दाङलाई प्रादेशिक राजधानी बनाउन छलफल

  
  प्रकाशित मितिः बुधबार, कार्तिक ५, २०७१       | 144 Views   ||

जनउभार समाचारदाता

घोराही । पछिल्लोपटक सबै राजनीतिक दल र अघिल्लो संविधानसभा राज्यशक्ति बाँडफाँड समितिसमेत दाङलाई प्रादेशिक राजधानी बनाउन सहमत भएको सन्दर्भमा जिल्लाबासीले पनि दाङ प्रादेशिक राजधानीका लागि उपयुक्त रहेको बताएका छन् । मंगलबार घोराहीमा आयोजना गरिएको दाङ प्रादेशिक राजधानी र यसका आधारहरु’ विषयक गोष्ठीमा बोल्ने वक्ताहरुले सुरक्षाको दृष्टिकोण, प्रशासनिक सुगमता, भौतिक संरचना विकासको सम्भावना पर्याप्त भूगोल र राम्रो वातावरण भएकाले दाङलाई प्रादेशिक राजधानी बनाउन सही र उपयुक्त हुने कुरा बताएका थिए ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिले आयोजना गरेको गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुुख अतिथि प्रेस काउन्सिल नेपालका पूूर्वअध्यक्ष नारायणप्रसाद शर्माले अहिले संविधान निर्माणमा नै संकट उत्पन्न भएकाले यसमा सबै नागरिकले जिम्मेवार निकाय र व्यक्तिलाई दबाब दिनुुपर्ने कुरामा जोड दिनुभयो । दलहरुका बीचमा प्रदेशको संख्यामा विवाद भइरहेको भन्दै शर्माले प्रदेश विभाजनपछि पनि राजधानीलगायतका विषयहरु निर्धारण गर्न विज्ञ र प्राविधिकहरुको आवश्यकता पर्ने हुँदा हल्ला गर्दैमा राजधानी बन्न नसक्ने बताउनुभयो । तर उहाँले दाङलाई प्रादेशिक राजधानी गराउने विषयमा बहस र छलफल हुुनुु राम्रो कुुरा भएको बताउनुुभयो ।

कार्यक्रममा पहिलो संविधानसभा राज्य पुुनर्संरचना र राज्यशक्ति बाँडफाँड समिति जिआइएम विज्ञ माधव अधिकारीले ‘दाङ प्रादेशिक राजधानी र यसका आधारहरु’ विषयक अवधारणा–पत्र प्रस्तुुत गर्दै दाङलाई प्रादेशिक राजधानी बनाउन पहिलो संविधानसभाबाट पनि पहल भएको र अहिले पनि केही राजनीतिक दलहरुले प्रयासरत रहेको बताउनुभयो । उहाँले विभिन्न भौतिक पूर्वाधार, यातायातको सुविधा, प्रशासन सुगमता, प्रदेशको राजधानीमा जनताको पहुँच, प्रदेशका लागि राजनीतिक र प्रशासनिक निकायहरुको व्यवस्थापन गर्न सक्ने क्षमता र सुरक्षाका हिसाबले पनि दाङ प्रादेशिक राजधानीको लागि उपयुुक्त भएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पछिल्लो समयमा जिल्लामा मनोमानी रुपमा सिमेन्ट उद्योगहरु खुल्ने क्रम बढेकाले वातावरण प्रदूषण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाहरुले जिल्लालाई प्रादेशिक राजधानी बनाउने हो भने वातावरण जोगाउनुपर्ने कुरामा जोड दिएका थिए । दङालीले मात्रै दाङलाई प्रादेशिक राजधानी उपयुक्त छ भन्नुभन्दा पनि सबैले उपयुक्त छ भन्ने वातावरण सृजना गर्नुपर्ने उनीहरुको सुझाव थियो ।

सरोकार समितिका संयोजक मधुसूदन वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभासद एवं नेकपा माओवादीका केन्द्रीय सदस्य इन्द्रजीत चौधरी, नेकपा एमालेका केन्द्रीय सदस्य खेममान खड्का, एनेकपा माओवादी दाङका सदस्य लुमाकान्त न्यौपाने ‘सागर’, नेपाल कम्युुनिष्ट पार्टीकी तुलसा केसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्मा, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, देउखुरी उवासंघका अध्यक्ष शोभाकर घिमिरे, नारायणपुुर उवासंघका अध्यक्ष गोपाल लम्साल, गढवा उवासंघका अध्यक्ष युवराज पोख्रेल, तुुलसीपुर उवासंघका सदस्य झलक केसी, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा र राप्ती साहित्य परिषदका अध्यक्ष पुुरुषोत्तम खनालले दाङको समग्र विकास गर्ने मुुद्दामा सबै एकताबद्ध भएर जानुुपर्ने धारणा राख्नुुभएको थियो ।

सो अवसरमा डिलाराम भट्टराई, माधवप्रसाद शर्मा, नारायणप्रसाद अधिकारी, देवी पोख्रेल, जीवन केसी, भरत देवकोटा, चक्र विश्वकर्मालगायतले आ–आफ्ना सुझाव दिनुभएको थियो । समितिका सल्लाहकार सुदीप गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सविन प्रियासनले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *