बाढीपीडितलाई राहत : चर्चा धेरै, वास्तविकता थाहा छैन

  
  प्रकाशित मितिः सोमवार, पुस २१, २०७१       | 174 Views   ||

Badhi Field Dang 2दुर्गालाल केसी

दाङ । कोही भत्केका घरका भग्नाबशेषमा भाँडाकुडा, अनाजका गेडा र काठहरु खोजिरहेका छन् । कोही देवताका मूर्ति खोजिरहेका छन् त कोही त्यत्तिकै टोलाइरहेका छन् । खाने गाँस छैन, बस्ने बास छैन । अब कहाँ बस्ने कुनै ठेगान छैन । कतिका परिवार घरसँगै बगिसके, कतिपय आफन्त गुमाएर एक्लै छन् । एकातिर यो पीडादायी दृश्य छ भने अर्कोतिर राहत वितरणका विवरण हेर्दा बाढीपीडितलाई चाहिनेभन्दा बढी नै संकलन भइसक्यो जस्तो भान हुन्छ ।

राहत वितरणमा एकरुपता नहुँदा कहाँ कसरी कति वितरण भयो, कहाँ के कति आवश्यक छ भन्ने बिषयमा अन्योल छ । राहत वितरणका विषयमा अनुगमन र नियमनको पाटोमा कसैको ध्यान जान सकेको छैन । दिनहुँ आउने राहत वितरणका समाचारले सबैलाई चकित पारेको छ । दिनहुँ लाखौं बाँडिन्छ तर पीडितको हातमा चाउचाउ, च्यूरा र भुजाका केही पोका । बालबालिकाहरु बिस्कुट र चाउचाउमा रमाइरहेका छन् ।

बबई नदीमा आएको बाढीले उरहरी, गोल्टाकुरी, फूलबारी, डुरुवा, श्रीगाउँ र धनौरी गाविसका पाँच सय बढी घरहरु भत्काएको छ । १४ जनाको ज्यान गएको छ भने चार जना बेपत्ता छन् । तीन हजार बढी मानिसहरु विस्थापित भएका छन् । विस्थापितहरु विद्यालय, स्वास्थ्य चौकी भवन र आफन्तको घरमा आश्रय लिइरहेका छन् । ‘बाआमाको घरमै पुरिएर मृत्यु भयो । घरबास सबै बग्यो । बाँच्नेहरुलाई पनि के खाने, कहाँ बस्ने भन्ने समस्या छ,’ उरहरी—६ मोतिपुरका धनबिर चौधरीले भने, ‘गाउँघर सबै भग्नाबशेष छ । भएको सबै सम्पत्ति नष्ट भयो । अब कहाँ बस्ने, के खाने चिन्ता छ ।’

बाढीपीडितको बिचल्ली यथावत छ । खाने, लाउने र बस्ने समस्या टरेको छैन । उनीहरु रातदिन पुनर्वास र आधारभूत आवश्यकता पूर्तिको माग गरिरहेका छन् तर विभिन्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्र भने दिनहुँ लाखौं राहत बाँडिरहेको बताइरहेका छन् । दिनहुँ कोही न कोही राहत बाँड्न पुगेकै छ । राहत बाँड्नेहरु लाखमा हिसाब गरिरहेका छन् तर पीडितहरुको हातमा भने शून्य ।

बाढीपीडितका समस्या बुझ्नेभन्दा राहत बाँडेको प्रचार गरेर सस्तो लोकप्रियता कमाउने दाउमा धेरै निकाय देखिएका छन् । कतिपय राहत बिचौलियाको हातमा परेर दुरुपयोग भएको छ । राहत कति कसरी वितरण भएको छ भन्ने विषयमा निगरानी, अनुगमन नहुँदा राहतको प्रचार बढी वितरण कम भएको पीडितहरुको गुनासो छ । संघसंस्थाहरु यति लाखको राहत बाँड्यौं भनिरहेका छन् तर पीडितसम्म उक्त परिणामको सामग्री पुगे नपुगेको विषयमा कसैको चासो छैन ।

पीडितका खास आवश्यकतातिर कसैको चासो गएको छैन । राहत भनेर सबैले एकैखालका सामग्री मात्र बाँडिरहेका छन् । बाढीपीडितलाई कसरी व्यवस्थापन गर्ने, बसोबासको व्यवस्था कसरी मिलाउने भन्ने विषयमा कोही गम्भीर नभएको पीडितको गुनासो छ । सरकारले चासो नदिएको भन्दै बाढीपीडितहरु आक्रोशित भएका छन् । राहत बाँड्नेहरु पनि गाडी पुग्ने सहज ठाउँमा मात्र पुगेका छन् । पुरन्धाराका विकट गाउँहरुमा कोही पुगेका छैनन् । पुरन्धारामा मात्रै दुई वटा विद्यालय बाढीले बगाएको छ । अहिलेसम्म पढाइको टुंगो छैन । त्यहाँ सरकारले दुइपटक हेलिकोप्टरमा केही सामान छोडेर आयो तर अन्य सहयोगी संघसंस्था कोही पुग्न सकेका छैनन् ।

पीडितलाई सरकारी तहबाट पठाइएको राहत जति छ त्यति नै पठाइएको र निजी क्षेत्रको बिषयमा भने सबै निगरानी गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले बताए । ‘सरकारी राहतमा कुनै अनियमितता छैन । अन्य निजी क्षेत्रलाई भने राहत बाँड्न नजाउ भन्न मिलेन । उनीहरुका सबै कुरा निगरानी गर्न पनि कठिन भएको छ,’ उनले भने, ‘सकेसम्म प्रशासनलाई जानकारी दिएर राहत बाँड भनेका छौं । सबैलाई एउटै बाटोमा ल्याउन सकिएको छैन तर आवश्यकता अनुसार वितरण गर्नेतर्फ हामीले समन्वय गरिरहेका छौं ।’

बाढीले महिला र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । बालबालिका कापीकिताब, पोशाक र झोला नभएका कारण विद्यालय जान पाइरहेका छैनन् । व्यवस्थित बसाइ नभएका कारण पनि बालबालिका पढाइमा केन्द्रीत हुन सकेका छैनन् । ‘सबै सामानहरु नष्ट भएकाले विद्यालय जाने वातावरण बन्न सकेको छैन,’ डुरुवाका कृष्ण ओलीले भने, ‘बसोबासको व्यवस्था गर्न नै कति समय लाग्ने हो ? विद्यालय जाने कुरा त अनिश्चित छ ।’

कापी किताब, झोला र विद्यालयको पोशाक बाढीमा बगेका कारण पढ्न नगएको १ कक्षा अध्ययनरत चौपरियाकै सुजल बिकले बताए । ‘कापीकिताब सबै बगे । झोला बग्यो । विद्यालयको ड्रेस पनि बग्यो । कसरी पढ्न जाने ?,’ उनले भने, ‘अब नयाँ कपडा र कापी किताब किनेर मात्र पढ्न जाने हो ।’ कतिपय ठाउँमा विद्यालय नै बाढीबाट विस्थापितको आश्रयस्थल बनेकाले पढाइ अवरुद्ध भएको छ । विद्यालय चलेका ठाउँमा पनि बालबालिका पढ्न जान सकेका छैनन् । बाढीका कारण २ सय ३१ बालबालिका पाठ्यपुस्तक र पोशाकविहीन भएको शिक्षा कार्यालयको तथ्यांक छ ।

एक सातासम्म आठ विद्यालयको पढाइ अवरुद्ध भएको थियो । हाल पाँच विद्यालयमा पढाइ सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले बताए । ‘अन्य विद्यालयमा पनि बिस्तारै पढाइ सुचारु गर्ने योजनामा छौं,’ उनले भने, ‘वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म विद्यालय आश्रयस्थल बन्छन् । अझै तीन विद्यालयमा विस्थापितहरु बसिरहेका छन् ।’

पञ्चकुले, श्रीगाउँ र उरहरीका तीन विद्यालयमा अझैं पनि बाढीपीडितहरु बसिरहेको अर्यालले बताए । आश्रय लिनेहरु बिस्तारै घट्दै गएको उनले बताए । ‘दिनभर खानाको जोहो गर्न जान्छन् । साँझपख बास बस्न आइरहेका छन्,’ उनले भने, ‘अहिले अस्थायी बसोबासको व्यवस्था गर्दै घट्दै गएका छन् । कतिपय आफन्तको घरमा गएका छन् । बिस्तारै विस्थापितका लागि विद्यालयका थोरै कोठा प्रयोग गरेर अन्यमा पढाइ सञ्चालन गर्ने प्रयास भइरहेको छ ।’

बाढीका कारण दुईवटा विद्यालयको भवन नै भत्केको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । पुरन्धाराको मावि गंगटे र प्रावि धोलाघाट बबई नदीले बगाएको जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालले बताए । बाढीले २२ विद्यालयमा सामान्य क्षति पुगेको उनले बताए । विद्यालय नै बगेको ठाउँमा टेण्ट टाँगेर पढाउने तयारी गरिएको छ । युनिसेफलगाएत बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाको सहयोगमा प्रति विद्यालय दुई÷दुई वटा ठूला टेण्ट पठाइएको जिशिअ अर्यालले बताए ।

‘विकट ठाउँमा भएकाले अहिले टेण्ट बाटोमै छन् । बोकेर लैजान थालिएको छ,’ उनले भने, ‘टेण्ट पुगेपछि पढाइ सुचारु हुन्छ । अन्य विद्यालय मर्मतका लागि शिक्षा विभागमा अनुरोध गरिएको छ ।’

बाढीको पीडामाथि विस्थापनको पीडा थपिदै जाँदा विस्थापितहरु मनोवैज्ञानिकरुपमा विक्षिप्त भइरहेका छन् । लामो समयसम्म उद्धार हुन नसक्दा बाढीको बीचमा थुनिएका मानिसहरु मनोवैज्ञानिकरुपमा बढी पीडित भएको प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले बताए ।

बाढीपीडितहरुलाई स्वास्थ्य समस्याको पनि खतरा छ । स्वास्थ्य समस्यालाई मध्यनजर गरी स्वास्थ्य टोली गाउँ–गाउँमा खटिएको जिल्ला जनस्वास्थ्य प्रमुख केशवराज पण्डितले बताए । ‘सात गाविसका आठ ठाउँमा स्वास्थ्य शिविर स्थापना गरेका छौं । एक शिविरमा मेडिकल अधिकृतसहित ६ जनाको टोली खटिएको छ,’ उनले भने, ‘बाढीपीडितको वर्तमान समस्या र सम्भावित समस्यालाई मध्यनजर गरी काम गरिरहेका छौं ।’ करिब १ सय गर्भवती र १ सय २५ एक बर्षमुनिका बालबालिका भएकाले उनीहरुको बिशेष ख्याल गरिएको उनले बताए ।

गर्भवती महिलालाई कपडा, प्रजनन स्वास्थ्यका सामग्री, शिशुहरुलाई कपडा, सुत्केरीलाई पोषणको व्यवस्था गरिएको पण्डितले बताए ।

यसैगरी बाढीप्रभावित ९ गाविसमा एक महिनाका लागि एक÷एक जना स्वास्थ्य स्वयंसेवकहरु खटाइएको उनले बताए । स्वयंसेवकहरुले पीडितसँग नजिक रहेर उनीहरुका स्वास्थ्य समस्या बुझ्ने र आवश्यक उपचारका लागि सहयोग गर्ने गरेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *