सहिद कामी बुढास्मृति पार्क निर्माण

  
  प्रकाशित मितिः बुधबार, साउन २८, २०७१       | 165 Views   ||

Kami_budhaरुकुम । नेपाली सशस्त्र कम्युनिष्ट क्रान्तिका अगुवा सहिद कामी बुढाको स्मृतिमा उहाँको जन्मस्थलमा स्मृति पार्क निर्माण गरिएको छ । रुकुमको चौखावाङ–८ खर्सुपानीस्थित उहाँको जन्मस्थल नजिक पार्क बनाइएको हो ।

रुकुम क्षेत्र नम्बर १ का सभासद् गणेशमान पुनको सांसद क्षेत्र विकास कोषको १ लाख ४० हजार र स्थानीयवासीको ४० हजार गरी १ लाख ८० हजारको लगानीमा सहिद कामी बुढास्मृति पार्क निर्माण गरिएको एकीकृत नेकपा माओवादी रुकुमका जिल्ला सदस्य शेरकुमार खड्काले जानकारी दिनुभयो ।

पार्कको चारैतिर गारो लगाएर सामान्य पर्खाल र गेटसमेत बनाइएको छ । स्रोत जुटाएर पार्कमा स्तम्भ पनि राखिने खड्काले जानकारी दिनुभयो । कामी बुढाको स्मृति दिवसको अवसर पारेर आगामी असोजमा पार्क उद्घाटन गरिनेछ ।

बि.सं. १९७८ सालमा चौखावाङ ८ मा जन्मनुभएका बुढा पछि सोही गाविसको वडा नम्बर ५ हिल गाउँमा बसोबास गर्दै आउनुभएको थियो । जनयुद्धकालमा उहाँको सम्मानमा केही बर्ष सो गाउँलाई कामी गाउँ भनेर चर्चामा ल्याइए पनि त्यसपछि बुढाको सम्मान र सम्झनामा खासै पहल नभएको स्थानीयको गुनासो छ ।

२००७ सालमा भारतीय सेनाबाट बिद्रोह गरेर नेपाल फर्की नेपाली सशस्त्र क्रान्तिको अगुवाइ गर्नुभएका बुढालाई तत्कालीन सरकारले पक्राउ गरेर २०१० साल असोजमा जुम्लाको चौभान जेलमा हत्या गरेको थियो ।

पटक–पटक कम्युनिष्ट पार्टीहरु सरकारमा गए पनि नेपालमा पहिलो सशस्त्र कम्युनिष्ट क्रान्तिको अगुवाइ गर्ने बुढाको स्मृति र सम्मानमा उल्लेखनीय काम नभएको भन्दै विभिन्न क्षेत्रबाट उहाँलाई सहिद घोषणा गर्न माग गरिदै आएको छ ।

नेपाल मगर संघले रुकुमको शीतलपोखरीनजिक शालिक निर्माण गर्नु र अहिले जन्मस्थलमा पार्क निर्माण गरिनु सकारात्मक भन्दै उहाँको सम्झनामा अझैं धेरै काम गर्नुपर्ने कामी बुढाबारे अध्ययन गरिरहनुभएका पत्रकार नरेन्द्र केसीले बताउनुभयो । उहाँको असोज महिनामा हत्या गरिएकाले प्रत्येक बर्षको असोज महिनामा कामी बुढास्मृति दिवस मनाउन केन्द्र र जिल्लास्तरबाट पहल हुनुपर्ने पत्रकार केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *