परदेशी | दीपा धिताल

  
  प्रकाशित मितिः आइतवार, मंसिर १४, २०७१       | 167 Views   ||

Dipa Dhitalचन्द्रमाको उज्यालो रातमा
बेरोजगारीका कुण्डबीच घाइते
सपनाहरु साँचेर बसेको साइलो
प्रियसीको एक अञ्जुली माया
आमा बाबाको एकसरो सपना पोको पारेर
भयङ्कर सपनाका खातहरु बिछ्याएर
आफु जन्मेको माटो छोडेर
दुःख र पीडासँगै नुनिला आँसुका घुट्काहरु निल्दै
गयो आज परदेश

पैसाको पहाड चुल्याउने आशामा
पस्यो मरभूमिको रातो माटोमा
आँखा हेर्नै नसकिने, बालुवा उडाउने बतास
र उदासी बगरमा बसालेको सुकुम्बासीजस्तै भएर
जिन्दगीका एक थान सपना बगरभरि बिछ्याएर
आफु पल्टियो
हे¥यो यताउता देख्यो बिल्कुल मरभूमिजस्तै
नजिकै लालसागर, मृतसागर या प्रशान्त महासागर
उसलाई छुट्याउनै गाह्रो भयो
धूलो धुवाँसँग लड्दै
मृत्युसँग पौठेजोरी खेल्दै
कति रहरलाग्दो जिन्दगीलाई मसानघाटजस्तो बनाएर
पसिना बेचिरहेका नेपाली दाजुभाइहरु
अचम्म मान्यो
उराठ र उदासलाग्दा आशाका जिजिविषाहरु
शिला कुल्चेर बाँच्ने प्रयत्न गरिरहेका
चाउरिएको नेपालीको भाग्य
किचिएका थिचिएका नेपाली ऊ जस्तै
सम्झियो– आमाले पकाएको ढिडो र सिस्नो
सम्झियो– कोदाली समाई खेतको डिलमा बसेर
खाएको मकै र भटमास
हुँदा खाँदाको जिन्दगीमा एकथान चट्याङ परेसरी
ठाउँको ठाउँ खुसीहरु मेटिए उसका
आफुप्रति कसैले औंला ठड्याएर
कुरीकुरी गरेको लज्जाबोध भइरह्यो उसलाई
अन्तमा एकएक चोइटा खुसीहरु निखारेर
बाख्राका बर्कौंलाजस्तै छरपस्ट पोखिएका
सपनाहरु पोल्टो पारेर
फर्कियो परदेशी साइलो आफ्नै ठाँउमा ।

यो मञ्च देखेर यो अभिनय देखेर
म हैरान छु जिन्दगीको लय देखेर
यसकारण कि उसले मञ्च दिन मानेन
न्याय अन्याय छुट्याउने मेरो तय देखेर
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *