इमान्दार नेता बोगटी अब रहेनन्

  
  प्रकाशित मितिः बुधबार, कार्तिक ५, २०७१       | 137 Views   ||

diwakar 2जनउभार समाचारदाता
भदौ ३० गते बिहान एकीकृत माओवादीका नेता, कार्यकर्ताहरु भावविह्वल हँदै काठमाण्डौं थापाथलीस्थित नर्भिक अस्पताल पुगे । बिस्तारै भीड बढ्दै गयो, सबैका आँखा रसाउँदै जान थाले । समय दिनको गतिका अघि बढेसँगै मृत्युको अप्रिय खबर देशभर सञ्चार भयो र उक्त दिनभर सिङ्गो देश शोकमा डुब्यो ।

हृदयघात र मस्तिकघातबाट गम्भीर बिरामी परेका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’को उपचारको क्रममा निधन नर्भिक अस्पतालमा सोमबार बिहान ७ : २५ मा निधन भयो । पार्टीको काममा सबैभन्दा बढी खट्ने तर मिडियामा त्यति नछाउने एक इमान्दार, निष्ठावान नेताको मृत्युपछि उनको निष्ठा र आदर्श जीवनका गाथा मिडियाले मात्र नभई प्रतिपक्ष दलका ठूला नेताहरुले समेत गाए र देशको एउटा इमान्दार नेतालाई अन्तिम श्रद्वाञ्जली दिए । पूर्वमन्त्रीसमेत रहेका बोगटीलाई सरकारी सम्मानका साथ सोमबार नै पशुपति आर्यघाटमा अत्यष्टि गरिएको थियो । माओवादी आन्दोलनका जुझारु नेता बोगटीलाई प्रधानमन्त्रीदेखि सबै दलका नेता र उच्चपदस्थ कर्मचारीहरु समेत श्रद्धाञ्जली दिन खुलामञ्च पुगेका थिए । सो क्रममा देशका लागि ठूलो योगदान गर्न सक्ने राम्रो र मिलनसार नेता देशले गुमाएको प्रतिक्रिया अन्य दलका नेताहरुले दिएका थिए ।

diwakar 1पोष्टबहादुर बोगटी माओवादी आन्दोलनका एक हस्ती हुनुहुन्थ्यो भने कम्युनिष्ट आन्दोलनका इमान्दार सिपाही । जनयुद्धको गतिसँगै दिवाकर बनेर उदाउनुभएका बोगटीको परिचय राप्तीका हरेक भूगोल र कार्यकर्ताका माझ भावनात्मकरुपले गाँसिएको छ । दुःखमा पनि निर्भिक भएर जनतामाझ प्रस्तुत हुन सक्ने व्यवहारिक र त्यागी नेताको हैसियतमा बोगटी कार्यकर्तामाझ लोकप्रिय बन्नुभएको थियो ।

सांगठनिक क्षेत्रमा विशेष दख्खल राख्ने नेता बोगटीले जनयुद्धकालमा दाङलगायत राप्तीका जनताको काखमा रही समग्र पश्चिम नेपालको कमाण्ड सम्हाल्नुभयो । जनताको घरको आटो र ढिडो खाएर उहाँले पश्चिम क्षेत्रबाट जनयुद्धलाई सफलताको शिखरमा उठाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । उहाँको नेतृत्व कहिल्यै विवादित रहेन । कहिले असफल पनि भएन । आफ्नो पारिवारिक जीवनमा मात्र उहाँले दुःखका खहरे व्यहोर्नुभएन, पार्टीका नेतामा सबैभन्दा बढी कार्यक्षेत्रमा खट्ने र अप्ठ्याराहरु झेल्नेमा उहाँ माथिल्लो स्थानमा पर्नुहुन्छ ।

जनयुद्धमा आफ्नै छोरा गुमाउनुभएका बोगटीले दुई छोरी र श्रीमतीलाई पनि जनताको मुक्ति आन्दोलनमै सहभागी गराउनुभयो । निस्वार्थ भावले नेतृत्वलाई सहयोग गर्ने नेताको रुपमा पनि परिचित बोगटीले पार्टीभित्र ठूल्ठूला कलहहरु मिलाउनमा नेतृत्वलाई प्रेरणादायी भूमिका निर्वाह गर्नुभएको छ । त्यसैले त एमाओवादी अध्यक्ष प्रचण्डले समेत उहाँको निधनको पीडा आफ्नै छोरीको मृत्युभन्दा बढी भएको प्रतिक्रिया दिनुभएको छ ।

२०३५ सालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय बोगटी अन्तिम क्षणसम्म पार्टीमै क्रियाशील हुँदाहुँदै जानुभयो । २०३९ सालदेखि प्रचण्डसँग निकट रहनुभएका बोगटी अन्तिम बैठकसम्म पनि उहाँकै सारथी भएर क्रान्तिकारी आन्दोलनलाई टेवा पु¥याउनुभयो । नुवाकोटको तुप्चे–२ मा २०१० साउन ३ गते जन्मिनुभएका बोगटीका पत्नी र दुई छोरी रहेका छन् । उहाँका एक मात्र छोरा रवि बोगटीको ०५९ मा धादिङमा तत्कालीन शाही सेनाले गोली हानी हत्या गरेको थियो ।

बोगटीले २०४० सालमा मशालको जिल्ला सेक्रेटरी हुँदै २०४३ मंसिरमा क्षेत्रीय व्यूरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, त्यसपछि भेरी कर्णाली उपव्यूरोको इन्चार्ज, २०५३ सालमा पश्चिम व्यूरो संगठनको इन्चार्ज हु“दै पार्टी स्थायी समिति सदस्यको जिम्मेवारी सम्हाल्नुभयो । जनयुद्धको तीव्रताका बेला पश्चिम कमाण्डको नेतृत्व गर्नुभएका बोगटीले शान्ति प्रक्रियामा आउ“दासमेत पश्चिम कमाण्डको इन्चार्ज रही जिम्मेवारी भूमिका निर्वाह गर्नुभयो ।

एमाओवादी बहुपदमा गएपछि पार्टीको सचिव हुँदै २०६९ सालमा हेटौडामा सम्पन्न एकताको सातौ राष्ट्रिय महाधिवेशनबाट बोगटी महासचिवमा सर्वसम्मत चयन हुनुभयो । २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र नं. ३ बाट विजयी उहाँ एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभामा प्रमुख सचेतक बन्नुका साथै सञ्चारमन्त्री, ऊर्जा मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारी पनि सम्हाल्नुभयो । पछिल्लोपटक उहाँले एमाओवादीको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएको थियो ।

बोगटीको निधनको शोकमा एकीकृत माओवादीले तीन दिनसम्म पार्टीको झण्डा झुकाउने र असोज ५ गते देशभर श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *