सम्पादक/प्रकाशक, गणतन्त्र दैनिक
पत्रकारिता कहिलेदेखि शुरु गर्नुभयो ?
पत्रकारितालाई नै मुख्य कर्मथलो बनाएर २०५९ सालबाट सुरु गरेको हुँ ।
पत्रकारिता रहरले गर्नुभयो कि आम्दानीका लागि ?
पत्रकारिता आम्दानीभन्दा पनि केही गर्नुपर्छ, गर्न सकिन्छ भन्ने मान्यताका साथ सुरु गरेको हुँ ।
तपाईं त पत्रिका नै चलाएको व्यक्ति अहिलेसम्म कति कमाइ गर्नुभयो ?
कमाइका हिसाबले शुभचिन्तक धेरै मित्रहरु कमाइएको छ । भौतिक सम्पत्तिको कुरा गर्नुपर्दा खासै देखाउन लायक त्यस्तो केही कमाइएको छैन ।
यहाँलाई के लाग्छ पत्रकारिता व्यवसाय कि सामाजिक कार्य ?
दुवै हो । व्यवसाय पनि सामाजिक कार्य पनि ।
सामाजिक क्षेत्रमा पनि तपाईको सक्रियता देखिनु रुचि हो वा समाजका लागि केही गरुँ भन्ने भावना ?
समाजमा केही गर्नुपर्छ भन्ने नै हो ।
तपाईं सक्रिय पत्रकार बन्न चाहनुहुन्छ कि समाजसेवी ?
म दुवै बन्न चाहन्छु । पत्रकार नभएको भए सामाजिक कार्यमा नलाग्न पनि सक्थें । सामाजिक कार्यमा नलागेर जीवन सार्थक पनि हुँदैन ।
बिना आम्दानीको सामाजिक सक्रियताले घरपरिवारमा त खटपट हुन्छ होला नि हैन ?
घरपरिवार चलाउन निश्चित रुपमा आम्दानी हुनुपर्छ । समाजसेवा भन्नेबित्तिकै सबै छाडेर समाजसेवामा होमिनुपर्छ भन्ने होइन । आफ्नो पेशा व्यवसायलाई अगाडि बढाउँदै आफूले गर्ने पेशालाई पनि सामाजिक अभियानसँग जोड्ने उद्देश्यसहित अगाडि बढेमा खासै समस्या आउँदैन ।
श्रीमतीले तपाईं घरव्यवहार सम्हाल्नुस्, म पत्रकारिता र सामाजिक जीवनमा सक्रिय हुन्छु भन्ने प्रस्ताव गर्नुभयो भने तपाईंले के जवाफ दिनुहुन्छ ?
नढाँटेर भन्नुपर्दा यसो हुन सक्दैन । किनकि म पत्रकार हुँ । समाजसेवामा पनि लागेको छु । उहाँलाई पनि यो क्षेत्रमा आउन खुल्ला छ ।
नेता बनेर अरुलाई चलाउन सजिलो कि सदस्य भएर खटिन ?
दुवै कार्य सजिलो पनि छ, अफ्ठ्यारो पनि । यी कुराहरु व्यक्तिको स्वभाव, उसको क्रियाशीलता, चिन्तन, समर्पण र भूमिकामा भर पर्दछन् । मेरो व्यक्तिगत स्वभावमा भन्नुहुन्छ भने म नेतृत्व गरेर सबैलाई समेट्न पनि सकेको छु, सदस्य भएर क्रियाशील बनेर सहयोग पनि गरेको छु ।
दिनमा कति समय फेसबुक र अन्य सामाजिक सञ्जालसँग अपडेट हुने गर्नुहुन्छ ?
दिनमा ठ्याक्कै यति समय भन्ने त छैन । तर धेरै नै अपडेट हुन्छु ।
पत्रकारिताबाट आफूले समाजलाई के दिइरहेको छु जस्तो लाग्छ ?
पत्रकारिताबाट समाजलाई व्यक्तिगतरुपमा धेरै कुरा दिएजस्तो लाग्छ । पूर्णरुपले पत्रकारितामै क्रियाशील भएर आफ्नो सिङ्गो जीवन समाजका लागि दिने सोच बनाएको छु ।
पत्रकारिता क्षेत्रलाई मर्यादित र उत्तरदायीपूर्ण बनाउन के गरिनुपर्छ ?
पत्रकारितालाई मर्यादित र उत्तरदायीपूर्ण बनाउन सर्वप्रथम सबैले आ–आफ्नो भूमिका, दायित्व, कर्तव्य र उद्देश्यलाई नजिकबाट बुझ्ने र व्यवहारमा उतार्ने काम गर्नुपर्छ ।