घरबहाल कर तिर्दैनन् नगरबासी

  
  प्रकाशित मितिः सोमवार, पुस २१, २०७१       | 151 Views   ||

जनउभार समाचारदाता

दाङ । घोराही नगरपालिकाका अधिकांश घरधनीले घरबहाल कर बुझाउँदैनन् । नगरपालिकाका वडा नं. १० र ११ का अधिकांश घरभाडामा दिइएका छन् । तर, नगरपालिकासँग नगरक्षेत्रभित्र कति घर भाडामा छन् भन्ने कुनै तथ्यांक छैन ।

‘बैंकमा ऋण लिदा आयस्रोत देखाउनुपर्नेहरुले मात्र घर भाडामा दिएको देखाएर राजश्व तिर्छन्,’ नगरपालिकाका कर शाखा प्रमुख बासु पोख्रेलले भने । अन्य कर तिर्न आउँदा केही घरधनीहरुले घरबहाल कर तिरे पनि छुट्टै घरबहाल कर भनेर मात्र कोही तिर्न नआउने गरेको उनले जानकारी दिए । नगरपालिकासँग घरबहाल कर तिर्नेहरुको छुट्टै अभिलेख राख्ने परम्परा नै नभएको पोख्रेलको भनाइ छ ।

त्यसो त नगरपालिकासँग समेत करदाताहरुको यकिन तथ्यांक छैन । उसले अहिलेसम्म घरबहाल कर बुझाउनेहरुको तथ्यांक नराखेका कारण अपेक्षित राजस्व संकलन गर्न सकेको छैन ।

नगरपालिकामा सञ्चालन भएका कतिपय साना व्यवसायीहरुले समेत कर छल्दै आएका छन् । नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीले घरधनीहरुले झुटो विवरण पेश गर्ने भएकाले समस्या परेको बताए । ‘करदाताको तथ्यांक संकलन गर्ने प्रमुख जिम्मेवारी आन्तरिक राजश्व कार्यालयको हो,’ उनले भने, ‘घरबहालमा दिएर पनि राजश्व नतिर्नेहरुलाई नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा रोक्का गर्न सकिन्छ ।’

स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले कडाइका साथ नियम कार्यान्वयन गर्न समस्या परेको केसीले बताए । दाङका प्रमुख बजारहरुमा धेरैजसो घरहरु भाडामा दिइए पनि उनीहरुमध्ये धेरै घरधनीहरुले बहालवालासँग कुनै लिखित सम्झौता गरेका छैनन् । यसबाट भाडामा बस्नेहरु प्रत्यक्ष मर्कामा पर्दै आएका छन् ।

रोल्पा घर भई अध्ययनका क्रममा घोराहीमा डेरा गरी बस्ने जीवन खड्काले घरधनीले बर्षेनी भाडा बढाउँदा आफूहरु समस्यामा परेको बताए । अहिलेसम्म लिखित सम्झौता नगरिएकाले जुनसुकै समयमा पनि घरबेटीले आफूलाई हटाउन सक्ने उनले बताए । ‘तीन वर्ष पहिले १ हजार ५ रुपैयाँमा भाडामा बसेको हुँ, अहिले त्यसको भाडा २ हजार ५ सय पुगिसकेको छ,’ खड्काले भने, ‘राज्यले घरबहालसम्बन्धी स्पष्ट नीति अवलम्बन गर्ने हो भने भाडामा बस्नेहरु यसरी नै मर्कामा परिरहन्छन् ।’

रुकुम घर भई अध्ययनका लागि घोराहीमा डेरा गरी बस्ने सुमन नेपालीले घरबेटीले मनोमानी रुपमा भाडा बढाउने गरेको गुनासो गरे । आफूहरुबाट चर्को रकम असुलेर राज्यलाई कर नतिर्ने घरधनीलाई सरकारले कडा कारवाही गर्नुपर्ने उनको भनाई छ ।

नगरपालिकाका कार्यकारी अधिकृत केसीले केन्द्रीय तहबाट नै यो विषयमा कडा नियम आउनुपर्ने आवश्यकता औंल्याए । ‘हुन त अहिलेका कानूनमार्फत् पनि व्यवस्थित गर्न सकिन्छ, राजनीतिक अस्थिरता भएको अवस्थामा हामी एक्लैले कडाइका साथ नियम कार्यान्वयन गर्न सक्दैनौं,’ उनले भने, ‘घरबहाल कर व्यवस्थित गर्न सकेको खण्डमा नगरपालिकाको आयस्रोत भने निकै बढ्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *