हाँस्न जान्नु नि कला हो | टंक गौतम

  
  प्रकाशित मितिः बुधबार, कार्तिक ५, २०७१       | 160 Views   ||

Tanka_gautam_CMYKपूर्व प्रेमिकाको फोटो करिब १५ वर्षपछि फेसबुके भित्तामा मेरो मस्तिष्कलाई झड्का दिदै टुपुल्कियो । रुमानी सम्झनाहरु एकएक गर्दै आँखा अघि उभिए । ऊ मेरी प्रेमिका थिइ किनकि मेरो आत्माले उसलाई एउटी प्रेमिकाका रुपमा ग्रहण गरिसकेको थियो । कैयौंपल्ट मैले उसलाई सपनामा देखें । उसलाई सम्झेर एकान्तमा एक्लै मुस्कुराएँ । एकातिर ओठ मुस्कुराइरहेका हुन्थे अर्कातिर आँखाबाट शीत पग्लन थालिसकेको हुन्थ्यो । भात पस्किएको थालमा उसको तस्वीर मुस्कुराउँदै उभिन्थ्यो, म गास छोडेर टक्क रोकिन्थें । र, मुस्कुराउँथें । यो मुस्कानमा मेरा सहबासीहरु साहित्यको गन्ध पाउँथे र भन्थे, भात खाँदा खाँदै कविता फुर्न थाल्यो कि कसो ? बिचरा उनीहरुलाई के थाहा म कसलाई देखेर मुस्कुराइरहेको छु !

ऊ मेरी प्रेमिका थिइ तर म उसको प्रेमी थिइनँ । यो एउटा रमाइलो विषय थियो । तपाईंको भाषामा यो मेरो वान साइडेड लभ थियो । यस्तो अमूर्त प्रेमले मलाई धेरै समयसम्म लखेटिरह्यो । यस्तैमा एउटा विशेष घटना घट्यो र यही घटनाले मेरो प्रेमलाई भंग गरिदियो । फेरि मेरो दिनचर्या यथावत् बन्यो । यो सबै भएको थियो आजभन्दा करिब १५ वर्षअघि । आज फोटोमा उसलाई देख्दा माया लागेर आयो । धेरैबेर घोरिएर हेरें । के यो उही नारी हो, जसलाई पन्ध्र बर्षअघि म भातको थालमा समेत देख्थें र राती निद्रामा त झन् देखि नै रहन्थें ।

त्यो विशेष घटना अरु केही नभएर उसको बिहे थियो । जुन दिन म उसलाई प्रेम गर्छु भन्ने खबर उसको कानमा पुग्यो, त्यसको सात दिन पछि ऊ कसैकी श्रीमती भइसकेकी थिइ । सात दिनअघि उसले सुनेको त्यो खबर उसका निम्ति बेअर्थको कुनै झिनोमसिनो घटना थियो । हुन सक्छ, यो खबर उसको कानमा नपरेको होस् । सात दिनअघि खबर पुगेकै हो भन्ने मेरो विश्वासमात्र हो । मेरो विश्वासका केही आधार भए तापनि सधैं सोचेजस्तो नहुन पनि त सक्छ । तर पनि हालसम्म मेरो विश्वासको धरहरा उसैगरी अडिग छ । मेरो अर्को के पनि विश्वास छ भने, जब उसको कानमा म उसलाई प्रेम गर्छु भन्ने खबर पुग्यो, उसले ‘असम्भव कुरा मनमा खेलाएर टाउको नदुखाउनू’ भनी । यद्यपि उसले भनेका यी शब्द मेरा आफ्नै कानले सुनेका भने होइनन् । जसले मेरो आत्माको भाकालाई टपक्क टिपेर उसको अघि पु¥यायो, उसैले उसको मस्तिष्कको भाषालाई पनि मसम्म ल्याइपु¥यायो ।

एक मन त लागेको थियो, म आफै गएर उसलाई मनको कुरा प्रकट गरुँ । तर, तत्काल आँट आएन । सोचेको थिएँ, कुनै दिन अदम्य साहस निकालेर म उसको सामु आफ्नो भावना प्रकट गर्नेछु । कतै पढेको थिएँ, ‘धेरै मानिस योजना बनाउनमै आफ्नो अमूल्य समय बर्बाद गर्छन्, योजना कार्यान्वयन गर्दैनन् । त्यतिञ्जेलसम्म धेरै कुरा गुमाइसकेका हुन्छन् ।’ धेरै समय अघि पढेको यो पाठ्यांशले उतिबेलै निकै झड्का दिएको थियो । लागेको थियो, साला यो मेरै लागि लेखेको रहेछ । अहिले फेरि त्यो भनाइ मेरो स्मरणमा झुण्डिन आइपुगेको छ । नभन्दै त्यस्तै भयो । मैले ‘भन्छु’ भनेको त्यो ‘कुनै दिन’ कहिल्यै आएन । सम्भावित मेरा सात दिन योजना बनाउनमै बिते र आठौं दिन त मेरो योजना अर्थहीन भइसकेको थियो ।

यसरी आठौं दिनदेखि मेरो अर्कै दैनिकी सुरु भयो । यसपछिका केही दिनहरुलाई समेटेर धन्न अहिलेसम्म महेन्द्र महकले कथा लेखेको छैन । यसै ताका ऊ र म साहित्यको कखरा सिक्दै थियौं । वीरेन्द्र हाम्रा निम्ति वेदव्यास बनेर बेला–बेला टुपुल्किन्थ्यो र हराउँथ्यो । हामीले उसलाई साहित्यको गुरुका रुपमा स्वीकार गरिसकेका थियौं । पछि ऊ गुरुबाट मित्रमा घटुवा भएको थियो र पछिसम्म पनि मित्रकै रुपमा कायम रह्यो ।

मेरो हालत देखेर महक छक्क पथ्र्यो । सम्झाउँथ्यो । उडाउँथ्यो । हकाथ्र्यो । त्यतिबेला मेरा निम्ति ऊ गौण बनेको थियो र ऊ प्रधान बनेकी थिइ । केही दिन खाना छोडिदिएँ मैले । निद्रा पनि आउँथ्यो तर छिनभरमै हराउँथ्यो । जतिबेला आउँथ्यो सँगसँगै उसैको तस्वीर लिएर आउँथ्यो । सपनामै म उसँग बात मार्थें तर ऊ मेरो कुरै नसुनी तुफानको गतिमा विलीन हुन्थी । पकाएको खाना रछ्यानमा हुत्तिन्थ्यो । जतिबेला बासी सेतो भातले भरिएको बाँटा लगेर महक रछ्यानमा जान्थ्यो, ऊ मलाई गाली गर्न थाल्थ्यो । म बोल्दिनथें । सायद करिब एक हप्ता मुस्किलले म सय शब्दजति बोले हँुला । बीचमा कुनै दिन म आफैलाई पनि लाटो हुन्छु कि भन्ने डर पनि लागेको थियो । पछि बिस्तारै बालकले बाबा, काका, मामा, आमा भन्न सिकेझैं सिकें । म पहिलेकै अवस्थामा आउन करिब बर्ष दिन लाग्यो ।

ऊ सँगको मेरो पहिलो भेट कुनै स्मरणीय घटनाजस्तो थिएन । सामान्य रुपले ऊ आइ । मैले देखें । पातली थिई । गहुँगोरो वर्णकी । जसरी म कक्षाभित्र प्रवेश गरें, उसैगरी ऊ पनि प्रवेश गरी र दिनभर क्याम्पसमा लेक्चर सुनी र बेलुका फर्किइ । तर, पछि एउटा संयोग के भइदियो भने, जसरी मैले कक्षा सुरु गरेको सात दिनपछि ऊ क्याम्पसमा आएकी थिइ, ठीक त्यसैगरी मेरो प्रेम ऊ सामु प्रकटिएको सातै दिनपछि उ कसैकी श्रीमती भैसकेकी थिइ । यसमा सात दिनको मात्र संयोग थियो अरु केही थिएन । त्यसको १० वर्षपछि मैले अर्की केटीलाई देखें ठीक त्यसरी नै कक्षा सुरु भएको सात दिनपछि । र, ऊ मेरो जीवनमा एउटा रोचक कहानी बनाएर सामेल हुन आई । कहिलेकाँही त लाग्छ, यो सातौं दिनले मेरो जीवनमा विशेष अर्थ राख्छ । पहिली, उसलाई मैले आइएको कक्षा सुरु गरेको सातौं दिनमा देखेको थिएँ र दोस्रीलाई एमएको कक्षा प्रारम्भ भएको सातौं दिनमा । दोस्रो संयोग के भयो भने पहिलीले पनि तीन वर्ष दिमागमा डेरा जमाएर बसी र हराइ । तर दोस्रीले पनि तीनै वर्ष दिमागमा डेरा जमाइ र जीवनमा साथ दिन आइ । तीनै वर्ष यी दुईको भारी मैले आफ्नो टाउकोमा बोकी हिडें, उनीहरुलाई थाहै नदिइ ।

अँ, म पहिलीको बारेमा कुरा गर्दैछु ।

(दोस्रीको बारेमा कुनै अर्को कथा बन्ला) उसलाई देखेको पहिलो छ महिना त मैले उसँग बोल्दै नबोली बिताएँ । त्यसपछिका दिनहरु हाम्रा औपचारिक कुराकानीमै सीमित भए । तर, यसैबीच मैले उसलाई मेरो मन मसानमा (प्रायः मन मन्दिर भन्छन्, तर मैले मन मसान भनें, कारण साँच्चै मेरो मन मन्दिर भैदिएको भए ऊ भगवानको दर्शन गर्न आउँथी ।) विराजमान गराएँ । यतिसम्म कि अंग्रेजीको डरले नेपाली साहित्य पढ्न थालेको मैले उ बस्ने गरेको सेतो घर र उसलाई विषय बनाएर ‘ह्वाइट हाउस’ शीर्षकमा अंग्रेजीमै कविता लेखें । साला कविता अस्ति घरका कुनाकाप्चा धुइपत्ताल खोज्दा पनि भेटिएन । ऊ अबोध नारीलाई केही थाहा नहुँदा नहँुदै मैले उसलाई मेरी प्रेमिकाको रुपमा स्वीकार गर्न थालें । तीन वर्षसम्म उसका अघि आफूलाई प्रकट गर्ने साहस कहिल्यै आएन ।

मेरो प्रेम प्रस्ताव पुगेको पन्ध्रौं दिनको बिहान करिब ९ बजे मैले उसलाई घोराहीको क्याम्पस रोडमा देखें । अस्वाभाविक श्रृंगारमा । नारी श्रृंगारको एउटा महत्वपूर्ण अंश, उसको सौभाग्यको प्रतीक सिन्दूर उसको निधारको मध्यभाग भएर कोरिएको थियो । कालो कपाललाई दुई भागमा विभाजन गरेर । लाग्यो, उसको सिन्दूरको नदीले छुट्याएका हामी दुई किनारा हौं । हाम्रो मिलन असम्भव छ । ऊ थोरै मुस्कुराइ र अघि बढी । म पनि उसैगरी मुस्कुराएँ र अघि बढें । शंकर लामिछानेको भनाइ सम्झिएँ, ‘हाँस्न जान्नु ठूलो कला हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *