सायद डिएसपी हुन्थें | शरद रेग्मी

  
  प्रकाशित मितिः बुधबार, कार्तिक ५, २०७१       | 150 Views   ||

Sharad_regmiअध्यक्ष, रिपोर्ट्स क्लव, दाङ

पत्रकारितामा कहिलेदेखि लाग्नुभयो ?

विगत दश बर्षदेखि निरन्तर लागीरहेको छु । रेडियोबाट सुरु भएको पत्रकारीता छापा माध्यम हुंदै अहिले राष्ट्रिय स्तरको एभिन्युज टेलिभिजनमा काम गर्दैछु । साथै पत्रकारहरुका लागि समाचार बन्ने थलोका रुपमा रिपोर्ट्स क्लवलाई सबैको साझा संस्थाका रुपमा विकास गर्न लाग्दैछु ।

किन लाग्नुभयो नि पत्रकारितामा ?

आम नागरिकहरुलाई आफ्नो अधिकारबोध गराई समाज रुपान्तरणका लागि पत्रकारितामा लागेको हुँ । अधिकारविहीनहरुको अधिकार खोज्न तथा आवाजविहीनहरुको आवाजलाई उजागर गर्न मिडियामा लागेको हुँ ।

पत्रकारितामा आउनुअघि के गर्नुहुन्थ्यो ?

व्यापार । तुलसीपुरमा मेरो सानो फेन्सी पसल थियो ।

पत्रकारिता समाजसेवा कि जिविकोपार्जनको माध्यम के हो ?

हाललाई समाजसेवा । तर अब यसलाइ जिविकोपार्जनको पनि माध्यम बनाइनुपर्छ भन्ने मान्यता हो ।

पत्रकारितामा लागेर के पाउनुभयो, के गुमाउनुभयो ?

सामाजिक मानसम्मान र प्रतिष्ठा अनि आत्मसन्तुष्टि पाइयो । व्यवसाय गरिरहेको अवस्थाको कमाइजस्तो पत्रकारितामा छैन ।

पत्रकारितामा लागेपछिको त्यस्तो कुनै खुसीको उत्कृष्ट क्षण ?

सबैभन्दा खुसीको क्षण वि.सं. २०६८ चैत १७ गते । जुन दिन म तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हातबाट उत्कृष्ट जिल्ला शाखाको पुरस्कार थापे । रिपोटर््स क्लव दाङ शाखा मुलुकभरिका ६८ शाखाहरुमा उत्कृष्ट भएको थियो ।

अनि अर्को खुसीको क्षण भनेको २०६९ चैत १७ । त्यो दिन पनि तत्कालीन प्रधानमन्त्री खिलाराज रेग्मीले रिपोर्ट्स क्लव दाङ शाखालाई सर्वोत्कृष्ट शाखाको रुपमा पुरस्कृत गर्नुभएको थियो । त्यो पुरस्कार पनि क्लवको अध्यक्षको हैसियतले मैले थापेको थिएँ ।

समाचार लेखेकै कारण कसैको धम्की वा कुटाइ खानुभएको छ ?

पत्रकारितामा धम्की भन्ने विषय सामान्यजस्तै लाग्छ । तर कुटाइ भने खाइएको छैन । सामाजिक काममा डाहा गर्नेहरु पनि समाजमा धेरै हुन्छन् । तर जनताको पक्षमा काम गर्ने पत्रकारिता क्षेत्र भएकाले त्यसबाट विचलित हुनुपर्ने अवस्था छैन । त्यस्ता झिनामसिना धम्कीले पत्रकारितालाई थप ऊर्जा दिने मेरो ठम्याइ छ ।

भुलबस गलत समाचार लेखेर अप्ठ्यारोमा पर्नुभएको छ ?

त्यस्तो परेको छैन । तर मिडियामा पठाएकै दिन समाचार प्रसारण÷प्रकाशन नहुँदा भने अलि खिन्न हुन्छ मन । त्यसले कहिलेकाहीं त आफ्नो पेशागत विश्वासमा पनि संकट परेजस्तो भान हुन्छ ।

पत्रकारितालाई गलत व्यक्तिहरुले दुरुपयोग गरिरहेको जस्तो लाग्दैन ?

किन नलाग्नु ! यहाँ पनि केही पत्रकारहरुले पत्रकारिताका नाममा संस्थाकै बदनाम गरेको पनि अवस्था छ ।

पत्रकारिताका लागि न्यू मिडिया (सामाजिक सञ्जाल)को कत्तिको प्रयोग गर्नुहुन्छ ?

किन नगर्नु, दैनिक १० घण्टाजसो सामाजिक सञ्जालमै व्यस्त पनि हुन्छु कहिलेकाहीं ।

तपाईंलाई समाचार संकलन, लेखनभन्दा पत्रकारको नेतागिरी बढी गर्नुहुन्छ भन्छन् नि !

भन्न त त्यसै भन्छन्, तर समाचार लेखन र समाचारको श्रोत खोज्न अभ्यस्त नभई पत्रकार नेता बन्न सकिंदैन भन्ने मेरो मान्यता हो । समाचार नै नलेख्ने भए दैनिक पत्रपत्रिका, अनलाइन र टेलिभिजनमा मेरो नाममा कति समाचार प्रकाशन प्रशारण भइरहेका छन् । त्यो आम पाठक, दर्शक र श्रोताहरुले मूल्याङ्कन गर्ने विषय हो ।

पत्रकार नभएको भए ?

सायद डीएसपी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *