चाहना डाक्टर बन्ने थियो | सुदर्शन रिजाल

  
  प्रकाशित मितिः बुधबार, कार्तिक ५, २०७१       | 174 Views   ||

Sudarshan_1उप–सम्पादक, कान्तिपुर टेलिभिजन

पत्रकारितामा लागेको कति भयो ?

पत्रकारिता कर्ममा रम्न थालेको दुई दशक भइसकेछ । प्युठान लुङबाट एसएलसी सकेर साइन्स पढ्न काठमाडौं हानिएको म २०४९ देखि काठमाडौंमा पत्रकारिता विषय लिएर पढ्ने थालें । पत्रकारिता विषयको इन्टर्नसीप गर्ने क्रममा २०५१ सालमा दृष्टि साप्ताहिकबाट शुरु भएको मेरो पत्रकारिताकर्म काठमाडौंमा रहँदा दृष्टि, बुधबार तथा सम्बोधन साप्ताहिकमा बित्यो । २०५६ सालमा कान्तिपुर दैनिक सल्यान संवाददाता भएर करिब १ बर्ष काम गरियो । २०५७ देखि कान्तिपुर दैनिकको दाङ संवाददाता हुँदै अहिले कान्तिपुर टेलिभिजनको दाङ संवाददाताको रुपमा पत्रकारिताकर्म गरिरहेको छु ।

किन र कसरी पत्रकारितामा प्रवेश गर्नुभयो ?

पाटन क्याम्पसमा आइ.एस्सी पढ्ने क्रममा अंगे्रजी माध्यमबाट साइन्स पढाएको बुझ्न नसकेपछि म्याथ लिएर आर्टस पढ्न आरआर क्याम्पसमा भर्ना भएँ । आइएमा थप ऐच्छिक विषयको रुपमा म्याथका साथै जनसंख्या अध्ययन र पत्रकारिता पढ्न थालें । आइए दोश्रो बर्षमा इन्टर्नसीप गर्न दृष्टि साप्ताहिकमा गएका बेला त्यही नै मासिक दुई हजार रुपैयाँ पाउने गरी जागिर पनि पाएँ । यसैबाट मेरो यात्रा पत्रकारितातर्फ मोडियो ।

पत्रकारितामा लागेर वा अन्य कुनै पेसा गर्न नसकेर कहिल्यै पछुताउनुभएको छ ?

पछुताएको छैन । मैले पढेको स्कुल गंगा मावि बहानेबाट पढेका साथीहरुमध्ये सबैभन्दा राम्रो गर्ने विद्यार्थीमा म नै गनिएको छु । साथीहरु पनि मेरै प्रशंसा बढी गर्छन् । यसमा मेरो पत्रकारितासँगै प्राध्यापन पनि जोडिएको होला । मलाई प्राध्यापनमा ल्याउन पनि मेरो पत्रकारिताको जनसम्पर्कले नै काम गरेकाले म सन्तुष्ट छु । तथापी अझ धेरै राम्रो गर्ने चाहना हुनु त स्वभाविक हो ।

पत्रकारितामा लागेर के पाउनुभयो, के गुमाउनुभयो ?

पत्रकारितामा लागेर मैले सबैभन्दा ठूलो नाम पाएको छु । जनसम्पर्क बढाएको छु । दाङ जिल्लाका समस्यालाई राष्ट्रियकरण गरेर समाधानमा भूमिका खेलेको छु । भ्रष्ट कर्मचारीको जागिर खोसेको छु । बन तस्करलाई बन मुद्घा लगाउन, मुटुरोगी बालकको उपचारका लागि कोष संकलन गर्न तथा शीतलापुरका बालबालिकालाई स्टेसनरी र पोशाक संकलनमा भूमिका खेलेको छु । पत्रकारिता यात्राकै क्रममा राप्ती अञ्चलका २ सय २९ गाविसमध्ये दुई तिहाइ गाविस घुम्ने मौका पाएको छु आदि–आदि । अहिलेसम्म गुमाएको केही छैन ।

पत्रकारितामा लागेपछिको त्यस्तो कुनै खुसीको उत्कृष्ट क्षण ?

माथि मैले पत्रकारितामा लागेपछि पाएँ भनेका कुराहरु नै मेरा खुशीका क्षणहरु हुन् । यसबाहेक शिक्षा विभाग र पत्रकार महासंघले प्रदान गर्ने पहिलो मध्यपश्चिम क्षेत्रस्तरीय शिक्षा लेखनवृत्ति पुरस्कार र जिविस दाङले प्रदान गर्ने विकास पत्रकारिता पुरस्कार पनि पत्रकारिता कर्मले नै दिएका खुशीका क्षणहरु हुन् । यस्तै पत्रकार महासंघमा रहँदा द्वन्द्वका बेला साथी शरद अधिकारी, केएल पीडितमाथि सेनाले दुःख दिन खोज्दा निभाएको भूमिका पनि खुशीको क्षण लाग्छ ।

समाचार लेखेकै कारण कसैको धम्की वा कुटाइ खानुभएको छ ?

दाङमा काठ तस्करी र सल्यानमा चिट चोराएको विषयमा समाचार लेख्दा धम्की आएका हुन् । कुटाइ भने खानु परेको छैन । यस्तै द्वन्द्वको बेला सेनाको ज्यादतिका बारे सेनासँग जानकारी माग्दा यो विषयमा तपाईंहरुलाई के चासो भनेर मनौवैज्ञानिक त्रास भोग्नुपथ्र्यो ।

भुलबश गलत समाचार लेखेर अप्ठ्यारोमा पर्नुभएको छ ?

भुलबश भनौं कि अर्काको स्रोतमा भरपर्दा भनौं, एकपटक युगबोधमा छापिएको सल्यानमा झाडापखालाबाट १२ जनाको मृत्यु भन्ने समाचार कान्तिपुर टिभीमा एकचोटि प्रसारण भयो । पछि स्रोतसँग भेरीफाइ गर्दा दुई महिनाको अवधिमा मरेका सबै मान्छे गन्दा पनि १२ जना पु¥याउन सकिएन । बिहान १२ जना भनेको समाचार साँझ दुइ महिनाको अवधिमा ६ को मृत्यु भनेर सच्याउनुप¥यो ।

सार्वजनिक स्थलमा पत्रकारहरुको टिप्पणी भइरहँदा तपाइँ के गर्नुहुन्छ ?

पत्रकारकै पक्षमा डिफेन्स लिन्छु । आम पत्रकारको योग्यता र क्षमता, स्रोतले सूचना आफ्नो पक्षमा पारेर दिने प्रवृत्ति तथा मानवीय त्रुटिले पनि हुन्छ भनेर बचाउ गर्छु । तथापी पत्रकारले आफ्नो क्षमता नबढाउँदा यस्तो भइरहेको छ भन्ने पनि लाग्छ ।

पत्रकार निष्पक्ष र तटस्थ छैनन् भन्ने आरोप छ नि ?

केहीलाई भन्न सकिएला तर सबै पत्रकार निस्पक्ष/तटस्थ छैनन् भन्न मिल्दैन । एउटै समाचार फरक–फरक सञ्चार माध्यमले फरक–फरक तरिकाले प्रकाशन प्रसारण गर्दा पत्रकार तथा सञ्चार माध्यमको विश्वसनीयतामा प्रश्न उठ्नु स्वभाविक हो । हरेक पाठक स्रोताले आफुले चाहेअनुसारको समाचार पाउन गाह्रो छ ।

दाङ जिल्लामा दश वर्ष पहिले र अहिलेको पत्रकारिताका फरकहरु के–के देख्नुहुन्छ ?

आम सञ्चारका माध्यमहरु बढेसँगै पाठक/स्रोता/दर्शक पनि बढेका छन् ।
मिडियामा लगानी बढेसँगै मिडियाले उद्योगको रुप धारण गर्न थालेका छन् ।
प्रविधिको प्रयोगले पत्रकारिताका अवसर फराकिला भएका छन् ।
समाचारका क्षेत्रहरु फराकिला भएका छन्  ।
हिजोजस्तो राजनीतिलाई मात्र समाचार बनाउने प्रवृत्तिमा सुधार आएको छ ।
समाचारमा स्थानीयकरण बढेको छ ।
आचारसंहिताको पालना तथा सामाजिक उत्तरदायित्वबोधमा भने हिजो भन्दा आज छाडापन बढी देखिएको छ ।

पत्रकारिताका लागि न्यू मिडिया (सामाजिक सञ्जाल)को कत्तिको प्रयोग गर्नुहुन्छ ?

आजभोलि फेसबुक सूचनाको स्रोतको क्लु भइरहेको छ । त्यसलाई भेरीफाइ गरेर प्रयोगमा ल्याएको छु । एकाध घटनामा त फेसबुकका फोटो डाउनलोड गरेर समाचार समेत बनाएको छु ।

पत्रकार नभएको भए ?

भन्न सक्दिनँ । चाहना डाक्टर थियो । सायद निजामतिको जागिरे वा शिक्षक नै हुन्थें होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *