म जबर्जस्ती पौडी खेल्दैछु | शरद अधिकारी

  
  प्रकाशित मितिः बुधबार, भदौ २५, २०७१       | 320 Views   ||

Sharad Adhikariसम्पादक/प्रकाशक, राप्ती पोष्ट दैनिक

पत्रकारितामा कहिलेदेखि लाग्नुभयो ?

करिब दुई दशक अघिदेखि पत्रकारिता थालेको हुँ ।

पत्रकारितामा लाग्नुको कारण ?

किन लागियो यसै भन्न सक्दैन । रहरमा लागियो र बाध्यतामा बसियो भन्नुपर्ला । पत्रकारिताका माध्यमबाट समाजका लागि केही योगदान गर्न सकिन्छ भन्ने सोचाइका साथ लागेको हुँ भन्नुपर्ला । तर जतिबेला पत्रकारिताको शुरुवात गरिरहेको थिएँ त्यतिबेला अहिलेको जस्तो सुविधा थिएन । अहिलेको अवस्थाको सायद कल्पना पनि थिएन । कुरियरबाट समाचार पठाउने गरिन्थ्यो त्यो समाचार छापिएर आउँदा पनि आफूलाई निकै खुशी लाग्दथ्यो । यो २०५३÷०५४ सालतिरको कुरा हो ।

पत्रकारिताबाटै जिविका चल्छ ?

निकै गाह्रो छ तर के गर्ने बाध्यता छ । कि पानीमा डुब्नुप¥यो कि पौड्नुप¥यो । म जबर्जस्ती पौडी खेल्दैछु ।

पत्रकारितामा लागेर के पाउनुभयो, के गुमाउनुभयो ?

पाएको कुरा गर्ने हो भने सन्तुष्टि पहिलो नम्बरमा राख्छु । गुमाएको कुरा गर्ने हो भने जवानी । जवानीको यो समय अरु कुनै पेशामा खर्च गरेको भए अभावमय जीवन हुदैनथ्यो कि भन्ने लाग्छ ।

पत्रकारितामा लागेपछिको त्यस्तो कुनै खुसीको उत्कृष्ट क्षण ?

त्यस्ता क्षणहरु धेरै छन जीवनमा । आफूले गरेको कामको प्रशंसा गर्दा खुशी लाग्दोरहेछ । म एकपटक अब जागिर खानुप¥यो भन्ने सोचाइमा पुगेको समयमा एक जना अग्रजले यो पेशा राम्रो पेशा हो । यही पेशाबाट पनि अघि बढ्न सकिन्छ । समाजमा केही गर्न सकिन्छ भनेपछि हो जस्तो लाग्यो । म मानवशास्त्र पनि पढेको मानिस हुँ मानिसको बानी अचम्मको के हुँदोरहेछ भने आफूले गरेको काममा उत्साहित नहुने तर अर्काको काम राम्रो ठान्ने ।

समाचार लेखेकै कारण कसैको धम्की वा कुटाइ खानुभएको छ ?

समाचार लेखेका कारणले गर्दा धम्की वा कुटाइ कति खाइयो भन्ने मेरा शुभचिन्तक, सहयोगी, परिवारजन, साथीभाई सबै जानकार हुनुहुन्छ । सेनाको कुटाइ, प्रशासनबाट कारागार, प्रहरीको हिरासत, सशस्त्र प्रहरीको नियन्त्रण, माओवादीको सकसका साथै आफूमात्रै राम्रो देख्ने र अरुलाई झुटो ठान्ने धेरैको धम्की पचाएको छु । पाएको दुःखको पीडा भने यहाँ उल्लेख नगरौं होला ।

भुलबस गलत समाचार लेखेर अप्ठ्यारोमा पर्नुभएको छ ?

सायद अहिलेसम्म छैन । म समाचारको स्रोतलाई जोगाउँछु । स्रोतलाई जोगाउनुपर्छ भन्ने मान्यता राख्छु । मैले लेखेका समाचारले धेरैलाई अफ्ठेरो परेको मलाई थाहा छ तर आफूलाई अफ्ठेरो परेको याद छैन । मलाई अफ्ठेरो पार्न खोज्ने कसैको कल्याण भएको छैन ।

सार्वजनिक स्थलमा पत्रकारहरुको टिप्पणी भइरहँदा तपाइँ के गर्नुहुन्छ ?

टिप्पणी गर्ने को हो ? कस्तो मानिस हो ? उसको बौद्धिकताको मापन गर्दछु । प्रतिवाद गर्ने स्थिति भए गर्छु नभए सम्झाइ बुझाइ गर्छु ।

पत्रकार निष्पक्ष र तटस्थ छैनन् भन्ने आरोप छ नि ?

केही हदसम्म यो ठिक कुरा हो । भनिन्छ दुधले धोए सबै शुद्ध हुन्छ रे । हामी पत्रकारहरु दुधले धोएका मानिस होइनौं भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । तपाईको प्रश्नमा केही सत्यता पक्कै छ ।

पत्रकारिताका लागि न्यू मिडिया (सामाजिक सञ्जाल)को कत्तिको प्रयोग गर्नुहुन्छ ?

सामाजिक सञ्जालको आफ्नै महत्व छ । आमसंचारका माध्यमहरुको जुन परिभाषा छ त्यसमा यिनीहरु पनि पर्दछन् । पत्रकारिताको गहिराइका लागि सामाजिक सञ्जाललाई सुचनाको स्रोतका उपयोग गर्नुपर्छ भन्ने लाग्छ । तर आमसंचारको दिगोपन यसमा हुँदैन यो परालको आगो जस्तो हो जो ह्वार्र बल्यो अनि तुरुन्तै निभ्यो ।

कहिलेकाँही दिक्क लागेर कति दिनदिनै पत्रिका निकाल्नु, आज आराम गर्छु भन्ने लाग्दैन ?

तपाईंलाई साँच्चै भनुँ, जुन दिन समाचार लेख्दैन वा पत्रिका निकाल्दैन त्यो दिन पो अफ्ठेरो लाग्छ । आज केही बिराइयो कि । आज केही भुलियो कि जस्तो लागिरहन्छ । दिनदिनै पत्रिका निकाल्नु नसा भइसक्यो । अरु मानिसहरु अरु पदार्थबाट नसा लिन्छन्, म पत्रकारिताको नसामा रमेको छु ।

श्रीमतीले ‘पत्रिका म निकाल्छु, तपाईं गृहस्थी सम्हानुस् भनेर प्रस्ताव गरे…!’

हा… हा… हा… मन छुने प्रश्न गर्नु भयो डिल्लीजी । तर श्रीमतीको मुखबाट यो कुरा सुनेको छैन । मात्रै बरु लोकसेवा पढेको भए हुन्थ्यो नि जागिरको सुनिश्चितता हुन्थ्यो नियमित आम्दानी हुन्थ्यो भन्ने कुरा उठ्छ । गृहस्थी हामी दुवै मिलेर सम्हालिरहेका छौं जो एक्लो हुन्छ बास्तवमा त्यसको गृहस्थी नै हुँदैन ।

पत्रकार नभएको भए के भइन्थ्यो होला ?

आज म तपाईंलाई यौटा खुलासा गर्दछु । मलाई बैंकको मेनेजर बन्ने सपना थियो । त्यसै भएर आइ. कम. पढेको थिएँ । पत्रकारितामा आएपछि बैंकको मेनेजर बन्ने सपना हरायो । पछि कमर्स पढ्न छोडेर बीए पढें । अहिले मलाई के लागेको छ भने मैले मेरै पालाबाट फेज आउट भएको ल पढेको भए राम्रो वकिल बन्थें जस्तो लाग्छ । तर यो सबै कुरा समयको खेल रहेछ । विगतको कुरातर्फ नजाऔं । जे हुन्छ त्यो राम्रोका लागि हुन्छ रे । आफ्नो पेशा र कर्मप्रति मलाई गर्व छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *