किन र कसरी लाग्नुभयो पत्रकारिता पेसामा ?
त्यो बेला दाङमा कुनै पनि महिला पत्रकार थिएनन् । मैले पत्रकारिता शुरु गर्ने बेलामा महिलाका लागि अनौठो र समाजले पनि त्यति सहज स्वीकार गर्ने पेशाको रुपमा हेरिन्नथ्यो । त्यसैले असहजलाई सहज बनाउन र पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता हुनुपर्छ भन्ने लागेर म यो पेशामा प्रवेश गरेको हुँ ।
त्यो बेला दाङमा महिला विकास समितिले जिल्लाका ग्रामीण महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा सशक्त पार्नका लागि समूहगत रुपमा संगठित गर्नेदेखि महिलाका लागि थुप्रै राम्रा कामहरु गर्दै आएको थियो । चुलोचौकोमा सीमित दाङका महिलाहरु संगठित हुने, महिलाको हक हितका लागि सक्रिय हुने क्रम बढेको थियो । तर महिलाका पक्षमा महिलाले गाउँमा गरेका कामहरु त्यति पत्रपत्रिकामा आउदैनथ्यो । म पनि त्यो बेला घोराही–५ नवलपुरको त्रिदेवी महिला बिकास समितिको सचिव थिएँ । शुरुमा आफूजस्तै ग्रामीण महिलाको समाचार लेख्ने महिला पत्रकार हुने रहर लागेर म पत्रकारितामा प्रवेश गरेको हुँ । जसलाई आजसम्म पनि निरन्तरता दिइरहेको छु ।
पत्रकारिता रहर हो कि बाध्यता ?
शुरुको अवस्थामा रहर हो । उसो त कुनै पनि पेशा कसैलाई पनि जबर्जस्त गर्नुपर्छ भन्ने छैन् । जुनसुकै काम गर्दा पनि शुरुको अवस्थामा रहर हुन्छ त्यो स्वभाविक हो । बाध्यता त अब पत्रकारिता गर्दिनँ भन्दा कुन पत्रकारलाई कारबाही भा’को छ र ? त्यो त छैन नि । तर के कुरा सत्य हो भने रहरले लागिन्छ, यसमा लागिसकेपछि नसाजस्तै हुँदोरहेछ ।
पत्रकारिता पेसामा लाग्दा पत्रकारिताको क्रेज कस्तो थियो ?
अहिलेको जस्तो थिएन । किनकि संख्यात्मकरुपमा मिडिया हाउसहरु पनि थोरै थिए । र जिल्लामा सञ्चारकर्मीहरु पनि थोरै हुनुहुन्थ्यो । सञ्चारप्रतिको मोह त्यति बढी भएजस्तो लाग्दैनथ्यो । ग्रामीण समुदायमा सूचनाको पहुँच सहज थिएन । तर पत्रकार र पत्रकारिता क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण भने धेरै फरक थियो । पत्रकार भनेपछि अलि धेरै सम्मानित रुपले हेर्ने गरिन्थ्यो । सरकारी कार्यालयदेखि अरु क्षेत्रका मानिसहरु पनि बिशेष सर्तक रहन्थे । तर अहिले त्यस्तो छैन ।
पत्रकारितामा स्थापित हुन कत्तिको संघर्ष गर्नुप¥यो ?
पत्रकारिता पेशामा स्थापित हुनको लागि संघर्ष त गर्नु नै प¥यो । शुरुमा एक्लो महिला पत्रकार हुँदा कतिपय कार्यालयहरुमा पत्रकार भन्दा पत्याउदैनथे । सूचना पाउन निकै गा¥हो हुन्थ्यो । सूचना माग्दा कतिपय सरकारी कार्यालयका प्रमुखहरुले बिषय र प्रसंग मोडेर अन्यत्रै गफ गर्न खोज्ने गर्दा विषयवस्तुमा ल्याएर सूचना लिन कठिन हुन्थ्यो । त्यस्तै समयको निर्धारण नहुने पेशा र त्यसमा पनि नेपाल टेलिभिजनमा काम गर्ने बेला धेरै संघर्ष गरेको छु । द्वन्द्वकालमा प्यूठानमा रिपोर्टिङमा जाँदा त्यतिबेलाको भूमिगत माओबादीले बड्डाँडामा दुइ घण्टा छेक्दा निकै असहज लागेको थियो ।
महिला भएकै कारण पत्रकारितामा लाग्दा कतै विभेदको महसुस गर्नुभएको छ ?
धेरैचोटी गरेको छु । पहिलो कुरा सूचना प्राप्तिमै विभेद खेप्नुपर्दो रहेछ । शुरुको अवस्थामा त्यो विभेद मैले पनि भोगेको हो । उही सूचना पुरुष सञ्चारकर्मीलाई सहज रुपमा दिइन्छ । तर महिला भएकै कारण उही सूचना प्राप्त गर्नका लागि बिषयलाई तोडमोड गरेर पन्छाउने प्रवृत्ति बिशेष गरेर सरकारी कार्यालयहरुमा धेरै भोगेको छु । त्यस्तै अन्य सार्वजनिक समारोहमा पनि महिलालाई भन्दा बढी प्राथमकिता पुरुषलाई दिने गरिन्छ । त्यो परिपाटी हिजो पनि थियो र आज पनि छ । त्यस्तै कतिपय आफूलाई महत्वपूर्ण लागेका समाचारहरुमा मिडिया हाउसले पनि त्यति वास्ता गर्दैनथे । त्यस्तै अलि अप्ठ्यारो स्थानमा रिपोर्टिङ गर्न जानुपर्दा महिलाले सक्दैनन् भन्नेजस्ता समस्याहरु पत्रकारितामा महिला भएकै कारण धेरै चोटी भोगेको छु । त्यो भन्दैमा पुरुषलाई प्राथमिकता दिएको भनेर अनादर गर्न खोजिएको होइन । महिलालाई हेर्ने दृष्टि अन्य क्षेत्रजस्तै सञ्चारमा पनि पितृसत्तात्मक प्रवृत्ति हावी छ ।
पत्रकारितामा लागेर के पाउनुभयो के गुमाउनुभयो ?
साथीभाइ इष्टमित्र पाएँ, यौवन गुमाएँ ।
भुलबश गलत समाचार लेखेर अप्ठ्यारोमा परेको घटना छ ?
छ । मैले आफै जानी–जानी गरेको भुल होइन् । स्रोतको कमजोरीका कारणले नेपाल टेलिभिजनमा गलत समाचार सम्प्रेषण हुँदा रातभर सुतेको होइन । काठमाण्डौंबाट तीर्थयात्री लिएर प्यूठानको स्वर्गद्वारी जाँदै गरेको बस प्यूठानको खाल गाबिसमा दुर्घटना हुँदा १४ जना मरेका रहेछन् । मलाई तत्कालीन दाङका प्रहरी उपरिक्षक घनश्याम भट्टले बढी २३ जना मरेको जानकारी दिनुभयो । त्यो सत्य रहेनछ । मैले पनि हतारमा दोहोरो चेक नगरी समाचार लाइभ अपडेट गरेपछि मृतकको संख्या पु¥याउन नसक्दा मेरो मिडिया हाउस र पीडित पक्षका मान्छेहरुको खप्की खानुपरेको थियो । त्यसले मलाई अझ बढी संवेदनशील र जिम्मेवार पत्रकार बन्न सिकायो ।
पारिवारिक उत्तरदायित्व र पत्रकारिता ! दुवैलाई व्यवस्थापन कसरी गर्नुभएको छ नि ?
चाहेपछि जे पनि सम्भव हुँदोरहेछ । मलाई मेरो श्रीमान र ७१ वर्षीय बूढी सासुआमाको बिशेष सहयोग छ । त्यो नहुँदो हो त म पत्रकारिता क्षेत्रमा टिक्न सक्थे वा सक्दैनथें ! त्यो अर्को बिषय बन्थ्यो होला । तर समय व्यवस्थापन गर्नु पनि ठुलो कुरा हुँदो रहेछ ।
पत्रकारिता रोजगार कि समाजसेवा ? तपाईंलाई के लाग्छ ?
मलाई पत्रकारिता अर्ध–सामाजिक सेवा हो जस्तो लाग्छ ।
सामाजिक सञ्जाल (न्यू मिडिया)ले पत्रकारितालाई कत्तिको फाइदा पु¥याएको जस्तो लाग्छ ?
फाइदा पु¥याएको छ । सूचनासँग अपडेट हुनका लागि पनि सजिलो गराएको छ नि ।
तपाईं सामाजिक सञ्जालमा कत्तिको समय बिताउनुहुन्छ ?
समय पाए सम्म र्फुसदको समयमा ।
पत्रकार नभएको भए के हुनुहुन्थ्यो ?
म कुनै स्कुलमा शिक्षिका हुन्थें । र बिद्यार्थीहरुसँग रमाउँथें ।