केटाकेटी छँदाको चोर बुद्धि

  
  प्रकाशित मितिः आइतवार, मंसिर १४, २०७१       | 179 Views   ||

Santosh_dahit1– सन्तोष दहित

गाउँबाट सदरमुकाम छिरेको ठ्याक्कै एक दशक भयो । पहिला–पहिला शहरमा बस्न मनै लाग्दैनथ्यो । तर दश वर्ष कसरी–कसरी बितिसकेछ–घोराही बस्न थालेको पनि । सम्झदा अचम्म लाग्छ ।

कसरी बस्ने होला शहरमा ? कसरी बस्ने होला अरुको घरमा ? कसरी बिताउने होला अर्काको ठाउँमा ? को सँग खेल्ने होला अर्काको शहरमा । कसलाई बनाउने होला साथी ? अनगिन्ती प्रश्नहरु उब्जिन्थे त्यो बेला । जब कक्षा ९ पास गरी १० कक्षामा पढिरहेको बेला सबैले भन्थे, ‘अब रामरी पढ्नू, एस.एल.सी. पास गरेपछि शहरमा बस्न पाइन्छ । ठूलो मान्छे भइन्छ ।’

तर आफुलाई शहर जाने भनेपछि डर पो लागिरहेको थियो । शहर जानु नपरोस् भनेर मैले पास हुनुभन्दा फेल हुनै राम्रो सोचिरहेको थिएँ । अरुको ठाउँमा कसरी, बस्ने, के खाने, कसले पकाइदिन्छ खाना ? यस्तै–यस्तै सामान्य कुराले मेरो दिमाग खाइरहेका थिए । मलाई अझ चिन्ता त के थियो भने गाउँमा माछा कसले चोरी देला ? चना, बदाम, काँक्रा, आँप, अमला कसले चोर्ला भन्ने चिन्ता पनि उत्तिकै हुन्थ्यो । त्यसैले पनि पास भएर शहर जानुभन्दा फेल भएर गाउँमा काँक्रा चोर्दा राम्रो भनि मैले सोच्ने गर्थें ।

यस्तैमा एस.एल.सी. परीक्षा पनि आयो । एस.एल.सी. दिनका लागि गाउँबाट तुलसीपुर बजारमा बस्न बाध्य भइयो । करिब दुइ हप्ताको बसाइमा परीक्षा पनि सकियो । त्यसपछि ज्यान यत्ति खुशी भयो कि फेरि गाउँ फर्किन पाएकोमा । शहरबाट गाउँमा खुट्टा टेक्न पाउँदा छुट्टै खालको आनन्द लाग्ने । घरमा बुवा आमा सबैले कस्तो भयो परीक्षा भनेर सोध्नुभयो । ठीकै भो, पास भइन्छ चिन्ता लिनुपर्दैन भन्दिएँ । तर मनमनै भन्थे, फेल भैदिए हुन्थ्यो । पास भएपछि यी बूढाबूढीले मलाई घरबाट निकाल्छन् शहरमा पठाउँछन् भन्ने आफूलाई चिन्ता थियो ।

एस.एल.सी. परीक्षा दिएको करिब तीन महिनापछि असार महिनाको अन्तिम साता रिजल्ट आयो । सबै रिजल्ट हेर्न बजार गए, आफू भने खोलातिर लागियो माछा मार्न । मलाई लागेको थियो– कुनै पनि हालतमा पास भइने छैन । मैले जानी जानी परीक्षा बिगार्ने कोशिस गरेको थिएँ । फेल भइन्छ भन्नेमा ढुक्क थिएँ ।

माछा मारी साँझ घर आउँदा बुवा आमाले सोध्नुभयो, ‘तेरा साथीहरु पास भए तँ के भइस् नि ?’ मैले फ्याट्टै भनिदिएँ– ‘पास हुन्छु बाबा । तर रिजल्ट हेरेको छैन । मनमनै कामना गर्थें, फेल भइयोस् । कमसेकम घरमा बस्न त पाइन्छ । तर बूढाको मन कहाँ मान्थ्यो र  ? बूढाले मलाई साइकलमा बोकेर भोलिपल्ट रिजल्ट हेर्न तुलसीपुर ल्याइहाले । रिजल्ट हेर्दा त पास पो भइएछ बूढा खुशी भए आफु भने ट्वाँ ।

कसरी पास भएँ त्यो पनि मलाई थाहा भएन । पास भएपछि बूढाले केही दिनमै घरबाट निकालिहाले– उच्च शिक्षाका लागि दाङ सदरमुकाम घोराहीमा बस्नुपर्ने भयो ।
बूढाले घोराही बजारको एउटा अँध्यारो कोठामा छोडी आफू घर लागे । बूढाभन्दा म तन्नेरी– उनीभन्दा अघि म घर पुगिसकेको थिएँ । पछि बूढाले फेरि त्यही अँध्यारो कोठामा ल्याएर आए । केही दिन आफू पनि बसे र मलाई महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना गरिदिए । बूढा गाउँ फर्केपछि फेरि त्यो कोठा जेलजस्तै लाग्न थाल्यो । घोराही बजारमा डेरामा बसेको पहिलो रात रुँदै बित्यो । रातभरि रोएँ ।

अझै पनि त्यो समय मलाई याद छ । २०६१ सालका दिनहरु थिए । घोराहीमा एक्लै बस्न मलाई निकै कठीन भएको थियो । त्यतिबेलाको मेरो केटाकेटीपन सम्झेर अहिले हाँसो उठ्छ । सुस्त–सुस्त मनलाई थाम्ने कोसिस गरें । आफुलाई आफै सम्हाल्ने प्रयास गरें । मलाई बूढाबूढीले किन पढ्नको लागि यसरी करकाप गरिरहेका छन् भनेर सम्झिने प्रयास गरें र आफ्नो लागि नभए पनि बूढाबूढीको लागि पढ्नुपर्छ भन्ने लाग्यो । गाउँमा काँक्रा, आँप, अम्बा चोरेर कति दिन खान पाइएला र भन्ने पनि सोचें । सधैंभरि आँप पनि त फल्दैन । बदाम, अम्बा पनि त हुँदैन, भएको बेलामा गाउँ जान्छु र चोरेर यतै ल्याई खान्छु । अब त पढ्नु प¥यो भन्ने सोचेर पढ्ने कोशिस गर्न थालें । मन कहाँ मान्थ्यो र । किताबका अक्षरजति मैले माछा, काँक्रा, अम्बा, बदाम, अमला जस्ता पो देख्थें ।

जब रात पर्न थाल्थ्यो, त्यसपछि उनै दिनहरुको याद आउन थाल्थ्यो । त्यतिबेला रात पर्न थालेपछि आज कसको बारीमा जाने भन्ने योजना बनाइसकिएको हुन्थ्यो । बजारमा कहाँ जानु ? निस्किने प्रयास पनि नगरेको कहाँ हो र ? शहरमा बसेको मान्छे रातको समयमा गाउँ पुग्नु पनि कम्ता थिएन । पाँच÷छ घण्टा हिडेर कसरी गाउँ पुग्ने ? फेरि घरबेटीले गेट पनि त बन्द गरिसकेका हुन्छन् ।

नजिकै गाउँ जाने हो भने कसको घरको बारीमा के छ ? बारको कुन कुनामा प्वाल छ ? त्यो पनि त थाहा हुँदैन नि । त्यसैले पाँच÷छ घण्टा लाग्ने ठाउँमा दौडेर भए पनि चार घण्टामा पुगिन्छ भन्ने सोचेर हिड्न कसिन्थें । फेरि अर्को अवरोध– गेट बन्द । घरको छतबाट हाम फाल्ने हो भने ठाउँको ठाउँ खुट्टा भाँचियो भने के गर्ने ?

यस्तै सोच्दैमा समय बित्दै गयो । समयसँगै साथीहरु भेटिए । घोराही बजार पनि बिस्तारै बिरानोबाट आफ्नैजस्तो लाग्न थाल्यो । सबैसँग घुलमिल भएपछि बच्चो बानी पनि फेरिन थाल्यो । गाउँमा गरिने उटपट्याङ बिर्सिदै गइयो । अहिले त शहर आफ्नै जस्तो लाग्छ– आफ्नै गाउँजस्तो । आफ्नै घर नभए पनि आफ्नो घरजस्तो लाग्छ । अर्काको घरमा बसे पनि रोजी–रोजी मन परेको घरको कोठामा बस्न पाइन्छ । बूढाबूढीको लागि पढ्छु भनेको त आफ्नै लागि पो पढिएछ । पढ्न छोडेर काँक्रा चोर्नमै समय फालेको भए सायद अहिले म कहाँ हुन्थें आफैलाई अनुमान गर्न सक्दिनँ । काँक्रा चोर्ने बानी छोडेर पढाइतिर लगाउन बामाआले ठूलो मेहनत गर्नुभएछ । अहिले सम्झन्छु– मेरा बाआमाजस्तो को नै होला र मेरा लागि यो दुनियाँमा ? आफूहरु मजदूरी गरेर गाउँको झुपडीमा बसेर मलाई शहरमा भाडा तिरेर पढाउनुभयो । कहिलेकाँही सोच्छु, म बाआमाको लागि केही गर्न सकिरहेको छैन भन्ने सम्झेर आफै दुःखी हुन्छु ।

जे होस्, आजसम्म शहरमा पढाइको लागि दश वर्ष बिताइएछ । दश वर्षको बीचमा बाआमाको लागि भन्दै पढिएछ । अब बाँकी जीवन भने आफ्नै लागि पढ्ने जमर्को गर्दैछु । …कसरी पढ्ने त्यो चिन्ता भने अझैं बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *