मादलमा खरी लाउँदै गरेका घोराही–११ सिर्जनशील टोलका विरराम बादीलाई तिहारको मुखमा मादल बनाउन भ्याई नभ्याई छ । मादल बनाउनमा व्यस्त भए पनि बनेका मादल बिक्री नभएपछि उनीलाई समस्या भएको छ ।
अघिल्लो बर्षको तिहारमा करिव १ लाखको मादल विक्री गरेका विररामले यस वर्ष भने २५ हजारको पनि बिक्री गर्न सकेका छैनन् । तिहारका लागि भनेर बनाइएका मादलहरु बिक्री नहुने हुन् कि भन्ने चिन्ताले आफूलाई सताएको उनले बताए । काठमाण्डौ, पोखरा, नेपालगञ्ज लगायतका ठाउँहरुबाट मादल आउने भएपछि आफूहरुले बनाएका मादल दाङमा विक्री हुन छाडेको उनी बताउँछन् । ‘दशौं दिनको मेहनत लगाएर एउटा मादल बनाउँछु तर बिक्री नहुँदा भने मन खिन्न हुन्छ’, उनले भने, ‘यस्तै हो भने परिवार कसरी पाल्ने ?’
एउटा मादल बेच्दा चार/पाँच सय आउने तर बनाउँदा भने त्यसको दोब्बर मेहनत लाग्ने बिररामको भनाई छ । ‘मादल बनाएर नाफा त के लगानी नै नउठ्ने जस्तो भइसक्यो ।’ उनले दुखेसो पोखे । मादल बिक्री हुन छाडेपछि परिवारमा नुन, तेलको जोहो गर्नै समस्या रहेको उनले बताए । १५ बर्षको उमेरदेखि मादल बनाउन सिकेका विररामले आफू सानोमा स्कूल पढ्न जाँदा मास्टरले ‘बादी’ भनेर स्कूलबाट निकालिदिएको र त्यसपछि स्कुल जान छोडेर मादल बनाउन सिकेको बताउँछन् ।
पहिले मादलबाट राम्रै आम्दानी भए पनि पछिल्लो समयमा मादल बिक्नु टाढाको कुरा भयो, पेशा नै लोप हुन थालेपछि विररामलाई परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ । उनी भन्छन्, ‘पहिले मादल बनाएबापत गाउँमा मौसमी बाली धान, मकै, गहुँ दिन्थे तर अहिले त्यस्तो चलन हराएर गइसक्यो ।
स्कुल ‘ठूलो जात’का छोराछोरी मात्र पढ्ने थलो हो भन्ने बुझाइ भएका कारण सानोमा हामीले पढ्न पाएनौं, त्यसैले आजसम्म दुःख पाएका छांै’, बिररामले भने, ‘पहिले हामीलाई उपल्लो जातकाले छोए पानी, छिटो हान्ने, गोबर कुल्चने गर्थे त्यस्तो बेला हामी जस्ताले कहाँ पढ्न पाउनु ?’
पढ्ने अवसर नपाएपछि सानैदेखि मादल, सुल्पा बनाउने, जाल बुन्ने, माछा मार्ने र नाचगान गर्दै हिड्नेबाहेक अर्काे कुनै पेशा नभएको उनको भनाई छ । अहिलेसम्म मादल बनाएरै जीवन गुजारा चलाएको बिरराम बताउँछन् । मादल बनाउनका लागि चाहिने खमारी, बाख्राको छालाजस्ता सामान नपाइनुले पनि बिस्तारै यो पेशा सङ्कटमा पदै जान थालेको उनको अनुभव छ । सम्पत्तिको नाममा ओत लाग्ने सानो झुप्रोबाहेक केही नभएका आफू जस्ताका लागि राज्यले रोजगारको व्यवस्था गरिदिनुपर्ने विररामको माग छ ।