– अजयदीप शर्मा
घलेगाउँबाट फर्केपछि
समुन्द्री सतहदेखि २ हजार १ सय मिटर अग्लो टापुमा रहेको घलेगाउँ लमजुङ जिल्लाको उत्तरकन्या गाविसमा पर्छ । गुरुङ संस्कृति भरिएको सात सय बर्ष पुरानो इतिहास बोकेको घलेगाउँ प्रकृतिको अनुपम सुन्दरताले सिङ्गारिएको छ । अग्ला–अग्ला रमणीय पहाडहरु छिचोल्दै पुगिने घलेगाउँ सदरमुकाम बेशीसहरबाट २४ किमि उत्तरमा पर्ने भए पनि साँघुरो र खराब बाटोका कारण गाडीमा घण्टौं लामो यात्रा गनुृपर्ने हुन्छ ।
परम्परागत घाटु, कृष्णचरित्र र सोरठी नाचले घलेगाउँको गुरुङ संस्कृतिलाई झल्काउँछ भने एकैपटक दृश्यावलोकन गर्न सकिने हिमश्रृंखलाहरु माछापुच्छ, धौलागिरी, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल र लमजुङ हिमालले सधैं घलेगाउँलाई पहरा दिइराखेका जस्तो लाग्छन् । जुन हिमश्रृंखलाका पहराहरुलाई आँखा नथाकुञ्जेल नियालेर पर्यटकहरुले मन आनन्दित बनाउने गर्छन् ।
सार्क राष्ट्रको नमुना ग्रामीण पर्यटन गाउँको रुपमा विकसित घलेगाउँमा १ सय २० घर रहेका र ती मध्ये धेरैजसो घरमा होमस्टे रहेको छ । जहाँ हरेक दिन पुग्ने पर्यटकहरु पाहुनाको रुपमा ती होमस्टेमा बस्ने गर्छन् । पारीवारिक वातावरण, न्यानो सत्कार र संस्कृतिमा रमाउँदै होमस्टेको आनन्द बसाइमा प्रकृतिसँगको मज्जा दिलाउन सक्ने विशेषता घलेगाउँले बोकेको छ ।
बेशीसहरबाट शिखरको गाउँ घलेगाउँ उक्लिदै गर्दा तल बेशीसहर भने रमणीय देखिदै जान्छ । मिदिम र मस्र्याङ्दी नदीको नागबेली दृश्य नियाल्दै खर्सु र कटुसका बनघारीबाट उच्चिदै जाँदा आकाशको जून छुन जान थालेको जस्तो अनुभूति हुने गर्छ ।
बेशीसहरबाट बिम्दाबेशी, पुमागाउँ, बाग्लुङपानी हुँदै जब पहाडमाथिको टापु बस्तीमा पुगिन्छ तब आनन्दै, आनन्दको स्वर्णिम अनुभूति मान्छेका मनले गर्न थाल्छन् ।
घलेगाउँमा पुग्ने पाहुनाहरुलाई आफ्नो संस्कृतिअनुसारको पहिलो स्वागतपछि माहोललाई संस्कृतिमय बनाउन थालिन्छ । गुन्द्रुकको अचार, भट्ट र मकैको खाजा खाँदै हेरिने कृष्ण चरित्र, सोरठी नाच र घाटु नाचका दृश्यहरुले पर्यटकलाई आनन्द र भावुक गराउँछन् ।
हिमालका हिमश्रृंखलाजस्तै स्वच्छ र सफा मनका त्यहाँका मान्छेहरुको सत्कार र माया बिर्सन नसकिने हुन्छ । कोदो र फापर मिसाएर बनाएको सेल बोडी र आलु तरकारीको नास्ता अनि च्याङ्ग्राको मासु र भात त्यहाँ पुग्ने अतिथिहरुलाई खुवाउने खाना हो ।
अतिथिहरुको पहिलो स्वागत ‘पा’ याने कि घरमा बनाएको कोदोको रक्सी हुन्छ, जो एक थोपा भए पनि उनीहरुको खुसीका लागि खाइदिनुपर्ने हुन्छ । साँझको समय घलेगाउँ बासीहरुको मिठो आत्मीयतालाई अंगाल्दै सुतेपछि बिहान उठ्नासाथ प्रकृतिले निकै मनमोहक दृश्यहरु देखाएर पाहुनाहरुको स्वागत गर्ने गर्छ ।
घलेगाउँसँगै उठ्दा बिहान सूर्योदयको दृश्य, भेडीगोठहरुमा च्याङ्ग्राहरुको बथान, चिया बगान, तिलिज ताल, भिरमौरी आदि अन्य वृक्षका दृश्यहरुले आँखाभरि उमङ्ग भरिदिन्छन् । घलेगाउँको प्राकृतिक सुन्दरता र लोभलाग्दा संस्कृतिका भण्डारहरुलाई आँखाभरि सजाएर फर्किदा मान्छेहरुलाई एक किसिमको सन्तुष्टि र घलेगाउँ पुग्न पाएकोमा गर्वको महशुस हुने गर्छ ।
घलेगाउँ, दुर्गम ठाउँमा रहेको गुरुङहरुको आदि कालदेखिको गाउँ हो । तर यसले पर्यटन प्रर्वद्धन २०५७ सालदेखि गर्न थालेको त्यहाँका अध्यक्ष प्रेम घले बताउनुहुन्छ । गाउँका युवाहरु सबै विदेशिन थालेपछि उनीहरुलाई रोक्नका लागि ०५७ सालमा घलेगाउँ महोत्सव शुरु गरी पर्यटन व्यवसायको शुरुवात गरिएको घले बताउनुहुन्छ ।
अहिले घलेगाउँका बासिन्दालाई परिवार पाल्न र बच्चाहरु पढाउनका लागि पैसाको कुनै समस्या नभएको उहाँ बताउनुहुन्छ । कुनै ठाउँको विकास र प्रवद्र्धनका लागि सञ्चार याने कि प्रचारको भूमिका महत्वपूर्ण हुने भन्दै त्यो घलेगाउँलाई यो स्थानसम्म ल्याउने काम सञ्चारले नै गरिदिएको उहाँ बताउनुहुन्छ ।
अहिले घलेगाउँ आन्तरिक र बाह्य पर्यटकहरुले भरिएको हुन्छ । घलेगाउँबासीका लागि होमस्टे नै अहिले आम्दानीको मुख्य स्रोत बन्न थालेको छ । घलेगाउँको जति प्रचार भएर पर्यटकहरु जाने गरेका छन्, त्यहीअनुसार सरकारले त्यहाँको पक्कीे मोटरबाटो निर्माणमा ध्यान दिने र अन्य पूर्वाधारका लागि बजेट छुट्याउने हो भने घलेगाउँ साँच्चिकै सार्क राष्ट्रको सुन्दर र नमूनायोग्य पर्यटकीय गाउँ बन्नेछ ।
घले गाउको समाचार पढ्न पाउदा खुशी लाग्यो र साथ साथै घले गाउलाई आजको यो अवस्थामा ल्याईपुराउनको लागी दीनरात नभनी गाउबासिको लागि मेरो बाबा सुदर्शन प्रधान ले सुरुवाती दिनहरुमा गरेका काम हरुको याद फेरी ताजा भयर आयो । तर अहिले वाहाको नाम कही कतै नाआयको देख्दा भने कता कता दुख्ख लगेर आयो ।
नेपालीमा एउटा उखान छ नि “काम गर्ने कालु ,मकै खाने भालु ” हो त्यस्तै लाग्यो यहाँ प्रेम घले ज्यु को नाम जोडीयको देखेर । मेरो अर्थ को अनर्थ नलगाउनु होला लेखक ज्यु तर मलाई लाग्छ कि कुनै पनि कुरा बाहिर ल्याउनु भन्दा अगाडि त्यस बारे अध्यन अनुसन्धान भयमा कसैलाई पनि आन्यय नहोला कि ….