काकाकुल मनहरु/व्याकुल तनहरु
तृषित ओंठहरु/विचलित आँखाहरु
सबै–सबै घुइँचोबीचको अस्तव्यस्त चोकमा
छाती थापिरहेको साँघुरो कोठा– कान्छीको पसल ।
पसल नै कान्छी हुन् या
कान्छी नै पसल ?
मेसिन नै कान्छी हुन् या
कान्छी नै मेसिन ?
बोकेर अपरिभाषित जीवन
डटिरहन्छिन् कान्छी
आफ्नो सुनौलो जिजीविषाको खोजीमा ।
कान्छी नयाँ कपडा सिलाउँछिन्
तर नयाँ जीवन बनाउन जान्दिनन्
कान्छी फाटेका कपडा सिलाउँछिन्
तर फाटेका मन सिलाउन सक्दिनन्
कान्छी काटिएका टालाका टुक्रा जोड्छिन्
तर टुक्रिएका भावना जोड्न सक्दिनन्
कान्छी अरु कसैका उपहारमा फूलबुट्टा भर्न सक्छिन्
तर आफ्नै जिन्दगीका बुट्टामा रंग भर्न सक्दिनन्
जिन्दगी जिउने सम्झौतामा
बिवश कान्छी
अरुका इज्जत र बैभव फुलाउन
तयार पार्छिन्, नयाँ–नयाँ फेशनका डिजाइनहरु
तर आफ्नै दुःखी जिन्दगीमा
दमित सपनाका डिजाइन भेटाइरहेकी छैनन् ।
उनका पाइला चलमलाउँछन् मेसिनमा जब
छतीभित्र ‘पासाङ ल्हामु’ मुस्कुराउँछे
र, कुनै सिकारु चित्रकारको महत्वाकांक्षाझैं
उत्साहित कान्छीको मनले
कर्तव्यपथका धागोहरुसँग
चञ्चल भावनाका गाँठोहरु कसेर
मनको शिखर चढ्ने असफल यत्न गर्छिन्
उनका औंलाहरु सल्बलाउँछन् कपडामाथि जब
आँखाको नानीमै ‘फ्लोरेन्स नाइटिङ्गेल’ आइ बस्छे
र, कुनै नर्सका विद्यार्थीझैं
जागरुक कान्छीको धैर्यताले
घाइते बिपनाका उपचार गर्ने असफल यत्न गर्छिन्
अराजक सियोहरुले घोचुन्
या अपमानका धागोहरुले बेरुन्
अथवा इष्र्याका रंगहरुले छ्यापुन्
या डाहका धूनहरुले गिज्याऊन्
अकिञ्चित कान्छी
नैतिक मूल्यकोे बलमा
आधुनिक डिजाइनका बस्त्रहरु सिलाउँछिन्
र, सन्तुष्टिले परेलीको थकान लाउँछिन् ।
मीठो निद्राको पुल हुँदै कान्छी
सपनाको स्वर्ण संसारमा पुग्छिन्
जहाँ, वर्षेयामको सप्तरंगी इन्द्रधनुषझैं
एकीकृत भएका हुन्छन्–
खण्डित मनहरु÷विभाजित विचारहरु
जहाँ, संरक्षित बगैंचाका फूलहरुझैं
सुसज्जित भएका हुन्छन्–
स्खलित भावनाहरु/प्रताडित जीवनहरु
जब कान्छी झस्केर ब्यूँझन्छिन्
र ब्यूँझेर झनै झस्कन्छिन्
कुनै देहव्यापारकी सुरासुन्दरीझैं
हिजो निर्मित बस्त्रले कान्छीलाई छाडेर
कोही धनाढ्यका इज्जत सजाइरहेको हुन्छ
कान्छीको बिस्मित याम फर्कन्छ पूर्ववत्
र, उनको ढोकामा अभावहरुले घच्घच्याउन थाल्छन्
कुनै बिरोधसभामा जाने मान्छेका लस्करजस्तै
बिवशताका जुलुसले कान्छीको आत्मा घेरिन्छ
बाध्यताका सुनामीले कान्छीको आँखा घेरिन्छ
जसलाई शान्त पार्न
कान्छी सखारै उही पसल उघार्छिन् ।
काकाकुल मनहरु/व्याकुल तनहरु
तृषित ओंठहरु/विचलित आँखाहरु
सबै–सबै घुइँचोबीचको अस्तव्यस्त चोकमा
छाती थापिरहेको साँघुरो कोठा– कान्छीको पसल ।
१२ आषाढ, २०७१, दार्चुला