जुन कुरा पाइएन, त्यो गुमाउनुको के पीडा !

  
  प्रकाशित मितिः बुधबार, कार्तिक ५, २०७१       | 170 Views   ||

roshanmanरोशनमान श्रेष्ठ
संवाददाता, एभीन्यूज टेलिभिजन

कहिलेदेखि लाग्नुभयो पत्रकारिता क्षेत्रमा ?

करिब–करिब एकदशकअघि । सुचनापत्र साप्ताहिकमा फोटो पत्रकारको रुपमा नियुक्ति लिएँ ।

पत्रकारितामा लाग्नुको कारण ?

सायद रुचि र चाहना भन्दा हुन्छ होला ।

पत्रकारिता गर्दा टेलिभिजन नै किन रोज्नुभयो ?

मेरो रुचि भनेको पहिलेदेखि नै फोटोग्राफी र भिडियोग्राफीमै हो । अवसर पनि रुचिअनुसारकै पाएँ । त्यसैले टेलिभिजन पत्रकारितामा लागियो ।

पत्रकारितामा लागेको प्रति कहिल्यै पछुताउनु भएको छ ?

कहिलेकाहीं सोच्दा बाटो बिराइयो कि जस्तो लाग्छ । तर मैले गरेको कामको अरुबाट मूल्याङ्कन हुँदा खुशी हुन्छु । कुनै पछुतो छैन ।

पत्रकारितामा लागेर के पाउनुभयो, के गुमाउनुभयो ?

धेरै कुरा पाएको छु । कुन चैं नेपाली सिरियलमा भन्छ नि– ‘इमान, इज्जत र प्रेष्टिज’ हो, त्यस्तै । अनि थुपै्र साथीहरु पाएको छु ।
जुन कुरा पाउदै पाइएन, त्यो गुमाउनु के को पीडा भयो र ! के–के गुमाइयो, त्यसको कुरा नगरौं है ।

पत्रकारितामा लागेपछिको त्यस्तो कुनै खुसीको उत्कृष्ट क्षण ?

त्यस्तो त थुप्रै छन् । अहिले यो कुरा सामान्य लागे पनि त्यो समयलाई फर्केर हेर्ने हो भने क्यासेटमा खिचिएको समाचार दृश्य दुई दिनपछि काठमाण्डौं पुग्थ्यो अनि टिभीमा समाचार बज्थ्यो । तर सबैभन्दा खुशी त्यतिबेला भएँ जतिबेला दाङमा भएको एउटा घटनाको खबर एक घण्टाभित्र एभिन्यूज टेलिभिजनमा दृश्यसहित प्रशारण गर्न सफल भएँ । समाचार प्रसारण भएलगत्तै कसरी दृश्यसहित आयो भनेर टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार, समाचार सम्पादक प्रवीण गिरीलगायत थुपै्र साथीहरुले फोन गरेर उत्सुकताका साथ स्याबासी दिए र त्यसै वर्षको वार्षिकोत्सवको अवसरमा ‘एभिन्यूज इमान्दारिता पुरस्कार’ हात पारें ।

वास्तवमा मैलेको गरेको त्यो काम कुनै नौलो थिएन । यद्दपी नेपाली टेलिभिजनको लागि उपयोगी भयो । इन्टरनेटको सहयोगले फाइल ट्रान्सफर प्रोटोकलमार्फत् भिडियो ट्रान्सफर गरेको थिएँ । करिब–करिब एक वर्षसम्म त्यो प्रविधि म एक्लैले चलाएँ । पछि टेलिभिजनको क्षेत्रीय कार्यालय र अहिले अन्य जिल्ला संवाददाताहरुले समेत त्यही प्रविधि प्रयोग गरिरहेका छन् । अहिले पनि मलाई गर्व लाग्छ एभिन्यूज टेलिभिजनमात्र होइन, सबै नेपाली टेलिभिजनहरुले यही प्रविधि अपनाइरहेका छन् ।

समाचार लेखेकै कारण कसैको धम्की वा कुटाइ खानुभएको छ ?

कुटाइ त खाइएन । तर प्रगन्ना कुलो सिचाइ आयोजनाको गुणस्तरहीन कामको समाचार लेखेकै कारण धम्की चैं मज्जाकै खाइयो । त्यतिबेला म गोरक्ष राष्ट्रिय दैनिक र नेपाल वान टेलिभिजनमा काम गर्थें ।

भुलबस गलत समाचार लेखेर अप्ठ्यारोमा पर्नुभएको छ ?

भुलबस त होइन तर भुलभुलैयामा परियो । दाङका नाकाबासी आफ्नो घरबास छोडेर लमहीनजिकै कर्री सामुदायिक वनमा बस्न आएका थिए । त्यो विषयलाई सुक्ष्म अध्ययन गरिएन, बाहिर जस्तो देखियो त्यस्तै समाचार बनाइयो (एभिन्यूज टेलिभिजनमा) । तर सिमा क्षेत्रको फिल्ड रिर्पोटिङमा गएपछि वास्तविक कुरा थाहा पाइयो । त्यसपछि पहिले आफूले बजाएको समाचारको ठ्याक्कै उल्टो हुने गरी अर्को समाचार (स्थलगत रिपोर्ट) बजाएँ ।

सार्वजनिक स्थलमा पत्रकारहरुको टिप्पणी भइरहँदा तपाईं के गर्नुहुन्छ ?

कसैले पनि कसैको टिप्पणी बिनाकारण गर्दैन । त्यसैले पहिले त कुरा राम्रोसँग बुझ्ने प्रयास गर्छु । आवश्यक परे मात्र बोल्छु ।

पत्रकार र मिडिया सञ्चालक दुबै अनुभव संगाल्नुभएको छ । कुन जिम्मेवारी लिदा आनन्द महसुस गर्नुहुन्छ ?

एउटा पत्रकार र सञ्चालक दुबै फरक फरक पाटो हो । दुबैमा छुट्टै किसिमको आनन्द छ । तर पत्रकार भएर काम गर्दा अलि बढी मजा लाग्छ ।

पत्रकारिताका लागि न्यू मिडिया (सामाजिक सञ्जाल) को कत्तिको प्रयोग गर्नुहुन्छ ?

गर्छु । अहिलेको समय नै सामाजिक सञ्जालमय भएको छ । धेरै फेसबुक, टुइटरजस्ता सामाजिक सञ्जाल मनोरञ्जनको लागि मात्र चलाएको पाएको छु । तर म मनोरञ्जनका साथै सूचनाको श्रोतको रुपमा समेत लिन्छु । पहिले हामी पत्रकारले मात्र न्यूज दिने हो, हामीले नै हो न्यूज ब्रेक गर्ने भन्ने मानसिकतामा पनि परिवर्तन आएको छ । अब नागरिक पनि पत्रकार बनिसकेका छन् । धेरैले आफ्नो अगाडि भएका घटना तत्काल फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा अपलोड गर्छन् । त्यसले हामीलाई घटनाबारे जानकारी लिन धेरै मद्दत गर्ने गरेको छ ।

पत्रकार नभएको भए के भइन्थ्यो होला ?

रुचि र चाहनाअनुसार सायद प्रोफेसनल फोटोग्राफर नै हुन्थें होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *