेमा अन्य शक्तिलाई निषेध गरेर एकपक्षीय ढंगले अर्को प्यानल अघि बढेकाले हामी सबै व्यावसायिक सोच भएका साथीहरु मिलेर संयुक्त उम्मेदवारी दिएको बताउनुभयो । नारायणपुर उद्योग वाणिज्य संघलाई सबैको साझा संस्था बनाउन लागि सबैको साथ र सर्मथन आफ्नो प्यानललाई भएकाले आफूहरुको जित सुनिश्चित भइसकेको उहाँले बताउनु भयो । नारायणपुर उद्योग वाणिज्य संघमा नारायणपुरका अलावा हापुर, ढिकपुर मानपुर, डुरुवालगायतका ठाउँका व्यवसायीहरु पनि आवद्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *