साक्षरता अभियानमा अबको पालो विद्यार्थीको

  
  प्रकाशित मितिः सोमवार, मंसिर १, २०७१       | 179 Views   ||

Jb_shahजीतबहादुर शाह

अभियान भनेको छोटो समयमै कुनै पनि सामाजिक लक्ष्य प्राप्तिका लागि सम्बन्धित सबैबाट एकैचोटी झट्का दिने गरी गरिने कार्य हो । यसमा यो वा त्यो सहभागी हुने भन्दा पनि सारा मानिसहरु सहभागी हुन सक्नुपर्दछ । तथापि हाम्रो देशमा सञ्चालन भएको साक्षरता अभियान भने ५ वर्ष नाघिसक्दा पनि अभियानको मर्ममुताविक सञ्चालन हुन सकिरहेको छैन । यो सबैको चासोको विषय पनि हुन सकिरहेको छैन । यसै कुरालाई दृष्टिगत गरी नेपाल सरकार, शिक्षा मन्त्रालयको मिति २०७० साल पौष १९ गतेको निर्णयानुसार साक्षरता अभियानमा विद्यार्थी परिचालन तथा मूल्याङ्कन निर्देशिका, २०७० स्वीकृत गरी जारी गरिएको छ । शिक्षा नियमावली, २०५९ को नियम १९२ को (क) ले दिएको अधिकार प्रयोग गरी शिक्षा मन्त्रालयले यो निर्देशिका जारी गरेको हो । के छ त यो निर्देशिकामा र कसरी परिचालन हुदैछन् विद्यार्थीहरु ? भन्ने सम्बन्धमा यस लेख मार्फत सङ्क्षेपमा चर्चा गरिनेछ ।

नेपालबाट निरक्षरता उन्मूलन गर्न सहयोग पु¥याउनु, प्रत्येक विद्यालयलाई आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक तथा परिवारका सदस्यहरूलाई साक्षर बनाउन जवाफदेही बनाउन, कक्षा ९ र १० मा लिइने प्रयोगात्मक विषयको मूल्याङ्कन कार्यको रूपमा निरक्षरहरूलाई साक्षर गराएबापत निश्चित अङ्क प्रदान गर्ने व्यवस्था मिलाउने र साक्षरता अभियानका लागि माध्यमिक विद्यालयलाई संस्थागत संयन्त्रका रूपमा विकास गर्ने उद्देश्य राखेको यस निर्देशिकाकाले साक्षरताका लागि विद्यार्थीलाई प्रयोगात्मक कार्यमा संलग्न गराउन हाललाई कक्षा ९ र १० को अनिवार्य स्वास्थ्य, जनसङ्ख्या र वातावरण शिक्षा तथा ऐच्छिक शिक्षा विषयमा यो प्रावधान राखेको छ । प्रयोगात्मक कार्य कक्षा ९ र कक्षा १० दुवैमा लागू गरिने भएकोे छ ।

साक्षरता सम्बन्धी प्रयोगात्मक कार्य गर्नुपर्ने ऐच्छिक विषय पढ्ने विद्यार्थीले आफूले पढेको अनिवार्य विषय वा ऐच्छिक विषयमध्ये कुनै एक विषयमा मात्र साक्षरता सम्बन्धी प्रयोगात्मक कार्य गर्न पाउने छन् । कक्षा ९ र १० को पाठ्यव्रmममा प्रयोगात्मक कार्यका लागि छुट्याइएको २५ अङ्कमध्ये १५ अङ्क विषय सम्बद्ध प्रयोगात्मक कार्यलाई छुट्याई साक्षरता सम्बन्धी प्रयोगात्मक कार्यका लागि १० अङ्क राखिएको छ । साक्षरतासम्बन्धी प्रयोगात्मक कार्यका सम्पूर्ण अभिलेख सम्बन्धित विषय शिक्षकले प्रमाणित गरी सुरक्षित राख्नुपर्नेछ । एसएलसी परीक्षाका लागि प्रयोगात्मक अङ्क पठाउँदा प्रयोगात्मक कार्यसम्बन्धी अभिलेखको सारांश तयार गरेर प्रधानाध्यापकले प्रमाणित गरी जिल्ला शिक्षा कार्यालयमा पठाउनुपर्ने छ ।

प्रयोगात्मक कार्यका लागि विद्यार्थीले विभिन्न विकल्पहरुमध्ये कुनै एक विकल्प रोज्न सक्ने छन् । त्यस्ता विभिन्न विकल्पहरुमध्ये पहिलो विकल्पको रुपमा आफ्नो घरपरिवार र छरछिमेकमा आफैँले रोजेको निरक्षर व्यक्तिलाई साक्षर बनाउनु रहेको छ । सम्बन्धित विद्यार्थीले यस काम गर्नका लागि आफूले रोजेको व्यक्ति आफ्नै परिवारको सदस्य, नातेदार वा अन्य जोसुकै भए पनि निरक्षर रहेको भएमा आफ्ना विषय शिक्षकलाई सोको पुष्टि गराउनु पर्नेछ । शिक्षकको निर्देशनअनुसार साक्षर हुनका लागि आवश्यक पर्ने सक्षमतामा निरक्षर व्यक्तिलाई साक्षर बनाई यसको अभिलेख राख्नु पर्नेछ । अनौपचारिक शिक्षा केन्द्रबाट साक्षरताका लागि विकास गरिएका लगायत अन्य आवश्यक साक्षरता सामग्री अनुगमन समितिको सहयोग लिई विद्यार्थी आफैँले जुटाउनु पर्नेछ । निरक्षर व्यक्ति साक्षर बनेपछि विषय शिक्षकबाट प्रमाणित गराउनु पर्ने प्रावधान रहेको छ । विषय शिक्षकले साक्षर भएको व्यक्तिका बारेमा स्थलगत अवलोकन गरी तोकिएको ढाँचामा फाराम भरी प्रमाणित गरिदिनुपर्दछ ।

प्रयोगात्मक कार्यका लागि विद्यार्थीले गर्नुपर्ने दोश्रो विकल्पको रुपमा आफ्नो छरछिमेकमा विद्यालयले तोकेको क्षेत्रभित्र रहेका निरक्षरहरूको नामावली सङ्कलन गर्नुपर्दछ । सङ्कलित नामावलीका निरक्षरहरू भेला गरी साक्षर बन्नका लागि अभिप्रेरणात्मक कार्यशाला सञ्चालन गर्नुपर्दछ । यस्तो कार्यशाला विद्यार्थी एक्लैले वा समूहमा पनि गर्न सकिनेछ । समूहमा कार्यशाला गर्दा शिक्षकले कार्य विभाजन गरिदिनुपर्दछ । कार्यशालामा उपस्थित निरक्षरहरूको अभिलेख तोकिएको ढाँचामा राख्नुपर्नेछ । कार्यशालामा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, विषय शिक्षक वा अन्य विशिष्ट व्यक्तिलाई समेत आमन्त्रण गर्नुपर्नेछ । कार्यशालापछि निरक्षरहरू साक्षरता कक्षामा गएनगएको वा अन्य कुनै प्रकारले साक्षर भएनभएको अनुगमन गरी सोको प्रतिवेदन बनाई आफूले तयार गरेको प्रतिवेदन कक्षामा प्रस्तुत गर्नुपर्नेछ र अन्तमा नामावली फाराम तथा अनुगमन प्रतिवेदन विषय शिक्षकबाट प्रमाणित गराउनु पर्नेछ ।

प्रयोगात्मक कार्यका लागि विद्यार्थीले गर्नु पर्ने तेश्रोे विकल्पको रुपमा आफ्नो छरछिमेकमा चलेका साक्षरता कक्षाको अवलोकन गरी तोकिएको ढाँचामा प्रतिवेदन तयार गर्ने रहेको छ । कक्षा अवलोकन गरी तोकेअनुसारको फाराम दुई पटक भरेर प्रतिबेदेन तयार गर्नुपर्र्दछ र विषय शिक्षकले समेत आवश्यकता देखेमा कक्षा अवलोकन समेत गरी उक्त प्रतिबेदन प्रमाणित गर्नुपर्नेछ । त्यस्तैगरी सम्बन्धित विद्यार्थीले अन्तीम विकल्पको रुपमा आफ्नो छरछिमेकमा चलेका साक्षरता कक्षामा गई कम्तिमा ५ ओटा कक्षा सहजीकरण गर्नुपर्दछ । आफ्नो कक्षा शिक्षकले कक्षा अवलोकन गरी दिएको निर्देशनअनुसार कक्षा सुधार गर्नुपर्दछ । शिक्षकले न्यूनतम दुई पटक कक्षा अवलोकन गरी साक्षरता कक्षाको अवस्थाअनुसार विकासका लागि विद्यार्थीले गर्न सक्ने व्रिmयाकलापका बारेमा निर्देशन दिई सोहीअनुसार गर्न लगाउनुपर्दछ । यसका साथै आफूले कक्षा लिएको अवधिमा साक्षरता कक्षाका सहभागीले विकास गरेका साक्षरता सम्बन्धी सक्षमताहरु पनि टिपोट गर्नुपर्दछ ।

सम्बन्धित विद्यार्थीले माथिका जुनसुकै विकल्पको छनौट गरेर काम गरेपनि साक्षरता कक्षामा सहभागीले विकास गरेका सक्षमता, उनीहरूका सबल र दुर्बल पक्ष तथा आफ्नो अनुभव र साक्षरता कक्षालाई प्रभावकारी बनाउन गर्नुपर्ने कार्य समेत समेटी कक्षा शिक्षकको निर्देशनमा प्रतिवेदन तयार पारी प्रमाणित गराउनुपर्ने छ । शिक्षकले सम्बन्धित विद्यार्थीलाई कक्षामा प्रतिवेदनको प्रस्तुतीकरण गर्न लगाउनु पर्नेछ । तोकिएको ढाँचा र आधार प्रयोग गरी साक्षरता सम्बन्धी अङ्क प्रदान गर्ने जिम्मेवारी विषय शिक्षक र प्रधानाध्यापकको हुनेछ । विद्यार्थीले साक्षरता सम्बन्धी प्रयोगात्मक कार्य पुरा नगरी अङ्क प्रदान गरेको पाइएमा जिल्ला शिक्षा अधिकारीले त्यस्तो अङ्क बदर गर्न सक्नेछ ।

विद्यालयमा विद्यार्थी परिचालन गरी सम्पन्न गरिने साक्षरता सम्बन्धी प्रयोगात्मक कार्यको अनुगमनका लागि प्रत्येक विद्यालयमा ७ सदस्यीय साक्षरता सम्बन्धी प्रयोगात्मक कार्य अनुगमन समिति गठन हुनेछ । यो समिति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा गठन हुने छ र यस समितिमा सदस्यको रुपमा विद्यालयको प्रधानाध्यापक, सम्बन्धित विद्यालयको स्रोत व्यक्ति, अभिभावकको एक जना प्रतिनिधि, गाविस वा नपाको एकजना प्रतिनिधि र सामुदायिक अध्ययन केन्द्रको एकजना प्रतिनिधि (भएमा) रहनेछन् भने सदस्य सचिवको भूमिका सम्बन्धित विषय शिक्षकले निर्वाह गर्नुपर्नेछ । यस समितिले साक्षरता सम्बन्धी प्रयोगात्मक कार्यका लागि विद्यार्थीलाई सहजीकरण गर्ने, विद्यार्थीले आयोजना गर्ने साक्षरता सचेतना कार्यशालामा निरक्षरहरू उपस्थित गराउन र कार्यशाला सञ्चालन गर्न सहजीकरण गर्ने, विद्यार्थीले साक्षरता सम्बन्धी प्रयोगात्मक कार्य राम्रोसँग गरेनगरेको अनुगमन गर्ने र नगरेको भए कार्य सम्पन्न गर्न प्रोत्साहन गर्ने जस्ता कार्यहरु गर्नेछ ।

आशा गरौं, साक्षरता अभियानलाई सबैको साझा सवालको रुपमा प्रभावकारी रुपले अगाडि बढाउनका लागि विद्यार्थीहरुलाई परिचालन गर्ने ध्येयले जारी गरिएको निर्देशिकाले तोकेबमोजिमका उल्लिखित कार्यहरु सबैको सहयोगमा प्रभावकारी रुपमा कार्यान्वयन हुनेछन् । यसै अभियानको माध्यमबाट विद्यालय र विद्यार्थीहरु पूर्ण साक्षर नेपालको निर्माणका लागि निर्णायक सावित हुनेछन् । यसको सकारात्मक असर शिक्षालाई व्यावहारिक र प्रयोगात्मक बनाउने सवालमा समेत अभूतपूर्व किसिमले पर्नेछ । यसका साथै शिक्षक, विद्यार्थी र अभिभावक बीचको अन्योन्याश्रित सम्बन्धका माध्यमबाट समग्र शैक्षिक सुधार गर्ने सवालमा समेत यो अभियान कोसेढुङ्गा सावित हुनेछ ।

(लेखक बर्दियाका जिल्ला शिक्षा अधिकारी हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *