बाढी प्रभावित क्षेत्रमा महामारीको सम्भावना छैन

  
  प्रकाशित मितिः सोमवार, पुस २१, २०७१       | 122 Views   ||

Keshabraj_panditकेशवराज पण्डित– वरिष्ठ जनस्वास्थ्य अधिकृत, जिल्ला जनस्वास्थ्य कार्यालय, दाङ

जिल्ला जनस्वाथ्य कार्यालय दाङका प्रमुख केशवराज पण्डित बाढी प्रभावित क्षेत्रमा महामारी रोग फैलने सम्भावना भएको वताउनु हुन्छ । कार्यालयले बाढी प्रभावित क्षेत्रमा उच्च सर्तकता अपनाएको र अहिले विभिन्न स्थानमा स्वाथ्य शिविर समेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यको अवस्था, महामारीको सम्भावना र समग्र जिल्लाको स्वास्थ्यको अवस्थाको विषयमा केन्द्रित भएर पण्डितसँग गरिएको कुराकानी । –सम्पादक

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य अवस्था कस्तो छ ?

एक साता लामो अविरल बर्षापछि आएको बाढीले जिल्लाका दर्जनौं स्थान डुबानमा परेका छन् । ती स्थानमा सयौं घर भत्किएका छन् भने जिल्लामा १४ जनाको निधन भइसकेको छ । बाढी प्रभावित क्षेत्रमा आउन सक्ने महामारी रोगको सम्भावनालाई रोक्न हामीले उच्च स्वास्थ्य सर्तकता अपनाएका छौं । अहिले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरु परिचालित हुनुभएको छ । हामीले विशेष ध्यान दिने भनेको खानपीनमा नै हो । बर्षातको समय भएकाले सरुवा रोगको सम्भावना निकै हुन्छ । बाढी प्रभावित क्षेत्रहरुमा जनचेतना आवश्यक छ । स्वस्थ खानेपानी र खाना उपलब्ध हुन सकेको खण्डमा कुनै पनि रोग लाग्दैन । ती क्षेत्रमा रुघाखोकी लाग्न सक्छ । अहिलेसम्म कुनै पनि समस्या देखिएको छैन । यही स्थिति रहेको खण्डमा सामान्य केही बिरामी परे पनि महामारीको रुप लिनसक्ने सम्भावना छैन ।

बाढी प्रभावित क्षेत्रमा तपाईंहरुले के गरिरहुनभएको छ ?

बाढी प्रभावित सात गाविसमा निजी अस्पतालहरुको समन्वयमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । चिकित्सकसहितको टोलीद्वारा ती क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । साथै स्थानीयस्तरमा पनि स्वास्थ्यकर्मीहरु परिचालित भएका छन् । सचेतना अभियानहरु सञ्चालन गरिएको छ । अपुग औषधीको प्रबन्ध भइसकेको छ । हामीले अपुग औषधी उपलब्ध गराउन विभिन्न संघसंस्थामार्फत् आह्वान पनि गरेका छौं । बालबालिकाहरुको स्वास्थ्यमा विशेष ध्यान दिइएको छ । उनका अविभावकहरुलाई बिशेष गरेर बालबालिका, वृद्ध तथा सुत्केरीहरुको स्वास्थ्यमा ख्याल गर्न आग्रह गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा कस्तो रोगको सम्भावना हुन्छ ?

दाङ निरन्तर डुबानमा पर्ने जिल्ला होइन । देउखुरीका केही गाविस भने निरन्तर रुपमा डुबानमा पर्दै आएका छन् । पहिलो चरणमा खाद्यान्न नपुगेकाले बाढी प्रभावितहरुलाई चाउचाउ, बिस्कुटजस्ता जंक फुड खुवाउने काम भएको छ । अब तत्काल ती खाना रोकिनुपर्छ । यी खानाहरुले स्वास्थ्यमा असर गर्न सक्छ र जण्डिस लाग्न सक्छ ।

बाढी प्रभावित क्षेत्रमा लाग्न सक्ने भनेको झाडापखाला, रुघाखोकी र टाइफाइड नै हो । तर, खानपान र उठबसमा ध्यान दिन सकियो भने यी कुनै समस्या आउँदैनन् । तरकारी तथा फलफूल धोएर र पखालेर खानुपर्छ । बाढीले विभिन्न ठाउँका जीवजन्तुको सिनो लिएको हुन सक्छ । ती सब कुहिएको खण्डमा रोगका संक्रमणहरु हुन सक्छन्् । तर स्थानीयबासी र प्रहरी प्रशासनको सहयोगमा सिनोहरु फाल्ने काम भइसकेको छ ।

स्थानीयबासी कसरी सचेत हुने त ?

बाढी प्रभावित क्षेत्रका कुवा तथा इनारमा फोहोर पानी परेको हुन सक्छ । सकभर ती कुवा तथा इनारको पानी नखाने । साथै प्रतिलिटर तीन थोपा
पियुस राखेर मात्र खानुपर्छ । रोगको मुख्य स्रोत भनेकै फोहोर पानी हो । कुवाहरु सफा गर्नुपर्छ । सकभर पानीलाई तताएर खानुपर्छ । त्यसो गर्न नसकिएमा पारदर्शी भाँडोमा केही बेर घाममा राखेमा पनि धेरै किटाणुहरु नष्ट हुन्छन् ।

तपाईंले यस्तो गरियो भन्नुहुन्छ तर, स्थानीयबासीले त केही भएको छैन भन्छन त ?

बाढी गएको केही दिनसम्म यातायात सहज नभएकाले हामीहरु बाढी प्रभावित क्षेत्रमा नगएको साँचो हो । तर, क्रमशः मौसममा सुधार आएपछि हामीहरु त्यहाँ गएका छौं । सबै ठाउँमा स्वास्थ्य परिक्षण गरिएको छ । केही ठाउँमा छुट्नुभएको छ भने हामी उहाँहरुको स्वास्थ्य परिक्षण गर्छौं । गाउँ–गाउँमा स्वास्थ्यकर्मीहरु परिचालित हुनुभएको छ । यदि कोही कतै छुट्नुभएको छ भने उहाँहरुलाई स्वास्थ्यकर्मी वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गराइदिन म सबैमा आग्रह गर्दछु । यस्तो विपद्को अवस्थामा सहयोग गर्नु हामी सबैको दायित्व पनि हो । जिल्ला जनस्वास्थ्य कार्यालयले मात्रै गरेर हुँदैन । हाम्रो जनशक्ति र अन्य अवस्थाले सबै क्षेत्रमा हामी एक्लै गर्न सक्दैनौं । यसमा यहाँका राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, संघसंस्था तथा आम सरोकारवालाहरुले ध्यान दिनुपर्छ । स्वास्थ्य शिविर सञ्चालन गर्दा हामीलाई यहाँका निजी अस्पतालहरुले सहयोग गरेका छन् । आवश्यक परेको खण्डमा हामीले उहाँहरुलाई थप सहयोग माग्नेछौं ।

यो त भयो बाढी प्रभावित क्षेत्रको कुरा । अहिलेको जिल्लामा कस्ता खाले स्वास्थ्य समस्याहरु बढी देखिएका छन् ?

बर्षातको मौसममा बढी समस्या आउने भनेको टाइफाइड र झाडापखाला नै हो । तर गत बर्षदेखि यी रोगको संक्रमण केही घटेको छ । जिल्ला खुला दिसामुक्त भइसकेको छ । हामीले देखेका छौं, बाढीले सबै घर भत्काएको छ तर, शौचालय छ । हुन त खुला दिसामुक्त अभियानका पनि केही कमी कमजोरी होलान् । त्यो विषयमा अहिले चर्चा गर्न उपयुुक्त छैन । जेहोस् पूर्ण सरसफाइ अभियानले धेरै उपलब्धि हासिल गरेको छ ।

जिल्लामा सरुवाजन्य रोगीहरु घट्दैछन् । अहिलेको प्रमुख समस्या भनेकै नसर्ने रोगको हो । मुटु र क्यान्सरका रोगीहरु बढी देखिएका छन् । क्यान्सर रोग एक रुपमा महामारीकै हदमा पुगेको छ । अब हामीले यी रोगहरु रोक्ने उपाय अबलम्बन गर्नुपर्छ । यी रोगको उपचार अन्य रोगको भन्दा महंगो भएकाले गरिब जनताले अकालमा ज्यान गुमाउनु परेको छ । हाम्रो जनशक्ति कम भएकाले पनि अपेक्षाकृत रुपमा काम गर्न सकिएको छैन ।

अब सबै गाउँ–गाउँमा स्वास्थ्यको पहुँच पु¥याउनु पर्छ । हुन त सरकारले गत बर्षदेखि नयाँ स्वास्थ्य नीति अबलम्बलन गरेको छ । यसले केही सहयोग अवश्य गर्नेछ । पहिले एक गाविस एक स्वास्थ्य संस्थाको अवधारण लिइएको थियो । अब भने सरकारले एक गाउँ एक स्वास्थ्य नीतिको अवधारणा लिएको छ । यसले गर्दा गाउँ–गाउँमा स्वास्थ्य संस्थाहरु खुल्नेछन् । आम जनताको स्वास्थ्य संस्थामा पहुँच पुग्न सकेको खण्डमा स्वास्थ्यमा अवश्य सुधार आउने छ । सरकारले नीति कार्यान्वयन हुन सकेमा नेपालमा स्वास्थ्य क्षेत्रमा ठूलै फड्को मार्ने छ । तत्काल सबै कुरा कार्यान्वयन गर्न नसकिएला । सीमित स्रोतसाधन भएकाले सबै गाउँमा स्वास्थ्य संस्थाका लागि तत्काल पूर्वाधार निर्माण नहुन सक्छ । सरकारले नीति अवलम्वन गरिसकेपछि एक न एक दिन कार्यान्वयन हुन्छ ।

जनस्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संस्थाहरुको प्रभावकारी अनुगमन गर्न सकेन भनिन्छ नि ?

हो, हामीले सबै स्वास्थ्य संस्थाको प्रभावकारी अनुगमन गर्न नसकेका हुन सक्छौं । हाम्रा पनि आफ्नै खाले बाध्यता छन् । सिमित जनशक्ति र स्रोत साधनले गर्दा हामीलाई काम गर्न अप्ठेरो छ । वर्षौदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन छ । स्वास्थ्य संस्थाहरुको नियमित अनुगमन गर्नु स्थानीय निकायको जिम्मेवारी हो । स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा अहिले कर्मचारीहरुले चलाइरहनुभएको छ । उहाँहरुले जनप्रतिनिधिले गर्न सक्ने सबै काम गर्न सक्नुहुन्न । अनुगमन गर्ने काम स्थानीयबासी तथा आम सरोकारवाला निकायको हो । हामीले पनि अनुगमन नै गरेका छौं भन्ने होइन । समय–समयमा जनस्वास्थ्य कार्यालयले पनि जिल्लाका स्वास्थ्य संस्थाहरुको बारेमा अध्ययन तथा अनुगमन गर्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *